धरान : धरानमा पर्यटकहरूका लागि नयाँ स्टारलेट होटेल थपिएको छ । धरान-१५ बगरकोटमामा आधुनिक सुविधा सम्पन्न तारे होटेल मेरिकेन सञ्चालनमा आएको हो । शनिवार एक समारोह बिच चर्चित अभिनेता धिरज मगरले होटेलको उद्घाटन गरेका छन् ।
हाल सम्म कुल २५ करोड रुपैयाँको लगानी रहेको होटेल मेरिकेन प्रालीद्वारा सञ्चालित होटेल धरान र पूर्वी नेपालको पर्यटन प्रवर्द्धन, उच्चस्तरीय आतिथ्य सेवा तथा आन्तरिक तथा विदेशी पाहुनालाई अन्तर्राष्ट्रिय स्तरको सुविधा प्रदान गर्न स्थापना गरेको सञ्चालक केन्द्र लिम्बुले बताए ।
होटेलमा ५ तारे होटेल स्तरको सुविधा युक्त १९ वटा पर्यटकीय सुविधायुक्त कोठाहरू छन् । जाकुजी सहितका आधुनिक बाथ सुविधा उपलब्ध छ । होटेल परिसर भित्रै साउना, स्पा र जिमको व्यवस्था छ ।
मेरिकेनका कोठाको मूल्य ८ हजारदेखि २३ हजार रुपैयाँ सम्म कायम गराएको छ । पाहुनाले आफ्नो रोजाइ अनुसार विभिन्न स्तरका लक्जरी कोठा र सेवा छनोट गर्न सक्नेछन् ।
होटेलमा ‘इग्नाइट रेस्टुरेन्टले अन्तर्राष्ट्रिय स्वाद र स्थानीय परिकारहरूको आकर्षक संयोजन प्रस्तुत गर्ने जनाएको छ । नेपालकै पहिलो ‘स्काई बार’बाट धरानको सुन्दर दृश्य अवलोकन गर्दै पाहुनाले अनौठो र स्मरणीय अनुभव लिन सक्ने सञ्चालक लिम्बुले बताए ।
होटेलमा स्विमिङ पुल, डिजिटल सुविधा सहितका आधुनिक सेमिनार हल, उच्चस्तरीय वार र मनोरञ्जन क्षेत्र समेतको व्यवस्था गरिएको छ ।
मेरिकेन होटलले हाल ३० जनालाई प्रत्यक्ष रोजगार प्रदान गरेको छ । होटेलका कर्मचारीहरूले १ लाख ५० हजार रुपैयाँ सम्म तलब सुविधा पाउने छन ।