इटहरी : कोशी प्रदेश सरकारले सुचारु गरेको ट्राफिक लाइटले इटहरीमा ट्राफिक व्यवस्थापनमा धेरै सुधार भयो । तत्कालीन यातायात तथा सञ्चार मन्त्रालयले इटहरीबाट सुरु गरेको ट्राफिक लाइट जडानले सफलता पाइरहेको बेला जेनजी आन्दोलनको क्रममा भत्किएको कारण समस्या बल्झिएको हो ।
लाइट फुटेपछि ट्राफिक प्रहरीले नै हातको इसारामा गाडी लाई निर्देशन गर्ने गरेका छन् । बिहानै देखि सडकमा देखिने प्रहरीले आफ्नो गाडी समेत नभएको कारण अहिले धेरै समस्या भोगिरहेको छ । ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको बताउँदै चोकमा खटिएका एक जवान प्रहरीले नागरिकमा समेत ट्राफिक नियम उलङ्घन गर्नुलाई गौरवको रूपमा लिने गरिएको बताए ।
उनका अनुसार प्रहरीले इसारा गर्दागर्दै बाटो काट्ने, रोक्न खोज्दा जाइलाग्ने जस्ता घटना पछिल्लो समय धेरै भइरहेका छन् । ट्राफिक बत्तीको समस्याका बाबजुद ‘नो पार्किङ’ लेखिएका बोर्डहरू समेत जलाएर नष्ट भएका छन् । आकस्मिक प्रयोजनको लागि प्रयोग हुने डिभाइडर जलाइएकोले सबैतिर प्रहरी पुग्नुपर्ने बाध्यता भएको उनले बताए ।
चोकबाट आइतबारे जाँदै गरेका सफारी चालक ज्ञानदिप तामाङले समेत बजार धेरै अस्तव्यस्त भएको अनुभव सुनाए । पहिला एक साइडमा पार्किङ हुँदा आइतबारे देखि अन्यत्र सफारी चलाउन सहज हुने गरेको बताएका उनले अहिले जथाभाबी सफारी रोक्न पाइने हुँदा धेरै जाम हुने गरेको बताए । चाडपर्वको समयमा बढी कमाई हुने भएपछि सबैले चोक र बजार तीर नै सफारी ल्याउने गरेको उनको बुझाई छ ।
बजारको ट्राफिक व्यवस्थापन गर्न यसअघि इटहरी उपमहानगरपालिकाले एकतर्फी पार्किङको व्यवस्थापन गरेको थियो । केही समय कारबाहीको प्रक्रिया नै अगाडी बढाए पनि अहिले पुरानै अवस्था दोहोरिएको छ । नगर प्रहरी परिचालन गरेर सफारीको कार्ड खोज्ने देखि कारबाही गर्ने सम्मका गतिविधि गरेको उपमहानगरपालिकाले चाडपर्वको समयमा भने बजारलाई अस्तव्यस्त अवस्थामै छाडेको छ । मुख्य राजमार्गमा सफारी चलाउन नपाइने निर्णयबाट उपमहानगर पछि हटेको छ ।
यसअघि मेयर हेम कर्ण पौडेलले असोज २१ गते सामाजिक सञ्जाल फेसबुक मार्फत नगरवासीमा सार्वजनिक अपिल गरेका थिए । पालिकाको सेवा प्रवाह सुचारु हुने जनाउँदै उनले ट्राफिक व्यवस्थापनमा लाग्ने उद्घोष गरे ।
दुईसता अगाडी गरेको उनको उद्घोषको प्रभाव बजारमा देखिएको छैन । चार बुँदे अपिलको अन्तिम बुँदामा नगर प्रहरी सेवालाई व्यवस्थित गरिने र बजार अनुगमन तथा नगर सुरक्षामा खटाइने उल्लेख छ । मेयर पौडेलले उल्लेख गरेको नगर प्रहरीको परिचालन तत्काल बजारमा देखिएको छैन । भित्री बजारको ट्राफिक व्यवस्थापन बारे यसअघि नै कपुरी न्युजले समाचार प्रकाशित गरेको छ । इटहरीमा लामो समयदेखि समस्याको रूपमा देखिएको पार्किङ र बजार व्यवस्थापनमा चाडपर्वको समय थप चुनौतीपूर्ण हुने गरेको छ ।