धरान : लिम्बू याक्थुङ समुदायको प्रतिनिधिमूलक सङ्गठन किरात याक्थुङ चुम्लुङ धर्म निरपेक्ष रहनु पर्ने यसका आजीवन, संरक्षक सदस्यहरूले बताएका छन्। जाति समुदायले विविध धर्म अङ्गालेका हुन सक्छन् समुदायगत रूपमा उनीहरू एउटै लिम्बू याक्थुङ भएकाले सबैको प्रतिनिधित्व गर्न धर्म निरपेक्षता उचित हुने सुझाव उनीहरूले दिएका हुन् । चुम्लुङ विधानको प्रस्तावना र उद्देश्यमा उल्लेख भएका उद्देश्यहरू प्राप्तिमा तिन दशकमा भएका कामका बारेमा पुनरावलोकन गरिनु पर्ने आवश्यकतामा पनि उनीहरूले ध्यानाकर्षण गराएका छन् ।

चुम्लुङका संरक्षक, आजीवन, साधारण सदस्यहरूको धरानमा शनिवार आयोजित परामर्श बैठकका सहभागीहरूले त्यस्तो सुझाव दिएका हुन् । पछिल्लो समय लिम्बू याक्थुङ समुदायको धर्म, जाति, लिपिको मौलिक नामका बारेमा व्यापक बहस चलेका छ । बहसलाई उचित सम्बोधन नगरे यसैको निहुँमा समुदायको ध्रुवीकरण बढ्ने अगुवाहरूले आशङ्का गरेका छन् । प्रदेश १ को नामकरणको बारेमा लिम्बू धर्मगुरु मानिएका आत्मनन्द लिङदेनले लिम्बुवान हटाएर ‘किरात सगरमाथा’को लिखित सुझाव दिएपछि स्थिति अरू गरम भएको छ । 

त्यसलाई सम्बोधन गर्न चुम्लुङले लिम्बुवानका सबै जिल्लामा सुझाव, परामर्श भेला आयोजना गर्दैछ । भेलामा लिम्बुजन्य संस्था, सङ्गठनहरूका अगुवाहरूले मतभेदका विषयहरू पनि राख्दैछन् । विधान संशोधन देखी अहिले बहसमा उठेका अभिमतलाई चुम्लुङको एघारौँ राष्ट्रिय महाधिवेशन प्रस्तुत गर्ने बताइएको छ । महाधिवेशन यही फागुन २८ देखी पाँचथरको फेदेनमा हुँदैछ । 

धरानमा भएको परामर्श बैठकमा उद्यमी लिम्बु अगुवा विपिन सुब्बा इङवारमले भने ‘चुम्लुङ धर्म निरपेक्ष हुनपर्छ, कसैलाई यो धर्म मान, यो नमान भन्न हुँदैन ।’ पछिल्लो समय कतिपय लिम्बू याक्थुङले विविध धर्म अपनाएका हुन सक्छन् उनीहरूको प्रतिनिधित्व पनि चुम्लुङले गर्न सक्नु पर्दछ, त्यसैले एउटै धर्मको धार्मिक संस्था चुम्लुङलाई बनाउनु नहुने उनले जिकिर गरे ।

विधानको उद्देश्यमा उल्लेख भएका उद्देश्यहरू प्राप्तका लागि चुम्लुङले के कति काम गर्न सक्यो त्यसको पुनरावलोकन गर्न जरुरी भएकोमा पनि उनले जोड दिए । उनले भने ‘चुम्लुङ स्थापना भएको तिस वर्ष भयो, यो अवधिमा विधानको उद्देश्य र लक्ष्य प्राप्तिमा कति सफल भयो इण्डिकेटरमा देखाउन सक्नु पर्‍यो ।’ लागुऔषध देखी बालबालिका सम्मको क्षेत्रमा काम गर्ने भनिएको छ, अवस्था के छ? लिम्बू समुदायलाई जानकारी दिनु जरुरी छ ।

चुम्लुङ विधानको उद्देश्यमा लिम्बुवान क्षेत्रका ग्रामीण जनताको जीवनस्तरमा सुधार ल्याउन आर्थिक विकासका कार्यक्रमहरू सञ्चालन गर्ने, आदिवासी/जनजातिहरूको अधिकार महिला तथा बाल अधिकारको पक्षमा काम गर्ने, वातावरण र पर्यावरणको विनाशलाई रोक्न ठोस कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्यको क्षेत्रमा ग्रामीण जनसमुदायमा रहेका अज्ञानता र अन्धविश्वास हटाउन काम गर्ने, एचआईभि एड्स र एड्स जस्तै भयानक सङ्क्रमणहरू विरुद्धमा जनचेतना बढाउने लगायत उल्लेख छ । उनको प्रश्न थियो ‘लिम्बु जातिको आर्थिक विकासका लागि के गर्‍यो ?’

विशिष्ट संरक्षक सदस्य गिरिध्वज लिम्बू साउदेनले चुम्लुङले तत्कालै लिम्बु इतिहास र संस्कृति सँग गाँसिएका स्थालहरुको अतिक्रमण रोक्ने, संरक्षण गर्ने र मौलिक नामहरूको पूनस्थापना गर्ने अभियान चलाउनु पर्नेमा जोड दिए । उनले भने ‘यसका लागि आन्दोलन नै गर्नुपरे पनि चुम्लुङले अगुवाइ गर्नुपर्छ ।’ विधानमा संशोधन गरी चुम्लुङको सङ्गठन संरचनामा लिम्बू समुदायका सबै पक्षहरू समेटिने प्रावधान राखिनु पर्ने बताउँदै अहिलेको प्रदेश चुम्लुङ नाम मात्रको जस्तो देखिएकाले क्षेत्राधिकारको स्वायत्तता दिइनुपर्नेमा जोड दिए । प्रदेश १ को नामकरण लिम्बुवान किरात संयुक्त प्रदेश हुनुपर्ने अडान छोड्न नहुने सुझाव दिए ।

रामकुमार नेम्वाङले चुम्लुङको सङ्गठन अहिले पनि वडा तह सम्म नपुगेकोमा ध्यानाकर्षण गराउँदै सुझाव र परामर्श बैठक वडा तहबाटै सुरु गर्नुपर्नेमा जोड दिए । चुम्लुङमा पछिल्लो समय दलगत राजनीति हाबी भएको, सङ्गठन व्यक्ति केन्द्रित हुँदै गएकोले अहिलेको विवाद बढ्नुको कारण भएको बताउँदै भने 'विवादका विषयमा संस्थागत वार्ता छलफल हुन नसक्नुमा चुम्लुङ व्यक्ति भएको जस्तो देखिन्छ ।' 

आइन्द्र विक्रम कुरुम्बाङले चुम्लुङ धर्म निरपेक्ष, समन्वयकारी संस्था  हुनुपर्ने र जुनसुकै धर्मका लिम्बू यसको सदस्य पदाधिकारी हुन पाउने व्यवस्था गर्नुपर्ने सुझाव दिए । उनले सिरिजङ्गा लिपिको नामको अगाडि कुने कुरा थपिन नहुने सुझाव दिए । घानश्याम थेबेले राज्य संरचना सङ्घीयतामा गइसकेको अवस्थामा चुम्लुङको स्थानीय तह र प्रदेश चुम्लुङलाई शक्तिशाली बनाउन स्वायत्तता दिनुपर्नेमा जोड दिए । लेखमान आवजुङले चुम्लुङमा थरगत संस्थाको प्रतिनिधित्व नभएकोले विधानमा संशोधन गरी प्रतिनिधित्व गराउनुपर्ने सुझाव दिए । उनले लिम्बुवान आन्दोलनमा चुम्लुङको भूमिका हस्तक्षेपकारी सशक्त हुनुपर्नेमा जोड दिदैं पछिल्लो समय चुम्लुङको भूमिका कमजोर देखिएकोमा आलोचना गरे । 

परामर्श भेला चुम्लुङ केन्द्रीय सदस्य सङ्गीता सुब्बाको अध्यक्षतामा भएको हो । सुनसरी जिल्लाको धरान, इटहरी, रामधुनी नगरपालिका क्षेत्रमा आजीवन, विशिष्ट संरक्षक, संरक्षक सदस्यहरू समेत ३८ जना बढी परामर्श बैठकमा सहभागी थिए । दर्जन बढीले लिखित सुझाव पनि दिएका छन् । सहभगीहरुलाई उनीहरूका छुट्टै सुझाव अनुभव सहित ८ बुँदाका प्रश्नावलीमा सुझाव दिन आग्रह गरिएको थियो । भेलामा संयोजक सङ्गीता र केन्द्रीय सचिव डा.योगेन्द्र पालुङवाले छलफलका विषयहरू प्रस्तुत गरेका थिए । तान्छोप्पाका प्रतिनिधि शिव सुब्बा इस्वोले सुझावहरू टिपोट गरेका छन् ।