धरान : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जेन–जी पुस्ताको भावनालाई स्वीकार गर्दै पद छाडेको मङ्गलवार केन्द्रीय समितिको बैठकमा उनले दिएको १३ पेज लामो लिखित मन्त्रव्यमा प्रकट गरेका छन् ।

उनले विशेष गरी देशलाई भ्रष्टाचार मुक्त वातावरण सुनिश्चित हुनुपर्ने र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्ने जेन–जी पुस्ताको मागलाई जोड दिएका हुन ।

मन्तव्यमा भनिएको छ ‘जेनजीले देशमा सुशासन र भ्रष्टाचार मुक्त वातावरण सुनिश्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गरिनुपर्छ भन्ने मेरो धारणा छ । उहाँहरूको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नै पर्छ ।’

तर जेन–जी प्रदर्शनको नाममा मुलुकमा भएको विध्वंस आकस्मिक वा स्वतःस्फूर्त नभएको धारणा प्रकट गर्दै सभापति देउवाले मुलुकको सर्वोपरि हितलाई केन्द्रमा राखेर यथाशीघ्र थप अध्ययन अनुसन्धान गरिनु पर्ने कुरामा जोड दिएका छन् ।

लिखित मन्तव्यमा भनिएको छ ‘तर यो अकल्पनीय एवं अमानवीय र त्रासदीपूर्ण रूपमा भएको घटना आकस्मिक वा स्वतःस्फूर्त भन्दा पनि सुनियोजित र योजनाबद्ध नै थियो भन्ने कुरा घटना पछि बाहिर आइरहेका तथ्यहरूले पुष्टि गर्न थालेको छन् । यसको यथाशीघ्र थप अध्ययन अनुसन्धान गरिनु पर्दछ ।’

यो अनुसन्धान कसैलाई तत्कालीन नाफा घाटा भन्दा पनि मुलुकको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नु पर्छ भन्ने पूर्व प्रधानमन्त्री देउवाको भनाई छ । उनले भदौ २४ गतेको कठिन अवस्थामा महत्त्वपूर्ण भूमिका खेली मुलुकमा देखा पर्ने अर्को सङ्कट रोक्न सफल भएकोमा राष्ट्रपति रामचन्द्र पौडेलप्रति धन्यवाद प्रकट गरेका छन् ।

सोही बैठकमा स्वास्थ्यको कारण जनाउँदै देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । अब खड्काले नै पार्टीको १५ औँ महाधिवेशन वा विशेष महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी वहन गर्नेछन् । उक्त महाधिवेशनमा सभापति देउवा पुनः उम्मेदवार नहुने प्रायः निश्चित छ ।

तर देउवाको वहिगर्मनले काँग्रेस पूर्ण रूपमा रूपान्तरण होला त ? गुटबन्दी समाप्त होला त ? भ्रष्ट मनोवृत्तिका नेता, कार्यकर्ताको बोलवाला समाप्त होला त ? जेन–जी पुस्ताको भावनाले पार्टीमा स्थान पाउला त ? चासोको विषय बनेको छ ।