विश्वव्यापी जटिल समस्या बन्दै गएको लागुऔषध दुर्व्यसन निवारणका धेरै विकल्पहरू प्रयोगमा आएका छन् । त्यसमध्ये एउटा विकल्प दुव्र्यसनीहरुको लागि सुधार केन्द्र हो । लागुऔषध दुर्व्यसनले उत्पन्न गरेका अपराध, सामाजिक समस्या र युवा शक्तिको क्षयीकरणबाट मुलुकले भोग्नु परेका समस्याहरूका बारेमा धेरै चर्चा भएका छन् । कानुनी कार्यवाही, लागुऔषध नियन्त्रण र सचेतनाका कार्यक्रमहरूले मात्र दुर्व्यसनको प्रवृत्ति न्यूनीकरण नहुँदा नेपालमा सुधार केन्द्रको पछिल्लो अवधारणको विकास भएको पाइन्छ ।
किशोर, युवावयमा लागुऔषध दुव्यर्सनको मुख्य कारण मानोकांक्षाप्रति नकारात्मक दृष्टिकोणले उत्पन्न गर्ने मनोसामाजिक समस्या भएको विज्ञहरूको कथन छ। समस्या त्यही हो भने समकालीन समाज प्रतिको दृष्टिकोण बदल्न उनीहरू बिचबाटै उदाहरण देखाउनका लागि सुधारको विकल्प उत्तम मानिएको हो ।
अभिभावक र सन्तान बिच बढ्ने भावनात्मक दुरीका कारण मानसिक कुण्ठा लागुऔषध दुव्यर्सनको रूपमा प्रकटीकरण हुने गरेको अध्ययनहरूमा पाइन्छ । उक्त अध्ययन सँग धरानमा सुधार केन्द्र स्थापनाको पृष्ठभूमि गाँसिएको छ । अढाई दशक अघि २०५० सालमा लिम्बु समुदायका सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ सुनसरी जिल्ला समितिले दातृ संस्थाको सहयोगमा मातृभाषा सम्बन्धी अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा सहरीकरणका लागि खटिएकी विदेशी स्वयंसेवीकाले गरेको अनौपचारिक अध्ययनले धरानमा लागुऔषध दुर्व्यसन विरुद्ध कार्यक्रम सञ्चालन गर्न जोड दिएको थियो । कार्यक्रमको अनुगमन प्रतिवेदनमा उनले धरानमा बसोबास गर्ने भूतपूर्व सैनिकका छोराछोरीमा लागु औषध दुर्व्यसनको जोखिम बढेको उल्लेख गरेको चुम्लुङको दस्तावेहरुमा पाइन्छ ।
परिवारका मुली बेलायती सैनिक सेवामा रहेका र घरमा आमा तथा आफन्त मात्र रहेकोले उनीहरूको अवस्था अभिभावकत्वबाट टाढा एक किसिमको स्वच्छन्द भयो । त्यसबाट अभिभावक सँग उनीहरूको लगाव घट्दै गयो । चाहना, रुचिहरू पनि घर तथा अभिभावक सँग मेल नखान थालेपछि उत्पन्न मानसिक कुण्ठाले उनीहरू लागुऔषधको फस्न थालेको निष्कर्ष त्यस बेला निकालिएको थियो । त्यसलाई २०५८ सालमा चुम्लुङमा दातृसंस्था बाट कार्यरत क्यानेडेली नागरिक खलिल अहमदले ३ वर्ष लगाएर गरेको अध्ययनले पुष्टि गर्यो । उनको अध्ययन प्रतिवेदनले धरानका भूतपूर्व सैनिकका ४० प्रतिशत छोराछोरी लागुऔषधको दुर्व्यसनमा फसेको उल्लेख गर्दै धरानमा आवासीय सुधार केन्द्रको स्थापना जतिसक्दो चाँडो आवश्यक भएको सुझाव दिएको थियो ।
यसअघि नै चुम्लुङले धरानमा लिम्बु समुदाय सहितका भूतपूर्व सैनिकका छोराछोरी लागुऔषधको जोखिममा रहेकाले लागुऔषध दुर्व्यसन विरुद्ध जनचेतनाका साथै सुधार केन्द्रको काम गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार २०५२ सालमा क्यानेडियन दातृसंस्था सँग लागुऔषध निवारण सम्बन्धी ३ वर्षे कार्यक्रम गर्ने सम्झौता भएको थियो । धरानमा लागुऔषध दुर्व्यसनीको आवासीय सुधार केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको उक्त कार्यक्रम अनुसार दक्ष जनशक्ति विकास गर्न चुम्लुङबाट ३ जना तालिमका लागि छानिए । हाल किरात याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्रका निर्देशक कमल तिगेला, कार्यक्रम निर्देशक विजय लिम्बु र थिबोङसा यक्थुङबाले दुई दशक अघि त्यसै बेला काठमाडौँ स्थित फ्रिडम सेन्टरमा फादर ग्याफ्ने सँग ६ महिने तालिम लिएका हुन् ।
एक्युपञ्चर प्रविधिबाट उपचार र परामर्शबाट लागुऔषध दुव्यर्सनबाट मुक्त गर्ने दक्ष जनशक्ति तयार भए तापनि चुम्लुङ सँग साधन श्रोतको अभावका कारण आवासीय उपचारका स्थापना भने हुन सकेन । तथापि २०५२ फागुन १५ गते देखी धरान-१२ चतरा लाइनमा एक घरको तल्लो तला भाडामा लिएर चुम्लुङ सुनसरी जिल्ला समितिले पुनर्जीवन केन्द्र सञ्चालनमा ल्याएको हो । दिवा सेवाको रूपमा सञ्चालित उक्त केन्द्रमा उपचारका लागि आउनेहरू लाई सामान्य शुल्कमा उपचार र परामर्श प्रदान गरिन थालियो । उनीहरू बिहान आउँथे दिनभरि पुनर्जीवन केन्द्रमा बिताएर बेलुकी घर जान्थे । केन्द्रका घर भाडा चुम्लुङ सुनसरी जिल्ला समिति र केन्द्रीय समितिले संयुक्त रूपमा व्यहोर्दै आएको थियो । सञ्चालकहरू स्वयं सेवकका रूपमा थिए । यो दिवा सेवा निकै लामो समय सम्म चल्यो । यसले पहिलो पटक धरानमा लागुऔषध दुर्व्यसनीको उपचार पनि हुन्छ भन्ने भन्ने मान्यता स्थापित गर्यो । त्यस बेलाका मिडियामा यसलाई उदाहरणीय रूपमा निकै चर्चामा ल्याएको थियो ।
२०५४ साल तिर आएपछि नेपालमा लागुऔषध दुर्व्यसनको समस्या राष्ट्रिय तहमा चिन्ताका विषय बनेर गयो । अन्तर्राष्ट्रिय जगतमा लागुऔषध विरुद्ध प्रभावकारी कदमको खाँचो बढेको आवाज उठेपछि नेपालमा पनि सरकारले नयाँ नीति निर्माण गर्यो । कानुनी कारबाहीबाट मात्र लागुऔषधको समस्या समाधान नहुने निष्कर्ष सहित सुधार केन्द्रको अवधारणा तयार गरियो । त्यसलाई कार्यान्वयन गर्न सरकारले स्थानिय निकाय नगरपालिकाहरू सँग सहकार्य गर्ने नीति निर्माण गरेको थियो । उक्त नीति अनुसार गृह मन्त्रालयले नेपाल प्रहरी मार्फत धरानमा आवासीय सुधार केन्द्र स्थापना गर्न धरान नगरपालिकालाई प्रस्ताव गर्यो । त्यसबेला सुनसरी जिल्ला प्रहरी कार्यालयमा प्रहरी उपरीक्षक चूडाबहादुर श्रेष्ठ थिए । धरान नगरपालिकामा नगर प्रमुख मनोजकुमार मेन्याङबो थिए ।
नयाँ आवासीय सुधार केन्द्र स्थापनाका लागि पूर्वाधार र दक्ष जनशक्तिको अभाव थियो । अन्ततः जिल्ला प्रहरी कार्यालय र धरान नगरपालिका धरानमा सञ्चालनमा रहेको पुनर्जीवन केन्द्रलाई स्तरोन्नति गरी आवासीय सुधार केन्द्रको रूपमा स्तरोन्नति गर्ने निर्णयमा पुग्यो । फलस्वरुपमा चुम्लुङको जनशक्तिबाट सञ्चालन हुने गरी जिल्ला प्रहरी कार्यालय, धरान नगरपालिकाको संयुक्त सञ्चालनमा २०५४ सालमा धरान-१९ स्थित कम्पाउण्ड सहितको घर भाडामा लिएर आवासीय सुधार केन्द्र स्थापना भएको थियो । यसबिच २०५४ सालमा किरात याक्थुङ चुम्लुङले छुट्टै नियमावली बनाएर पुनर्जीवन केन्द्र समुदायमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।
आवासीय सुधार केन्द्र त्यसबेला अहिलेको जस्तो व्यवासयीक रूपमा सञ्चालन भएको थिएन । शुल्क तिरेर सुधारका लागि आउने र ल्याउने प्रचलन समेत सुरु भएको थिएन । केन्द्रमा प्रहरीद्वारा पक्राउ गरिएका दुर्व्यसनीलाई उपचार र परामर्श सेवा सञ्चालन गरिन्थ्यो । ठुलो घरको भाडा तिर्न र आवश्यक सुविधा जुटाउन समस्या थियो । त्यसै बेला देखी पुनर्जीवन केन्द्रको आफ्नै आवासीय भवन निर्माणको सम्भावना खोजी भइरहेको थियो । यसै बिच २०८५ सालमा चुम्लुङका विदेशी स्वयंसेवक खलिल अहमदको धरानमा भूतपूर्व सैनिकका छोराछोरी जोखिममा रहेको लागुऔषध सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक भयो । त्यसले भूतपूर्व सैनिक परिवारमा मात्र नभएर धरानवासीमा एक किसिमको चिन्ता र चासो बढायो ।
उक्त अध्ययन प्रतिवेदनको प्रभाव धरान र नेपालमा मात्र सीमित रहेन । बेलायती सरकार सम्म त्यसको प्रतिध्वनि पुग्यो । फलस्वरूप बेलायती भूतपूर्व सैनिकहरूको कल्याणकारी कार्यका लागि धरानमा रहेको ब्रिटिस वेल्फेयर सेन्टरले गम्भीर चासो देखायो । चुम्लुङ र नगरपालिकासँग भएको पटक पटकको छलफल पछि धरानमा स्थायी आवासीय सुधार केन्द्र भवन निर्माण गर्न वेल्फेयर सेन्टरले आर्थिक सहयोग गर्ने सहमति भयो । त्यसका लागि वेल्फेयरलाई निःशुल्क जग्गा उपलब्ध गराउने प्रतिबद्धता धरान नगपालिका प्रमुख मनोजकुमार मेन्याङले जनाए । सोही अनुसार धरान-१३ स्थित हालको पुनर्जीवन केन्द्र भवन रहेको ४ कट्ठा जग्गा नगरपालिकाबाट उनले उपलब्ध गराएका हुन् । कुल २७ लाख रुपायको लागतमा निर्माण भएको उक्त आवासीय सुधार केन्द्र निर्माणका लागि १० प्रतिशत अर्थात् २ लाख ७० हजार रुपया समुदायबाट नगद तथा जिन्सी जुटाइएको हा । उक्त भवन निर्माण समितिमा रहेर समाजसेवी सरला कायस्थ लगायतले योगदान पुर्याएका थिए ।
धरानको यो पहिलो पुनर्जीवन केन्द्र आवासीय सुधार केन्द्रको स्थापनामा उपचार तथा परामर्श सेवा लिएर समाजमा पूनस्थापना भएको युवाहरू अहिले सफल उद्यमी, व्यवसायी बनेका धेरै उदाहरणहरू छन् । आवासीय सुधार केन्द्रले दूव्र्यसनीको जीवनमा सकारात्मक परिवर्तन ल्याएका उदाहरणहरूले पछिल्लो समय अभिभावकहरू स्वयं आफ्ना जोखिममा रहेका सन्तानलाई सुधारका लागि केन्द्रमा पुर्याउने गरेका छन् । यसबाट आवासीय सुधार केन्द्र व्यवसायीक रूपमा खुल्न थालेका छन् ।
पछिल्लो समय धरान, इटहरी, विराटनगरमा सुधार केन्द्रको सङ्ख्या दर्जन पुगेको छ । यस अवस्थामा दक्ष जनशक्ति, पूर्वाधार र आवश्यक सुविधाका मापदण्डको दृष्टिकोण नयाँ खुलेका आवासीय सुधार केन्द्रहरूको अनुगमनको आवश्यकता बढेको छ । धरानमा आसरा सुधार केन्द्रको स्थापनाले गुणस्तरका सबै मापदण्डहरूलाई पारदर्शी बनाउँदै आवासीय सुधार केन्द्रको इतिहासमा नयाँ माइल खुट्टी स्थापना गर्ने विश्वास गरिएको छ ।
(पूर्वाञ्चल आसरा सुधार केन्द्र उद्घाटन समारोह २०७५ सालमा प्रकाशित स्मारिकामा छापिएको लेख । सुधार केन्द्रको पाँचौँ वार्षिकोत्सवको अवसरमा पनि सान्दर्भिक भएकोले पुनः प्रकाशित गरेका छौंः सम्पादक)