धरान: लागूऔषध दुर्ब्यर्सन मुक्त समाज बनाउने उद्देश्यले आसरा सुधार केन्द्रको धरान शाखा चैत १ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

नेपाल प्रहरी श्रीमति संघद्वारा सञ्चालित केन्द्रले धरान-६ पानवारीको मार्गे चौरीमा शाखा विस्तार गरेको हो । आसराको यो भवन धरानबासी तथा दाताहरुको सहयोगमा २ करोड ३७ लाखको लागतमा निर्माण सम्पन्न भएको भवन निर्माण समितिका सचिब सरोज श्रेष्ठले बताए । केन्द्रको उद्घाटन प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालबाट हुनेछ । ‘आवास सुविधासहितको तीन तल्लाको भवन तथा सम्पूर्ण फर्निचरका सामानहरु गरी २ करोड ३७ लाखमा निर्माण सम्पन्न भएको हो,’सचिव श्रेष्ठले भने, ‘चैत्र १ गते प्रहरी महानिरीक्षकबाट उद्घाटन हुन्छ ।’

भवनमा आवास कक्ष, बैठक कक्ष, कार्यालय कक्ष, जीम, योग तथा कक्षा सञ्चालन हल, पुस्तकालय, परामर्श कक्ष, उपचार कक्ष, कार्यक्रम हल, किचन डाइनिङ हल, टिभी रुम, शौचालय, बाथरुमलगायत उपलब्ध छन् । दुर्ब्यर्सनीको सुधारको लागि बनाइएको यो नै पहिलो सुविधा सम्पन्न भवन भएको निर्माण समितिका संयोजक मनोज कुमार मेन्याङबोले बताए । करिब २ सय जनालाई राखेर उपचार गर्ने क्षमता भएको उनको भनाइ थियो । प्रहरी र जनताको प्रत्यक्ष सहभागितामा सुधार केन्द्रको निर्माण गरिएको बताउदै यसमा जनताको पनि भुमिका रहनुपर्ने उनले बताए । ‘प्रहरी र जनताको संयुक्त सहयोगमा निर्माण भएको हो, जनताको पनि सहभागीता हुन जरुरी छ,’उनले भने,‘एसएसपी सावको अध्यक्षतामा सञ्चालन समिति निर्माण भएको छ, यसमा ४९ प्रतिशत जनताको तर्फबाट पनि सहभागीता छ ।’

S7630045

काठमाडौको रानीबारीमा सञ्चालित आसरा सुधार केन्द्रमा मासिक प्रतिव्यक्ति १६ हजार लिइने गरिएको सञ्चालक समितिका सदस्य सचिब प्रहरी निरीक्षक रामजी कट्वालले जानकारी दिए । तर, धरान शाखामा भने मासिक प्रतिव्यक्ति १५ हजार मात्र तोकिएको उनको भनाइ थियो । चार महिनामा एक दुर्ब्यर्सनीले ६० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । स्थानीय सरकारले सिफारिस गरेका विपन्न दुर्ब्यर्सनीको हकमा १० प्रतिशतसम्म छुट गर्ने प्रावधान रहेको उनले बताए । ‘काठमाडौ भन्दा १ हजार कम मासिक शुल्क तोकिएको छ,’उनले भने,‘स्थानीय सरकारले सिफारिस गरेको विपन्नलाई १० प्रतिशतसम्म छुटको व्यवस्था छ ।’

पाचकन्या सामुदायिक बन उपभोक्ता समूहको संरक्षणमा रहेको करिब ७ कठ्ठा जग्गा र धरान–२ निवासी रामहरी हाडाले १८ दशमलव ५ धुर जग्गा उपलब्ध गराएको जम्मा ७ कठ्ठा १८.५ धुर क्षेत्रफलमा आसरा फैलिएको छ । धरानसहित पुर्वका विभिन्न जनताको प्रत्यक्ष सहयोगमा निर्माण गरिएकोले शुल्कमा केही प्रतिशत छुटको व्यावस्था गर्ने मेन्याङबोले बताए । ‘सञ्चालन गर्नको लागि हामी केही डिस्टर्व गदैनौं किनकी यसको सञ्चालनको जिम्मा प्रहरीलाई नै छ,’उनले भने,‘तर, पोलिसी मेकिङको कुराहरुमा जनताको तर्फबाट हामी पनि छौ ।’

सुधार केन्द्र सचालनको लागि संघीय प्रहरी इकाइ कार्यालय धरानका एसएसपी सरदकुमार खत्रीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ । सुधार केन्द्रको सुरक्षार्थको लागि प्रहरी निरीक्षकको कमाण्डमा २० जना प्रहरीहरु रहने बताइएको छ । निर्माण गर्न पर्ने बाँकी योगा हल, डाइनिङ हल, स्पोष्टर्स एरिया, प्रतिक्षालय, कर्मचारी अवास, परामर्श दाता कोठा र ट्रेनिङ हल रहेको बताइएको छ । आवश्कता अनुसार पोष्टीक आहार, पारीवारीक परामर्श, सामाजिक कार्यमा सहभागीता, पारिवारीक भेटघाट र आवश्यक शारिरीक व्यायामका क्रियाकलापहरु गराइने प्रनि कट्वालले बताए । मनोसामाजिक लेखाजोखा, शारिरीक जाँच पश्च्यात ४ महिनाको लागि भर्ना गरिने उनको भनाइ थियो । यस केन्द्रमा हाललाई १ सय जनलाई मात्र भर्ना गरिने र नाम टिपाउने काम चलिरहेको बताए ।

गम्भीर प्रकारको रोग लागेको र कुनै सरुवा रोग लागेकोलाई भर्ना नलिने समेत बताए । स्वास्थ्य उपचारको लागि केन्द्रमा २४ सै घण्टा हेल्थ असिसटेन्ट (एचए) र सिएमए दुई जना रहने छ । प्रत्येक हप्ता चिकित्सकीय सेवा चेक जाँचहरु गरिने छ । खानाको रुटिन अनुसार दैनिक खुवाइने समेत बताइएको छ । आसराको पानवारी शाखा भवन निर्माण गर्नको लागि २५ हजार भन्दा माथी सहयोग गर्नेलाई आसरा सुधार केन्द्रको आजीवन संस्थापक सदस्य प्रदान गरिएको छ । हालसम्म ३ सय ३७ जना संस्थापक सदस्य रहेका छन् ।

यस्तो छ, सञ्चालक समिति

संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रमुखको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति रहनेछ । समितिको सदस्यहरुमा जिल्ला प्रहरी प्रमुख एसपी, १ नम्बर प्रदेश प्रहरी कार्यालय, विरानगरबाट एसपी, इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रहनेछन् । त्यसैगरी, धरानबासीको तर्फबाट हाल धरान-७ का सरोज श्रेष्ठ, धरान-१५ की शिला बज्राचार्य, सुनिता केसी र धरान–१२ का गोपाल श्रेष्ठ रहेका छन् । सदस्य सचिवमा प्रहरी निरीक्षक रामजी कट्वाल रहेका छन् ।

यस्तै, सल्लाहकाहरुमा पदेन धरान उपमहानगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, वडा नं ६ का अध्यक्ष रहने व्यवस्था छ । सुधार केन्द्रको संरक्षकमा १ नं प्रदेश प्रहरी प्रमुख डिआइजी, प्रदेश प्रहरी महिला संघकी अध्यक्ष र मानार्थ सदस्यमा भवन निर्माण समितिका संयोजक मनोज कुमार मन्याङबो रहेने व्यवस्था गरिएको छ ।