धरान : जसपा नेपालका अध्यक्ष, पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले पहिचानवादी शक्तिहरू एकताबद्ध भएर सहकार्य गरे मात्र नो कोशी आन्दोलनले प्रदेशको पुनःनामाङकन र लिम्बुवान प्रदेश हासिल गर्न सक्ने बताएका छन् ।   
उनले भने ‘राजनीतिक शक्तिले एकता र सहमतिले मात्र आन्दोलन सफल हुन्छ ।’ ७ वटा प्रदेश अव्यवहारिक र अवैज्ञानिक छ, सघियताको मर्म र भावना विपरीत छ भएकोले पहिचानमा आधारित प्रदेश निर्माण गर्नु जरुरी भएको अध्यक्ष यादवले बताए । 
संघिय लिम्बुवानका अध्यक्ष कुमार लिङदेनलाई ईङगित गर्दे उनले भने ‘तपाई र हाम्रो एउटै मुद्दा हो, आउनुस् सहकार्य, एकता गरौँ ।’ सहकार्य, एकता, सहमतिले मात्र पहिचान पक्षधरहरूको आन्दोलन सफल भई विजय प्राप्त हुने उनको भनाई थियो ।
लिम्बुवान राष्ट्रिय समितिको प्रथम अधिवेशन धरानमा आइतबार उद्घाटन गर्दे यादवले भने ‘पहिचानवादी शक्तिहरूले सहकार्य गरेनौ भने जोकतन्त्र हुन्छ, त्यसैले पहिचानवादी मोर्चा मिलेर आन्दोलन गरौँ ।’ उत्पीडित जातीलाई एक ठाउँमा ल्याए मात्र पहिचानको उद्देश्य प्राप्ति हुने उनको भनाई छ । 
अध्यक्ष यादवले भने ‘पहिचान प्राप्त भए देशको नक्सा नै बदलिन्छ, पहिचान राजनैतिक लडाई हो, कुमार जी सहकार्य र एकता हुँदै एक भएर आन्दोलन गर्‍यौ भने आवश्यक लिम्बुवान प्राप्त हुन्छ ।’ उनले एकल जातिको दाशत्वले पहिचान नामेट गर्न खोजेको बताए । 
पहिचान नमेट हुन नदिन एकल जातीय दाशत्व तोड्नै पर्नेमा उनले जोड दिए । बहु जातीय बहुभाषिक र बहुसास्कृतिक देशमा एकल जातीवादी वर्चस्व कायम रहेका कारण देशमा शैन्य, आर्थिक र प्रशासनिक क्षेत्रमा ६४ प्रतिशत एउटै जातीको वर्चस्व कायम रहेको अध्यक्ष यादवले बताए ।
उनले भने ‘नेपाल मल्टिनेशनल मुलुक हो, राणा शासनले राज्य संरचना ध्वस्त पारेपछि शासनको केन्द्रीकृत गरी विविधतालाई उपेक्षित गर्दै भाषा धर्म जातिहरूलाई एउटै बनाउने प्रयास गरेका मात्र हुन ।’ 
उनका अनुसार नेपालमा १२५ भाषा रहेतापनि बोली मा एउटै भाषा कायम रहेको छ । त्यो अन्त्य हुन सकेको छैन । यो एकल भाषा र एकल जातीको वर्चस्व तोड्नु नै पहिचान प्राप्ति भएको बताउँदै उनले भने ‘एकल जातीय वर्चस्वका कारण उत्पीडित र जाती पछाडि परिरहेका छन् ।’