धरान : बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिमा प्राडा.विक्रमप्रसाद श्रेष्ठ आएपछि अघिल्ला कार्यकालको भ्रष्टाचारको छानबिन हुन थालेको छ ।
प्रतिष्ठानद्वारा सञ्चालित फार्मेसीमा औषधि खरिदमा अनियमितता भएको पाइएपछि बिहीबार प्राध्यापक डा. विष्णु पोख्रेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको छ । समितिमा आर्थिक शाखा, कानुन शाखा, प्रशासन र धरान उपमहानगरपालिकाका प्रतिनिधिहरू रहेका छन् ।
अघिल्ला उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यकालमा प्रतिष्ठानले खरिद गरेको ५ करोड ५० हजार रुपैयाँको औषधि मध्ये ५० लाखको औषधि हिनामिना भएको प्रमाण फेला परेपछि छानबिन समिति गठन गरिएको प्रतिष्ठानका रजिष्ट्रार प्राडा. सूर्यप्रसाद सङ्ग्रौलाले बताए ।
फार्मेसी समिति छानबिनको दायरामा
प्रतिष्ठानको फार्मेसी सञ्चालन समितिमा संयोजक प्रतिष्ठानका निर्देशक डा. जगत नारायण प्रसाद, तत्कालीन डेपुटी निर्देशक डा. लोकेश जैसवाल, फार्मेसी इन्चार्ज लक्ष्मण महर्जन र फार्मेसीका कर्मचारी विवेक दाहाल थिए ।
उनीहरूको कार्यकालमा अनियमितता भएकोले उनीहरू छानबिनको दायरामा परेका छन् । अनियमिततामा फार्मेसी सञ्चालन निम्ति कर्मचारी आपूर्ति ठेकेदार केटिएम सेक्युरिटी प्रालिको पनि संलग्नता भएको आशंका गरिएको छ ।
रजिष्ट्रार प्राडा. सङ्ग्रौलाले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइने बताउँदै भने ‘छानबिन समितिले कस्ले, कसरी र कुन प्रक्रियाबाट आर्थिक अपचलन गरेको हो भन्ने अनुसन्धान गर्नेछ ।’
उनका अनुसार छानबिन समितिले सुरु देखिकै प्रक्रिया हेर्छ बयान लिन्छ । बयानपछि दोषी ठहरिए बिपीका कर्मचारी, पदाधिकारीलाई गर्छ । छानबिन समितिले दोषी प्रमाणित गरे प्रतिष्ठानको नियम कानुन अनुसार कारबाही हुन्छ ।
फार्मेसीको हिसाब किताब गोलमाल
प्रतिष्ठानका अस्पताल डेपुटी निर्देशक डा. इन्द्र लिम्बुले फार्मेसीमा ३६ लाख रुपैयाँ बराबरको औषधि नै फेला नपरेको बताए । त्यस बाहेक बिक्री भएको ४ लाख रुपैयाँको हिसाब गडबडी देखिएको र १४ लाखभन्दा बढी मूल्यको औषधि म्याद सकिएको अवस्थामा भेटिएको उनको भनाई छ ।
उनले भने ‘फार्मेसीको हिसाब–किताब जाँचमा ठुलो मात्रामा औषधि हराएको, बिक्री रकम दुरुस्त नभएको र म्याद सकिएका औषधि पनि भण्डारणमा रहेको पाइयो ।’
फार्मेसी बन्द हुँदा बिरामीलाई सास्ती
प्रतिष्ठानले तत्काल फार्मेसीको औषधि बिक्री बन्द गरेको छ । फार्मेसी बन्द हुँदा उपचारका लागि आउने हजारौँ बिरामीहरू समस्यामा परेका छन् ।
उनीहरू आवश्यक औषधि बाहिर मेडिकलबाट महँगो दरमा किन्न बाध्य भएका छन् ।
धरान–१५ का जीवन राईले भने, ‘फार्मेसीमा बाहिरभन्दा १०/१५ प्रतिशत सस्तोमा औषधि पाइन्थ्यो, अहिले भने महँगोमा किन्नु परेको छ ।’ धरान–१२ का रबिन राईले औषधिमा घोटाला गर्नेहरूलाई तत्काल कारबाही गर्न र फार्मेसी पुनः सञ्चालन गर्न माग गरे ।
फार्मेसी बन्द भएपछि स्वास्थ्य बिमाबाट पाउने औषधि सेवा समेत ठप्प भएको छ । प्रतिष्ठानले स्वास्थ्य बिमाका बिरामीलाई निःशुल्क औषधि वितरण गर्दै आएको थियो । फार्मेसी बन्द भएपछि औषधिका बाहिर मेडिकलमा रकम तिरेर खरिद गर्नु पर्ने अवस्था छ ।
स्वास्थ्य बिमाका बिरामी सीता विष्टले प्रतिष्ठानको फार्मेसी बन्द गरेर बिरामीलाई बाहिरी मेडिकलमा औषधि किन्न बाध्य बनाएको बताइन् ।
फार्मेसी समितिमा लिम्बु
फार्मेसी अनियमितता छानबिनको दायरमा निर्देशक जगनारायण प्रसाद परेपछि प्रतिष्ठानले फार्मेसी सञ्चालनको जिम्मेवारी अस्पताल डेपुटी निर्देशक डा. इन्द्र लिम्बुलाई दिने तयारी गरेको छ । लिम्बुले भने छानबिन टुङ्गोमा पुगेपछि मात्र जिम्मेवारी लिने बताए ।
बिपी प्रतिष्ठान शुद्धीकरण अभियानका सहसंयोजक डा. विष्णु पोखरेलले फार्मेसीमा देखिएको अनियमितताको तत्काल छानबिन गरी दोषीलाई कारबाही र फार्मेसी पुनः सञ्चालनको माग गरेका छन् ।
उनले भने ‘औषधिमा भएको अनियमितताले प्रतिष्ठानको विश्वसनीयता माथि प्रश्न उठाएको छ, ढिलो नगरी छानबिन पारदर्शी ढङ्गले हुनुपर्छ ।’
अस्पताल प्रमुखको भनाई
आरोपित अस्पताल निर्देशक डा. जगनारायण प्रसादले औषधि हिनामिनाको विषयमा आफूले नै अनुसन्धान गरिरहेको दाबी गरे । उनले भने, ‘म संलग्न छैन, फार्मेसीमा अनियमितता भएको हो, त्यसको अनुसन्धान म आफैँले सुरु गरेको हुँ ।’
फार्मेसी इन्चार्ज लक्ष्मण महर्जनलाई सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् । विवेक दाहाल र डा. लोकेश जैसवालले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
प्रतिष्ठानका उपकुलपति प्राडा. श्रेष्ठले फार्मेसी बन्द हुँदा बिरामीलाई परेको समस्या समाधानका लागि अस्थायी व्यवस्था गर्दै छिट्टै फार्मेसी पुनः सञ्चालन गर्ने तयारी भइरहेको बताए ।