लिम्बु जाति प्रकृति पूजक अर्थात् प्राकृत विश्वास प्रणाली भएका एनिमिष्ट–सामानिवम (Animist-Samanism) का अनुयायी हुन भन्ने कुरामा अव धेरै दिमाग खर्ची रहनु पर्दैन ।
प्राचिनकालदेखि हालसम्मको यसको एउटा लामो इतिहास छ । यस यथार्थलाई लिम्बुहरूको मुन्धुम र अहिले गरिरहेको अभ्यासले पनि प्रमाणित गर्दछ । लिम्बुहरूको मुन्धुम र अनुष्ठानहरूलाई विश्लेषण गर्दा उँधौली उभौली, यक्वा, चासोक लगायत विभिन्न अनुष्ठान तथा अभ्यासहरू एनिमिजमको विशेषता हुन भने सामन (फेदाङवा, येवा तथा साम्बा) हरुले आध्यात्मिक संसार (Spiritual world) र मानव संसार (Human world) लाई जोड्ने विधि विधानहरू सामानिजमका विशेषता हुन ।
व्याख्या र विश्लेषणको आधारमा प्राकृत, किरात र यूमा भनिएका धर्महरू एउटै हुन । तिनीहरूको मुन्धुम, विधि विधान, अनुष्ठान, संस्कार तथा संस्कृति सबै एउटै छन् तर नाम मात्र फरक पारिएको छ ।
शायद नाम फरक हुनु या पार्नुमा केही व्यक्तिहरूको स्वार्थ, हठ र दम्भले काम गरेको देखिन्छ । यसमा सत्यहाङमा धर्मका केही विधि विधान तथा अनुष्ठानहरू प्राकृत, किरात तथा यूमाको भन्दा भिन्न छन् । कतिपय मुन्धुमहरू यो धर्मका अनुयायीहरूले अलि फरक पारेको पाइन्छ । सत्यहाङहरुले पनि किरात धर्म भन्न पुगेकाले त्यसबाट छुट्याउन परम्परागत किरात र सत्यहाङ किरात धर्म भन्ने गरिएको छ ।
किरात नाम यजुरवेद, अथर्व वेद, महाभारत जस्ता अन्य विभिन्न आर्य साहित्य तथा विभिन्न अन्य दस्ताबेजमा उल्लेख भएका छन् । उक्त किरात नाम प्राचीन एक बृहत् मानव समूहको साथै एक सभ्यताको नामकोरुपमा चित्रण गरेको देखिन्छ ।
आर्यहरूले भनेका कथित किरात मानव समूह को हुन ? भन्ने प्रश्न उठ्न सक्छ । सँगसँगै त्यत्रो ठुलो सभ्यता र मानव समूहको हकदार को हो त ? भन्ने प्रश्न आउँछ । आर्यहरू सिन्धु–गङ्गा मैदानमा आउनु भन्दा अघि त्यहाँ ड्राभिडियन र मंगोलोईड मानव समूह थिए भन्ने कुरा सिन्धु सभ्यताका मानिसहरूको चिहान उत्खननमा पाईएको मानव अवशेषको अध्ययनबाट पत्ता लागेको छ ।
के त्यो मंगोलोईड मानव समूह हराएकै हो त ? भन्ने प्रश्न उठ्छ । हराएका होईनन । तिनै मानव समूह त्यहाँबाट पहाडी क्षेत्रतिर बसाई सराई गरे जो काश्मीरदेखि नेपाल हुँदै आसामसम्म पाइने सी.डी र ओ.(C, D / O) वंशाणु हाप्लोग्रुप भएका मंगोलोईड मानव समूह हुन ।
यस मानव समूहलाई आर्यहरूले मुन्धुममा तेमेनसा, खाम्बोङसा लुम्बोङसा, सिन्युक मुदेनसा, सावायेतहाङसा र याक्थुङ भने जस्तो नाम भन्ने कुरा पनि भएन । उनीहरूले त आफ्नै अर्थमा नाम किरात नै भनिदिए । हेपेर या आफ्नै अर्थमा नाम काले राखेको भन्दैमा कालेले एक समयमा विकास गरेको सभ्यतालाई आर्यहरूले नाम राखेको कालेको सभ्यता हो भनेर पन्छाउन र बिर्सन मिल्छ र ! त्यसो भन्दैमा फेरी कथित किरात पहिचान बनाउनु पर्छ भन्नु पनि गलत हुन्छ ।
लिम्बु (याक्थुङ) हरू आज हामी लिम्बु (याक्थुङ) मानव समूह तथा सभ्यता भन्दैछौ । तर समयको लामो अन्तरालमा लिम्बु (याकथुङ) होइन रहेछ मात्र सावायेतहाङसा रहेछौ या अर्कै कुनै मानव समूह रहेछौ भन्ने निष्कर्षमा पुग्ने बित्तिकै पृथ्वीनारायण शाहले दिएको नाम लिम्बु (याक्थुङ) भनेर समग्र लिम्बु (याक्थुङ) सभ्यतालाई पन्छाउने र बिर्सने काम गर्न सकिन्छ र ? विगतमा यो मानव समूह सहितको यस्ता सभ्यताहरूलाई इतिहासमा जोडेर कसरी आजको पहिचानलाई सुदृढ गर्ने भन्नेतिर पनि सोच्नु पर्दछ ।
यसैले, आजको अवस्थामा धर्मको नाम नै किरात किन राख्न पर्यो भन्ने प्रश्नको उत्तर त्यति सहज ढङ्गले आउँदैन । धर्मको नाम किरात राख्नै मिल्दैन भन्ने होइन । नाम राख्न त सकिन्छ तर पहिलेको सभ्यतालाई जोड्न धर्मको नाम किरात भनेर जोड्नु फेरी अर्को गल्ती हुन्छ । यसो गरिए आर्यले दिएको कथित किरात नामलाई निरन्तरता दिन पुगिन्छ । फेरि, यो अहिलेको दार्शनिक, मुन्धुम र अनुष्ठानिक पक्षसँग तालमेल मिलाउन जबरजस्तको व्याख्या गर्नुपर्ने हुन्छ ।
यूमा धर्म भन्नेहरूले यूमा नै सबै माङहरुको प्रतिनिधित्व गर्छन् भन्ने ठान्न पुगेकोले धर्मको नाम नै यूमा धर्म भन्न पुगेका छन् । यो भन्नका लागी दार्शनिक पक्ष, मुन्धुम पक्ष र अनुष्ठान पक्ष परस्परमा सम्बन्धित भएर मिलेको हुनु पर्छ ।
धर्मको नाम यूमा राख्नाले एकेश्वरको अस्तित्व मात्र स्वीकार गर्ने बहुईश्वर स्वीकार नगर्ने अर्थ लगाई (Cannotation) मा जान्छ जुन दार्शनिक पक्ष, मुन्धुम पक्ष र अनुष्ठान पक्षले स्वीकार गर्दैन । तर यस नामको धर्मले मान्ने विधि विधान, अनुष्ठान, संस्कार तथा संस्कृति भने परम्परागत किरात र प्राकृत विश्वाससँग मिल्न जान्छ ।
क्रमश:...