धरान : हङकङ जन्मेको आइडी नभए पनि विश्वका अधिकांश मुलुकका नागरिकलाई हङकङ सरकारले डोमेस्टिक हेल्पर (घरेलु कामदार)को रूपमा भिसा दिने गरेको छ। तर नेपालीहरूलाई भने उक्त भिसा दिने गरेको छैन।

चीनको स्वामित्वमा रहे पनि बेलायतले सन १९९७ सम्म आफ्नो उपनिवेश बनाएको बेलादेखि नै नेपालीहरूको साइनो  हङकङको डाँडा पाखा, ढुंगामाटो सँग जोडिएपनि हङकङमै जन्मिएकालाई बाहेक अरू नेपालीलाई डोमेस्टिक भिषा दिएको छैन।

पछिल्लो समयमा नयाँ सुरक्षा कानून लागु भएपछि पहिलो पटक नेपाली नागरिकहरूले पनि डोमेस्टिक भिषामा काम गर्न पाउनु पर्छ भनेर वकालत गर्दै आएको हङकङ नेपाली महासङ्घले त्यहाँस्थित महावाणिज्य दूत मार्फत नेपाल सरकार र हङकङ सरकार (चीन) बिच वार्ताको वातावरण सृजना गरिदिन आग्रह गरेपछि फेरि चर्चा सुरु भएको छ। उत्तर पूर्वी एसियामा जापान, कोरिया जस्तै हङकङ पनि वैदेशिक रोजगारीका लागि सुरक्षित मुलुक मानिन्छ। तर हङकङ नजन्मेका नेपालीहरूले हङकङमा डोमेस्टिक भिषा पाउन नसकेपछि महासङ्घले पछिल्लो पटक प्रयास गरेको अध्यक्ष टङ्क रानाले बताए।

उनले भने, ‘हङकङ सरकार सँग वार्ता र छलफलका लागि वातावरण मिलाइदिन हङकङस्थित महावाणिज्यदूत उदयबहादुर राना मगर र वाणिज्य दूत किरणकुमार गुरुङलाई शनिवार महासङ्घमा निमन्त्रणा दिएर प्रस्ताव राखका छौँ । यसका लागि महासङ्घले समन्वय गर्छ तर वार्ता र सम्झौताको वातावरण नेपाल सरकारको तर्फबाट महामाबाणिज्य दुतावासले गरिदिनु पर्यो।’

कउलुन जिल्लाको नाथान रोडमा रहेको मङकोकस्थित महासङ्घको कार्यालय भ्रमण अवलोकन गर्न आएका  महावाणिज्यदूत राना र वाणिज्य दूत गुरुङलाई नेपालीहरूले पनि हङकङमा डोमेस्टिक हेल्परको रूपमा काम गर्ने अवसर पाउनका लागि दुई पक्षबिच वातावरण मिलाइदिन आग्रह गरेको अध्यक्ष रानाले बताए ।
हङकङमा ४० देखि ५० हजार नेपालीहरू हङकङ आइडी लिएर मताधिकार र उम्मेदवार हुन पाउने अधिकारसहित सन १९९७ देखि बस्दै आएका छन् ।

honkong-nepali-visa

फिलिपिन्स, भारत, पाकिस्तान जस्ता अन्य मुलुकका नागरिकलाई भने हङकङ सरकारले डोमेस्टिक हेल्परको भिसा दिइरहेको बेला हङकङमै जन्मेको आइडीनभएका नेपालीहरूले डोमेस्टीक हेल्परको रूपमा भिसा पाउने गरेका छैनन् ।

उनले डोमेस्टिक भिसाका लागि महासङ्घले हङकङ सरकार सँग समन्वय गर्न सक्ने र त्यसकालागि नेपाल सरकारले हङकङ सरकार सँग ठोस प्रस्ताव राखिदिन महावाणिज्यदूत राणासँग आग्रह गरेको बताए । उनले भने, ‘हङकङ सरकार र यहाँका चिनिया नागरिकहरू नेपाली समुदायप्रति सकारात्मक देखिएका छन् । विश्वास गर्छन् । तर डोमेस्टीक हेल्परको बारेमा औपचारिक रुपमा दुई मुलुक बिच समन्वय र वार्ता सम्झौता हुन सकेको छैन ।’

महासङ्घका अध्यक्ष रानाले वैदेशिक रोजगारीका लागि हङकङ सुरक्षित मुलुक भएकाले नेपालीहरूको छाता सङ्गठन महासङ्घले डोमेस्टीक हेल्परमा आउन चाहने नेपाली नागरिकका लागि पनि खुला गर्नुपर्छ भनेर वकालत गर्दै आएको बताए।

उक्त अवसरमा महासङ्घका संरक्षक तथा पूर्व अध्यक्ष प्रदीप थापाले नेपाली नागरिकले हङकङमा डोमेस्टिक हेल्परको रूपमा प्लम्बर, विद्युत, टनेल, निमार्ण क्षेत्रमा काम गर्ने अवसर पाए अन्य मुलुकको तुलनामा राम्रो आमदानी गर्न सक्ने र आफ्नो मुलुकमा वार्षिक रूपमा अर्वाै रुपैयाँ रेमिटेन्स भित्राउन सक्ने बताए।

महासङ्घका पूर्व अध्यक्ष तथा हङकङ सरकारबाट नेपाली समुदायका लागि  लगानी र प्रवर्द्धन गरिएको कम्युनिटी सपोर्ट टिम फर नेप्लीज प्रोजेक्टका संयोजक रिता गुरुङले हङकङमा नेपाली समुदायको अवस्था, सांस्कृतिक, आर्थिक, सामाजिक र शैक्षिक अवस्था बारे संक्षिप्त जानकारी दिइएकी थिइन् ।

उनले हङकङ सरकारको सहयोगमा नेपाली समुदायमाझ विभिन्न तालिम र कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिईकी थिइन् । पूर्व अध्यक्ष हेम लिम्बुले महासङ्घ स्थापनाकाल देखिका हङकङ नेपाली महासङ्घको स्थापनाकाल दिएकी अध्यक्षहरुको महत्त्वपूर्ण योगदान तथा भूमिका सहित विस्तृत जानकारी दिएका थिए ।

महासङ्घको प्रस्ताव सुनिसकेपछि महावाणिज्य दूत रानाले हङकङ सरकारले नेपाली समुदायको हितका लागि महासङ्घलाई विश्वास गरेर विभिन्न कार्यक्रम दिएको बुझ्दा डोमेस्टिक हेल्परको भिसाका लागि महासङ्घले राखेको प्रस्ताव खेर नजाने सम्भावना रहेको बताए । उनलाई उद्धृत गर्दै अध्यक्ष रानाले भने, ‘तपाईहरुको प्रस्ताव समग्र नेपालीको हितमा मात्र नरहेर हङकङ बस्ने नेपालीहरूको पक्षमा छ । नेपाल सरकार सँग समन्वय गरेर हङकङ सरकार सँग यस विषयमा वार्ता गर्ने वातावरण बनाउने प्रयास गर्नेछु ।’

उक्त अवसरमा महासङ्घका सल्लाहकार तथा कृति एजुकेसन केन्द्रका संस्था पुष्पा गुरुङ, नेपाल चेम्बर कमर्स अफ हङकङ अध्यक्ष डासुराम पराजुली, महासङ्घका पूर्व सचिव डा चुडा थापा र सल्लाहकारहरूले पनि महासङ्घले समन्वय गर्ने र सो प्रस्तावलाई महावाणिज्यदूत राना र बाणिज्यदुत गुरुङले नेपाल सरकार र हङकङ सरकार बिच वार्ताको वातावरण बनाउन आग्रह गरेका थिए।