वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पतालले विशेषज्ञ सहितको दन्त सेवा सुरु गरेको छ ।
नगर अस्पतालले सुरु गरेको विशेषज्ञ सहितको दन्त सेवाको अस्पताल सञ्चालन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले उद्घाटन गरेका छन् ।
शुक्रवार भएको दन्त सेवाको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख तथा अस्पताल सञ्चालन समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडा नं ६ का अध्यक्ष उद्भव प्रसाद पोखरेल , वडा नं ७ का अध्यक्ष कपिल आचार्य , अस्पताल सञ्चालन समितिका सदस्य अनु गुरुङ,रत्न बहादुर राउत , नगर स्वास्थ्य शाखाका प्रमुख दन्त रोग विशेषज्ञ डाक्टर धनराज यादव , महेन्द्रनगर स्वास्थ्य केन्द्रका प्रमुख पृथ्वी चन्द्र भगत नगर अस्पतालका निमित्त व्यवस्थापक दिवस विष्ट,अस्पतालका चिकित्सकहरू, कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
नगर बासीहरूले दन्त सेवाको माग गरेको र आवश्यकता बमोजिम आधुनिक उपकरणको व्यवस्थापन गरी नगर अस्पतालबाट विशेषज्ञ सहित दन्त सेवा सुरु गरिएको नगर प्रमुख तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष रमेश कार्कीले बताए । नगर बासीको स्वास्थ्य सम्बन्धी आधारभूत आवश्यकतालाई पूरा गर्न नगर अस्पतालले सेवा बिस्तार गर्न योजना बनाएर र सोही अनुसार विशेषज्ञ सहितको दन्त सेवा सुरु गरेको उनले बताए । नगर अस्पतालबाट अप्रेसन सहितको आँखा उपचार केन्द्र, आधुनिक आकस्मिक कक्ष, नयाँ भवन , आधुनिक भिडियो एक्सरेको खरिद गरी सेवालाई थप व्यवस्थित र बिस्तार गर्दै आएको नगर प्रमुख तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष रमेश कार्कीले बताए ।
अस्पतालको आन्तरिक स्रोतबाट ९ लाखबाट आधुनिक उपकरण खरिद गरी विशेषज्ञ सहितको दन्त सेवा बिस्तार गरिएको नगर अस्पतालका निमित्त व्यवस्थापक दिवस विष्टले जानकारी दिए । उक्त सेवा शनिवार र सार्वजनिक बिदाको दिन बाहेक बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । उक्त सेवा नगर स्वास्थ्य शाखाका प्रमुख दन्त रोग विशेषज्ञ डाक्टर धनराज यादवले दिनेछन् ।
हाल दैनिक अस्पतालमा २ सय ७५ देखि ३ सय २५ को संङख्यामा सेवाग्राहीहरू आउने गरेका छन् । हाल अस्पतालले वर्षको ३६५ दिनै बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म चिकित्सकद्वारा ओपिडी सेवा र आकस्मिक सेवा दिँदै आइरहेको छ ।
२४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, फिजोयोथेरापी सेवा, आँखा उपचार सेवा, हप्ताको दुई दिन सोमबार र बिहीबारका दिन भिडियो एक्स-रे र सबै सरकारी नियमित सेवाहरू यथावत् रूपमा सञ्चालन भई राखेको र हाल विभिन्न सेवाहरू बढाउने लक्ष्य सहित भौतिक संरचना निर्माण र जनशक्ति थप्ने योजना बनाएको अस्पतालका निमित्त व्यवस्थापक दिवस विष्टले बताए ।
हाल अस्पतालकै आम्दानीबाट फार्मेसी भवन र आधुनिक आकस्मिक कक्ष निर्माण भएको त्यस्तै सामान्य शल्यक्रिया कालागि भवन पनि निर्माणाधीन रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले बताए ।



































































