धरान : सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङद्वारा धरान आएको अवसरमा आज शुक्रवार सर्वपक्षीय टोलीले धरान-८ स्थित रेडियो नेपाल भवनमा सुनसरी जिल्ला ट्राफिक कार्यालय अस्थायी रूपमा व्यवस्थापन गर्न उपलब्ध गराउने बारेमा छलफल गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन जीर्ण भई बर्खाको बेला पानी चुहिने भएको छ । घरधनीले पनि अन्यत्र सार्न दबाब दिएकाले तत्काल कार्यालय व्यवस्थापन गर्न भवन र परिसर उपलब्ध गराउन टोलीले आग्रह गरेको हो ।

वैकल्पिक  व्यवस्था नभए सम्म भाडामा भए पनि रेडियोको प्रयोग विहीन भवन र परिसर उपलब्ध गराउन मन्त्री गुरुङ समक्ष छलफल गरिएको हो ।

मन्त्री गुरुङ लोकसेवा प्रसारण निकाय पीएसबीएका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्ट सहित रेडियो नेपालको भवन, जग्गा अनुगमन गर्न आएको बेला धरानको सर्वपक्षीय टोलीले भवन परिसरमा मन्त्रीलाई भेटेर अस्थायी व्यवस्थाको लागि आग्रह गरेको छ ।

सर्वपक्षीय समितिले धरानमा ट्राफिक प्रहरी कार्यालयको वैकल्पिक व्यवस्था नभए उक्त कार्यालय धरान बाहिर अन्यत्र सारिने भएकोले विकल्पको खोजी गर्दै आएको छ । यसअघि पनि सर्वदलीय प्रतिनिधि मण्डलले काठमाण्डौं गई रेडियो नेपालको भवन परिसरमा अस्थायी व्यवस्थाको लागि सम्झौताको चरणमा प्रक्रिया पुर्‍याएको थियो ।

मन्त्री समक्ष टोलीले ट्राफिक प्रहरीलाई त्यहाँ अस्थायी व्यवस्थापन गर्दा जीर्ण भवनको रेखदेख हुने साथै अहिले लागुऔषध सेवन गर्नेको थलोको रूपमा असुरक्षित बनेको भवन परिसर सुरक्षित रहने वस्तुस्थिति जाहेर गरे ।

छलफलमा पूर्व मन्त्री, नेपाली काँग्रेसको केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले सबै सरकारी कार्यालय धरानबाट अन्यत्र सरेकाले पनि ट्राफिक कार्यालय सर्न नदिने वातावरण बनाउन सर्वदलीय टोली लागी परेको यथार्थ राखे ।

सर्वपक्षीय टोलीमा नेपाली काँग्रेस धरान सभापति श्याम पोख्रेल,नेकपा एमाले अध्यक्ष हर्कजग एभेङ, नेकपा माओवादी अध्यक्ष उद्धव लिम्बू, जसपा अध्यक्ष ताजुब लिम्बू, रास्वपा अध्यक्ष सुमन श्रेष्ठ, सुनसरी उद्योग वाणिज्य सघ अध्यक्ष विजय श्रेष्ठ, पूर्व अध्यक्ष सरोज श्रेष्ठ लगायत थिए ।

छलफलमा अध्यक्ष ड. महेन्द्र विष्टले ट्राफिक प्रहरी कार्यालयलाई जग्गा दिने कुरा बोर्ड बैठकमा राख्ने बताए । उनले भने ‘मिले सम्म ट्राफिक प्रहरी राख्न दिन्छौ, तर कति समयका लागि हो भन्नु पर्‍यो नत्र अस्थायी भन्दै जग्गा हडप्ने चलन छ ।’

उनले सरकारी जग्गा सरकारी प्रयोजनकै लागि दिँदा भाडा नलिने भए पनि सबै निकाय र कार्यालयको आफ्नै नियम हुने बताए । अध्यक्ष डा विष्टले धरानको भवनबाट अव डिजिटल एफएम भए पनि सञ्चालन गर्ने प्रयास भइरहेको जानकारी दिए ।

औद्योगिक क्षेत्र पछाडि १८ बिघा जग्गा ओगटेको रेडियो नेपालको भवन जीर्ण अवस्थामा रहेको अनुगमनको क्रममा मन्त्री गुरुङले अवलोकन गरे । मन्त्रीले भने ‘जीर्ण भवनको संरक्षण हुनुपर्‍यो ।’

२०४६ साल देखि उक्त भवनबाट रेडियो नेपालले १ सय मेगावाटको टावर राखी पूर्वाञ्चल ट्रान्समिसन सेन्टर सञ्चालन गर्दै आएको थियो । विराटनगरमा कार्यालय स्थापना गरेपछि धरानको उपकरणहरू बन्द गरिएको अध्यक्ष डा. विष्टले बताए ।

उनका अनुसार हाल डिजिटल प्रविधिले गर्दा पुरानै सिस्टमको रेडियो सञ्चालन गर्न महिनाको ८ देखि १० लाख रुपैयाँ सम्म बिजुलीमा खर्च हुने भएकोले सम्पूर्ण सेवा बन्द गरिएको हो ।