इटहरी : कोशी प्रदेश सरकारले कृषि तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्दै आर्थिक समृद्धिको आधार कृषि, पर्यटन र पूर्वाधारको अवधारणा सार्वजनिक गरेका हुन् ।

सबैभन्दा बढी पूर्वाधार विकासमा १० अर्ब ५७ करोड बजेट विनियोजन गरेका मन्त्री मगरले पर्यटन वर्षका निम्ति पुनः १० करोड छुट्याएका छन् ।

पर्यटन वर्ष २०८२ अभियान चलाएको कोशी सरकारले सोही कार्यक्रमको लागि थप १० करोड बजेट विनियोजन गरेका हुन् । चिया सम्मेलनमा २ करोड विनियोजन गरेका मगरले कफी पकेट क्षेत्र घोषणा गर्ने बताए । 

‘प्रदेशको रहर, स्वच्छ सहर’ भन्ने नाराको साथ दुई भन्दा बढी पालिकालाई समेटेर फोहोर प्रशोधन गर्ने मगरले जनाएका छन् । मोरङको रङ्गेली र इलामको सूर्योदय नगरपालिकामा फोहोर प्रशोधन केन्द्र स्थापना गर्न एक करोड विनियोजन गरिएको छ । मन्त्री रानाले भौतिक विकासमा स्थानीयता झल्किने गरी पूर्वाधार निर्माण गरिने उल्लेख गरे ।

चतरा देखि सोलुखुम्बुको चौरीखर्क सम्म जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन गरिने र प्रदेशमा छुट्टै राजस्व कार्यालय स्थापना गर्ने योजना सुनाए । विराटनगरस्थित शैलजा हृदय रोग केन्द्रलाई विशेषज्ञ अस्पतालको रूपमा स्तरोन्नति गरिने बजेटमा उल्लेख छ ।

प्रदेशका सबै अस्पतालहरूमा मानसिक स्वास्थ्य सेवा विस्तार गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । १० वर्षभन्दा कम उमेरका बालबालिकालाई सरकारी अस्पतालमा निःशुल्क उपचार उपलब्ध गराउने नीति बजेटमा समेटिएको छ ।

koshi-budget-rana