• मनोहर शाक्य

विश्वको विभिन्न देशका समुदायको आ-आफ्नो धर्म संस्कृति छ । जुनसुकै धर्म संस्कृति अपनाउँदै आएको भएपनि सबै समुदायका धर्म, संस्कृतिले जातीय समुदायको पहिचान दिदै आएको छ । आजको भौतिकवादी दुनियाँमा धर्म नमान्नेहरू पनि छन् ।

भौतिकवादी कम्युनिष्टहरुले धर्मलाई अफिमको नशा नै मान्छन् । धर्मलाई नशा मान्नेहरूका भनाइमा यहाँ अलौकिक वा लौकिक देउता नै छैनन् । तर पनि उनीहरू दिवङ्गत अग्रजहरूको सम्झना र सम्मानमा उनीहरूको जन्मदिन तस्बिरमा माल्यार्पण गरेर मनाउँछन् । यो पनि एक किसिमको पूजा नै हो । यसरी हेर्ने हो भने देवता नमान्नेले पनि फरक दृष्टिकोणले धर्म संस्कृतिलाई मान्यता दिदै आएको मान्न सकिन्छ ।

प्राचीन काल देखिनै नेपालमा धर्म संस्कृति मान्ने मूल्य मान्यता फरक फरक छ । यही विभिन्नताले विश्वमा नेपालका धर्म संस्कृति पृथक् रूपमा परिचित हुँदै आएको छ । प्राचीन नेपालको नेपालमण्डल भित्र मानिँदै आएको धर्म संस्कृतिको विशेषता आफ्नै पहिचान हो ।

शैव शक्ति र बौद्ध धर्म सम्प्रदायका शक्ति पूजक तान्त्रिक लोकजनले पौराणिक देवी देवता भन्दा तान्त्रिक देवी देवता मान्ने र पुज्ने गरेको पाइन्छ । त्यसले तान्त्रिक देवीदेवताको विशेष महत्त्व रही आएको देखिन्छ । त्यसो भन्दा महादेव र नारायण लगायत पौराणिक देवदेवीहरूको पूजा हुँदैन भनिएको होइन ।

सोमवार वा एकादशी तिथिमा पशुपति सहित शिवालयमा गएर श्रद्धाभक्तीका साथ व्रत उपासना गरे जस्तै नारायणको समेत पूजा अर्चना गरिन्छ । तथापि यहाँका लोक जीवन जति तान्त्रिक देवीदेवताको जति निकटता छ त्यति महादेव र नारायणको छैनन् । 

यहाँको नेवार लोक जीवनका संस्कार एवं पर्वहरूमा आगम र कुल देवीदेवता, पिगं अजिमाहरूको अनिवार्य नै पूजा गर्नुपर्ने हुन्छ । त्यसैले उनीहरूको जीवनसँग ती निकट रहेकी तान्त्रिक देवीदेवताहरू मध्ये अजिमा पनि एक हुन ।

अजिमा हिन्दु एवं बौद्ध धर्मावलम्बीहरूद्वारा समान रूपमा पुजिने मातृ देवी हुन । नेपाल भाषामा अजिमाको नामले पुजिने देवीको अर्थ नेपाली भाषामा मातृका हुन्छ । मातृकालाई नेपालीमा बज्यैको नाममा पनि पुकारिन्छ । 

हारती अजिमालाई नेपाल आमा, स्वयम्भू अजिमा, च्वय् माँ, माजु द्यस् आदि पनि भन्ने गरिन्छ । हारती अजिमाको पाँच सय बच्चाहरु छन् । हारती अजिमाको मूर्तिमा पाँच जना बच्चाहरु चाहिँ आमाले बोकेरै बस्नु भएको देख्न सकिन्छ । अजिमाको बच्चाहरूलाई धन भाजु, धन मयजु, वासीं भाजु, वासीं मयजु, जिलं भाजु, जिलं मयजु, लाटा भाजु, लाटी मयजु आदि नामले चिनिन्छ । 

हारती अजिमको मूल मन्दिर काठमाडौँ स्वयम्भूमा छ । धरान, पाल्पा, सानेपा, बगलामुखी, श्रीस्घ आदि ठाँउहरुमा पनि हारती अजिमाको ठुलो मन्दिर छन् । हारती अजिमालाई बालबालिकाको रक्षा गर्ने देवीको रूपमा पुजिने गरिन्छ । अजिमाको पूजा गरे रोग कष्ट हट्ने जन विश्वास छ । ससाना बच्चाहरु धेरै बिरामी भएमा हारती अजिमाको बच्चासँग मित लगाउने परम्परा पनि चल्दै आएको छ । 

अजिमा नेपालका नेवार समुदायमा पूज्य मातृका देवीहरूलाई जनाउँछ । जसले उपत्यकाको विभिन्न ठाउँमा पूजनीय स्थानहरू राखेका छन् । अजिमालाई मुख्यतः अष्टमातृका अर्थात् आठ मातृका देवीहरूका रूपमा पूजिन्छ । यस बाहेक अन्य धेरै अजिमाहरू काठमाडौँ उपत्यकामा रहेका छन् । 

अजिमालाई तान्त्रिक रूपमा पनि हेरिन्छ । यिनीहरूलाई रक्षा, शक्ति र समृद्धिका प्रतीक मानिन्छ। अजिमा पूजा नेवार समुदायमा मात्र नभएर काठमाडौँ उपत्यकामा रहने अन्य जातिहरूबिच पनि पूजनीय छ । 

हारती अजिमाको उत्पत्ति 

वंशावलीका अनुसार कलिगत संवत् ३८२५ मा काठमाडौँ नगर निर्माण गर्दा राजा गुणकामदेवले देशको रक्षाका निम्ति नगरको चारैतिर अजिमा स्थापना गरेका हुन । उनले स्थापना गरेका अजिमाहरूमा लुमडी अजिमा, कङ्ग अजिमा, म्हेपी अजिमा, मैती अजिमा, तकती अजिमा, ङेतमरु अजिमा, बछला अजिमा र लुती अजिमा पर्दछन् । उनले अजिमा स्थापना गरी खटजात्रा समेत चलाए ।  

अजिमाहरूको प्रतिष्ठा राजा गुणकामदेवले गरेको विश्वास गरिन्छ । उनी नेपालका प्रख्यात राजा थिए जसले काठमाडौँ उपत्यकाको बसोबासलाई व्यवस्थित गरे । उनको वंशावली अनुसार, महालक्ष्मीले राजा गुणकामदेवलाई सपनामा आएर खड्ग आकारको शहर बनाउन सुझाव दिइन । यसको आधारमा उनले काठमाण्डौलाई खड्ग आकारमा विकास गरे र त्यस क्षेत्रको चारैतिर अष्टमातृका देवीहरूको प्रतिष्ठा गरे । 

अजिमाहरूको मूर्तिहरू शक्ति, मातृत्व र तान्त्रिक विद्याका प्रतीक मानिन्छ । अष्टमातृका देवीहरूको पूजा तान्त्रिक तथा वैदिक परम्परा अनुसार गरिन्छ र यिनीहरूलाई दुष्ट शक्तिहरूबाट रक्षा गर्ने देवीका रूपमा मान्यता प्राप्त छ । 

महायक्षणी हारतीको आख्यान 

स्वयम्भूको हारती अजिमाको आख्यान अनुसार यक्ष कुलकी हारती भगवान् बुद्धले उद्धार गरि जगतमाताका रूपमा प्रति स्थापित हुनु भन्दा अघि सम्म पनि मानवका बालबच्चा हरण गरी मास भक्षण गर्ने गर्थेँ । 

स्वयम्भू पुराणअनुसार  करिब ५०० छोराछोरीका आमा हारती महायक्षणी   थिइन् । उनी मानव बस्तीहरूमा गई दिनहुँ ५०० बच्चाहरूको हरण गर्दै मासभक्षण गर्दै मानिसहरूलाई दुःख दिरहन्थे, हाहाकार मचाई रहन्थे, आमाबुबा तथा परिवारजनहरूलाई रुवाई रहन्थे । 

एक दिन, शाक्यमुनि सिद्धार्थ बुद्धले हारती महायक्षणीको एउटी प्राण प्यारी छोरीलाई पिण्डपात्रले छोपेर लुकाई दिए । प्राणप्यारी छोरी हराएपछि हारती महायक्षणी विरह हुँदै भौतारिन्दै रुँदै यताउता खोज्दै हिँडिन । समुन्द्र नै धमिलो पार्दै तिनै भुवनमा भौतारिन्दै खोज्दा कतै नभेटेपछि अन्ततः बुद्धको शरणमा गएर बिलाप गर्न थाले । 

उनको अवस्था हेरिरहेका बुद्धले उनलाई भने तिम्रो त्यतिका सन्तान हुनेले एउटी छोरी हराउँदा यति दुःखी हुन पुगेको हौ भने अरू मानवका एउटै मात्र भएका सन्तान पनि हरण तिमीले खाएकाहरूले कति दुःख पर्‍यो होला तिमी आफै विचार गर भन्दै सम्झाउँदै पिण्ड पात्र उचालेर उनको छोरीलाई अगाडि राखी दिए । 

बुद्धले दिएको उपदेशबाट प्रभावित हुँदै महायक्षणी हारतीले पनि आईन्दा कहिले पनि अरूको छोराछोरीलाई हरण नगर्ने बरु सबैलाई  माया गर्ने वचन भगवान् बुद्धलाई दिएर मानव मासभक्षण गर्ने प्रवृत्ति नै त्याग गरे । यसरी महायक्षणी हारती बाल रक्षिका तथा जगत माता अजिमा रूपमा स्थापित हुन गए । 

काठमाडौँ उपत्यकामा ८ अजिमाहरू

काठमाण्डौमा ८ अजिमाका स्थापित अष्टमातृका मूर्ति निम्न स्थानमा छन् १) पासिक्वं अजिमा, ब्रह्मायणी तीनधारा पाठशाला पछाडि । २) लुँमरि अजिमा, भद्रकाली, माहेश्वरी सिंहदरबार अगाडि । ३)  फिब्व अजिमा, कौमारी आर्मी हेडक्वार्टर कम्पाउन्ड भित्र । ४) पचली अजिमा वैष्णवी पचली क्षेत्रमा । ५) कंग अजिमा, कंकेश्वरी इन्द्रायणी विष्णुमती नदी किनारमा । ६) थँबही अजिमा, चामुण्डा ठमेल क्षेत्रमा । ७) चन्द्रलखु अजिमा, महालक्ष्मी नारायणहिटी दरबार परिसरमा । ८) तक्ति अजिमा, महेश्वरी टेबहालमा ।

फिब्व अजिमा, अजिमाहरूमा एक प्रमुख मातृका देवी कौमारीको रूप मानिन्छ । यो मन्दिर काठमाण्डौको भद्रकाली सेनाको मुख्यालय परिसर भित्र छ । सार्वजनिक प्रवेशमा रोक लगाइएका कारण फिब्व अजिमाको मन्दिरमा पूजा गर्न कठिनाइ छ । फिब्व अजिमा र अन्य अष्टमातृका देवीहरूले काठमाडौँ उपत्यकाको समृद्धि र सुरक्षाको प्रतीकका रूपमा मान्यता पाएका छन् । 

उपत्यकाका विभिन्न स्थानका अजिमाहरू

१) हारती अजिमा, स्वयम्भू, बौद्ध, २) अन्नपूर्ण अजिमा, असन, ३) लुंमरी अजिमा भद्रकाली ४) कंङ्ग अजिमा कंकेश्वरी ५) लुती अजिमा, इन्द्रायणी ६) म्हेपि अजिमा, ज्ञानेश्वरी ७) मैति अजिमा, मैतीदेवी ८) तकति अजिमा, नीलबाराही ९) ङतभुलु अजिमा र न्यतभुलु अजिमा, नरदेवी १०) फिस अजिमा, भद्रकाली र माइतीघर बिचमा ११ पासिक्व अजिमा, कमलादीमा छन् ।

यस्तै १२) नै अजिमा, ब्रम्हटोल १३) कुलांभुलु अजिमा रक्तकाली १४) लुचुँभुलु अजिमा १५) न्हेकंतला अजिमा १६) ज्वलभुलु अजिमा, त्यौड, असन १७) भयलु अजिमा, कमलाक्षी १८) मचली अजिमा, मचली,टेकु १९) लगं अजिमा, लगनटोल २०) अरिं अजिमा र चिकंमु अजिमा २१) कुशा अजिमा र कुना शा अजिमा २२) प्वर्पा अजिमा रानिबारी लाजिम्पाटमा छन् । 

आस्था र महत्त्व

अजीमा मन्दिरहरूको पूजा र महत्त्व नेवार समुदायमा विशेष रूपमा रहेको छ । हरेक वर्षको मोहनी नखस् ९नेवार दसैँ० पर्वमा अष्टमातृका देवीहरूको विशेष पूजा गरिन्छ । यस पर्वमा यिनको रथयात्रा पनि आयोजना गरिन्छ, जसमा हजारौँ भक्तजनहरूको सहभागिता हुन्छ । अजिमा देवीहरूलाई तान्त्रिक परम्पराअनुसार पूजा गरिन्छ र तिनीहरूको रक्षात्मक शक्तिको आह्वान गरिन्छ । यिनको पूजा विधिमा बलि दिने चलन पनि कायम छ, जसले यिनलाई तान्त्रिक शक्ति मानिएको पुष्टि गर्दछ । 

अजिमा देवीहरूप्रति नेवार समुदायमा मात्र नभई सम्पूर्ण काठमाडौँ उपत्यकामा आस्था र विश्वास छ । अष्टमातृकाहरूलाई उपत्यकाको रक्षकका रूपमा पूजिन्छ । यिनले उपत्यकाको रक्षा गर्ने विश्वासमा स्थानीय समुदायले अष्टमातृका देवीहरूको पीठमा विशेष अनुष्ठान र मेला आयोजन गर्छन् । यिनको मन्दिरमा गरिने पूजा विधि अत्यन्तै तान्त्रिक र गोप्य हुन्छ र यसको प्रवृत्ति परम्परागत रूपमा निरन्तर चलिरहेको छ । 

अजिमा मन्दिरहरू परम्परागत नेवारी वास्तुकलामा बनेका छन् । यी मन्दिरमा देवीका प्रतिमाहरू सामान्यतया काठ वा ढुङ्गामा कुँदिएका हुन्छन् । देवीका मूर्तिहरूमा तान्त्रिक प्रतीक र गहनाहरू जडिएका हुन्छन् । अजिमाहरूलाई बाहिर हेर्दा साधारण देखिने भएपनि, मन्दिरभित्र तिनीहरूको विशेष तान्त्रिक पूजा गरिन्छ ।

तथ्य अनुसार काठमाडौँ उपत्यकामा अष्टमातृका देवीहरूलाई स्थानीयहरू आफ्ना रक्षकका रूपमा पूज्छन । यी मन्दिरहरूमा नेवार समुदायले विशेष पर्वहरूमा तान्त्रिक विधिद्वारा अनुष्ठान गर्ने गर्छन् । फिब्व अजिमा मन्दिर सार्वजनिक पहुँचमा छैन, जसले गर्दा स्थानीयहरूले प्रवेशका लागि कठिनाइ भोगिरहेको छ । मोहनी नख पर्वमा अष्टमातृका देवीहरूको रथयात्रा गरी विशेष पूजा गरिन्छ । 

थुप्रै अजिमा मन्दिरहरू

अष्टमातृका बाहेक अन्य थुप्रै अजिमा मन्दिरहरू पनि काठमाडौँ उपत्यकामा रहेको पाइन्छ । यिनीहरूमा पचली अजिमा, मच्छिन्द्रनाथ र अन्य देवीका रूपमा अजिमाहरूलाई स्थान दिइएको छ । विभिन्न अवसरहरूमा स्थानीय गुठीले यी देवीहरूको पूजा–अर्चना गर्दै आएका छन् । अजिमाहरू जोडिएका श्रद्धालु भक्तजनहरू नेपालको विभिन्न जिल्लामा रहेर अजिमाहरूलाई बहुजन कल्याण र सर्व प्राणीहरूको रोग, कष्ट र दुखलाई निवारण गर्दै अजिमाको मन्दिरहरू स्थापना गरेको पाइन्छ । 

अजिमा देवीहरू काठमाडौँ उपत्यकाको धार्मिक, सांस्कृतिक तथा सामाजिक परम्पराको महत्त्वपूर्ण अङ्ग हुन्। नेवार समुदायका लागि यी देवीहरू मातृभूमिको रक्षाका प्रतीक मानिन्छन् । यिनको पूजा विधि र रीतिथिति अद्वितीय छ । मन्दिरहरू तान्त्रिक शक्ति तथा आस्थाका केन्द्र मानिन्छन् । काठमाडौँ उपत्यकाको मौलिक सम्पदा र संस्कृति बचाउन अजिमा मन्दिरहरूको संरक्षण आवश्यक छ । 

-(लेखक नेवा: देय् दबूँ धरानका अध्यक्ष हुन)