धरान : आसरा सुधार केन्द्र पानवारीको चौथो वार्षिक उत्सव मंगलबार सम्पन्न भएको छ । 

यस अघि आसरा सुधार केन्द्र रानीवारी, महाराजगन्ज, काठमाडौँको स्वामित्वमा रहेको आसरा सुधार केन्द्र धरान पानवारी अब १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको सम्पूर्ण जिम्मेवारी रहने गरी स्वामित्व हस्तान्तरण भएको छ ।

केन्द्रको प्राङ्गणमा मंगलबार भएको एक विशेष समारोहका बिच कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती सिर्जना थापाले पानसमा दीप प्रज्वलन गरी बिधिवत रूपमा उद्घाटन गरेकी थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घकी अध्यक्ष श्रीमती सिर्जना थापाले दुव्र्यशनीमा फसेका युवा पीढीलाई उपचार, परामर्श तथा पुनर्स्थापना मार्फत पुनर्जीवन प्रदान गरी समाजको एक प्रतिष्ठित नागरिकको रूपमा पुनर्स्थापना गर्ने कार्य गर्दै आएको आसरा सुधार केन्द्रले आगामी दिनमा थप व्यवस्थित तरिकाले प्रभावकारी रूपमा अगाडी बढ्नु पर्ने बताइन् । थापाले केन्द्रका कर्मचारी तथा विभिन्न खेलकुद विधामा प्रथम भएका उपचाररत सदस्यहरूलाई प्रशंसा पत्रले सम्मान गरिन् ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्र.ना.म.नि. अरुण कुमार बिसी, पूर्व प्रहरी नायव महानिरीक्षक ज्ञान विक्रम साह, आसरा सुधार केन्द्र धरानका सञ्चालन समितिका सदस्यले शुभकामना तथा मन्तव्य राखेका थिए ।

आसरा सुधार केन्द्रका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालको सभापतित्वमा सम्पन्न चौथो वार्षिकोत्सवको अवसरमा उपचाररत सदस्यहरूले गायन तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घ, प्रदेश प्रहरी श्रीमती सङ्घका पदाधिकारीहरू, सञ्चालक समितिका पदाधिकारीहरू, केन्द्रका आजीवन सदस्यहरू, स्थानीय जनप्रतिनीधीहरु, सुरक्षा निकायका पदाधिकारीहरू र प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।