"लोकतन्त्र" शब्द ग्रीक शब्द 'डेमोस' बाट आएको हो, जसको अर्थ 'सामान्य जनता' र "क्र्याटोस", जसको अर्थ शक्ति हो। "लोकतन्त्र" शब्द पहिलो पटक पुरातन ग्रीक राजनैतिक र दार्शनिक विचारमा एथेन्सको सहर राज्यमा शास्त्रीय पुरातनताको समयमा देखा पर्यो। यो ५०७-५०८ ईसा पूर्वमा एथेनियनहरूले फेला पारेका थिए र यसको नेतृत्व क्लाइस्थेनिसले गरेका थिए। क्लाइस्थेनिसलाई "एथेनियन लोकतन्त्रका पिता" भनेर पनि चिनिन्छ।
तर लोकतन्त्रको शाब्दिक अर्थ "मान्छेको शासन" अर्थात् संस्कृतमा लोक माने "जनता" र तन्त्र माने "शासन" हुन जान्छ। लोकतन्त्र सरकारको एक प्रमुख शासकीय प्रणाली हो जसमा प्रत्येक नागरिकले प्रत्यक्ष रूपमा केही शक्तिहरू प्रयोग गर्दछ वा शासक निकायको गठनको लागि आफूभित्र प्रतिनिधिहरू चयन गर्दछ।
सैद्धान्तिक रूपमा भन्ने हो भने प्रजातन्त्र एक अति नै उत्तम शासन प्रणाली हो तर यी आधारभूत सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्दा अनेकौँ खराबीहरू देखा पर्दछन् । लोकतान्त्रिक अभ्यासहरू असफल हुनुको पछाडि गरिबी,अविकसित अर्थनीति, अशिक्षा, राजनीतिक संस्कार, विभेदीकरण, सामाजिक अन्याय आदिको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ।
तर व्यवस्था राम्रो भएर पनि किन शासन उत्कृष्ट हुन सकेन त ? भन्ने गम्भीर प्रश्न हामीसामु खडा भएको छ । यसो हुनुमा एउटै मात्र कारण अवश्य छैन । प्रमुख कारण त विदेशीको अप्रत्यक्ष हस्तक्षेप नै हो । विशेष गरी दुई ठुला छिमेकी राष्ट्रबिचको अस्वस्थ प्रतिस्पर्धाको बिचमा पर्दा कुनै पनि शासक सफल हुन नसकेको र नेपाली जनतालाई एक आपसमा भिडाउने भारतीय शासकको प्रवृत्तिलाई नेपाली शासकले अवज्ञा गर्न नसक्नु नै सबैभन्दा मुख्य कारण हो । तर, जेजस्तो परिस्थितिमा पनि यदि नेतृत्व सक्षम भएको भए अरूले केही गर्नै सक्ने थिएनन् ।
यद्यपि लोकतन्त्रलाई यस आधुनिक संसारमा शासनको उत्कृष्ट प्रणालीका रूपमा स्वीकार गरिएता पनि यसको आफ्नै समस्या छ। यी समस्याहरू गम्भीर रूपमा लिएर जटिल ढङ्गले समाधान गरिएन भने लोकतन्त्र धराशायी हुन सक्छ। । त्यसैले लोकतन्त्रका विभिन्न चुनौतीहरू छन् । यी मध्ये केही चुनौतीहरू तल उल्लेख गरिएका छन्।
१. भ्रष्टाचार र अकुशलता
धेरै लोकतान्त्रिक देशहरूमा, राजनीतिक नेताहरू,अधिकारीहरू भ्रष्ट, बेइमान र अकार्यक्षम हुन्छन्। घुस माग्छन् । जसलेगर्दा नागरिकमा विश्वासको कमी आउँछ । यसले देशमा लोकतन्त्रको कार्यशैलीमा नराम्रो असर पार्दछ। लोकतन्त्र व्यक्ति तन्त्र नायकतन्त्रमा बदलिएको जनतालाई पत्तै हुँदैन। यसको समाधानकालागि कठोर कानुन एवम् स्ट्रिङ अपरेसन हुन जरुरी छ।
२. मानिसहरू बिच बढ्दो आर्थिक र सामाजिक असमानता
जनतामा सामाजिक आर्थिक असमानता धेरै छ । सबै नागरिकलाई मतदान गर्ने र चुनाव लड्ने अधिकार पाए पनि धनीले मात्र चुनाव जित्ने मौका पाउँछन्। किनभने मत एजेण्डा भन्दा पनि पैसामा बिक्ने गरेछ।
३. जातिवाद र साम्प्रदायिकता
निर्वाचनका बेला ठुलो सङ्ख्यामा मतदाताले उम्मेदवारको जात र धर्मलाई महत्त्व दिने गर्दछन् । राजनीतिक दलहरूले पनि निर्वाचनको टिकट बाँड्दा व्यक्तिको जात वा धर्मलाई ध्यानमा राख्छन् । यसो हुँदा जात वा धर्मको आधारमा निर्वाचित जनप्रतिनिधिले आफ्नो जात वा धर्मका जनताको हितमा मात्र काम गर्छन् । जसले गर्दा जातीय द्वन्द्व सृजना हुनसक्छ र लोकतन्त्रको मर्म धराशायी हुन जान्छ।
४. असामाजिक तत्वको भूमिका :
निर्वाचनको बेलामा असामाजिक तत्वको भूमिका एक्कासि बढ्दछ । मतदाताहरू कुनै खास उम्मेदवार वा पार्टीलाई भोट दिन बाध्य छन्। चुनावका बेला धाँधली पनि हुने गर्दछ।
माथि उल्लिखित बुँदाहरूबाट यो स्पष्ट हुन्छ कि यी चुनौतीहरू देशको सामाजिक विकास कुन चरणमा छ भन्ने कुरामा निर्भर गर्दछ। यी परीक्षणहरूको समाधान पनि देशको विशेष परिस्थितिमा निर्भर गर्दछ। वास्तवमा लोकतन्त्रले सामना गर्ने चुनौतीहरूको सामना गर्न पूर्वनिर्धारित कुनै पनि विधि नै छैन।
नेपालजस्ता अल्पविकसित देशमा लोकतन्त्रले सेचे अनुरूपको परिणाम ल्याउन सकेको छैन । नेपाली नागरिकहरू शान्ति, समृद्धि र कुशल लोकतान्त्रिक प्रणालीतर्फ अघि बढ्न चाहन्छन् ।
लोकतन्त्रले लगभग दुई दशक पार गरिसक्दा पनि नेपालमा स्थायित्व आउन सकेको छैन । अतः यही कारणले नेपाली जनताले लोकतन्त्र नेपालका लागि उपयुक्त छैन भन्ने निष्कर्षमा पुग्नु गलत हुन्छ किनभने हामीले लोकतन्त्रको अभ्यास पूर्वतयारका साथ गरेका थिएनौँ जसले गर्दा अझै लोकतन्त्रका लागि आवश्यक वातावरण बन्न सकेको छैन ।
लोकतन्त्रको पूर्व तयारीलाई व्यवस्था गर्दा हाम्रो राजनीतिक संरचनात्मक परिवर्तन पनि सैद्धान्तिक र साङ्केतिक प्रकृतिको मात्र हुन पुग्यो जसलाई जनताले पढ्न र सुन्न त पाए तर आफ्नै जीवनमा अनुभूत हुने गरी उपभोग गर्न पाएका छैनन्।