इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सरकारले विश्वासको मत दिने प्रक्रिया सुरु गरेको छ । असार १५ गते सम्म विश्वासको मत लिइसक्नुपर्ने बाध्यात्मक अवस्थामा रहेका मुख्यमन्त्री कार्कीले १४ गते नै प्रक्रिया सुरु गरेका हुन् ।

१४ गते बिहीबार बसेको प्रदेशसभाको बैठकमा दलका नेताहरूले सरकारको काम कारबाही बारे प्रश्न गरेका छन् । विश्वासको मत दिने वा नदिने भन्नेबारे ठुला दलहरूले धारणा प्रष्ट पारेका छन् । पक्षमा नेकपा एमाले र राप्रपा छन् भने विपक्षमा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र छन् । जनता समाजवादी पाटीले भने तटस्थता देखाएको छ । सभामुखले बोल्ने समय दिँदा समेत जसपा सांसद निर्मला तावा (लिम्बु) मौन भइन् । 

नेपाली काँग्रेस संसदीय दलका नेता उद्धवबहादुर थापाले ६ महिनाको अवधिमा प्रदेश सरकारले प्रतिपक्षी नदेखेको धारणा राखे । काँग्रेस प्रतिपक्षमा रहेर पनि सरकारकै भूमिका जस्तो गरेर ६ महिना बिताएको र सरकारलाई सहयोग गरेको उनले बताए । यो सरकारले विश्वासको मत नपाउने बताउँदै उनले राजीनामा गरेर मार्ग प्रशस्त गर्न मुख्यमन्त्रीलाई आग्रह गरे । 

माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले राजनीतिक परिस्थिति बदलिएपछि नयाँ निर्णयमा पुगेको बताए । मुख्यमन्त्रीले सरकार चलाउन जानिन भनेर राजीनामा दिनु नै उपयुक्त विकल्प हुने धारणा राखे ।

नेकपा एसका दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले कार्की नेतृत्वको सरकारले सरकार चलाउन ढङ्ग नपुर्‍याएको भन्दै समर्थन गर्न नसकिने बताए ।

एमाले सांसद लिलाबल्लभ अधिकारीले अर्को सरकार बन्ने अवस्था नरहेकाले सबै दलले यही सरकारलाई समर्थन गरेर अघि बढ्नुपर्ने बताएका छन् । प्रदेशमा एमाले र राप्रपा मिल्दा ४६ र विपक्षी गठबन्धनमा पनि ४६ सांसद रहेकाले अर्को सरकार बन्ने अवस्था नरहेको उनको भनाइ छ । सरकारको समर्थन गर्दै राप्रपाका नेता अम्बरबहादुर विष्टले सरकारलाई विश्वासको मत दिएर स्थायित्वको अभ्यास सुरु गर्न आग्रह गरे ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्दै प्रदेशसभामा रहेका कोही पनि पार्टीहरू मध्यावधिमा जान सक्ने अवस्था नरहेको बताए । वर्तमान सरकार ढालेर अर्को सरकार गठनको अवस्था नरहेको उनको धारणा छ ।

प्रदेश सभामा काँग्रेस, जसपा, माओवादी र नेकपा एसका ४६ सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ । एमाले र राप्रपा मिल्दा पनि ४६ नै सांसद पुग्छन् । जसपाले बिहीबार तटस्थता देखाएको कारण कसलाई मतदान गर्छ भन्ने बुझिएको छैन ।

जसपाले प्रदेशमा एमालेलाई समर्थन गर्दा सङ्घीय सरकारमै असर पुग्ने प्रष्ट छ । जसपाले एमाले नेतृत्वको सरकारलाई समर्थन गरे कार्की नेतृत्वको सरकार निरन्तर हुने देखिन्छ । विश्वासको मत पाउने अवस्था नरहे राजीनामा दिन सक्ने मुख्यमन्त्रीको तयारी छ । दुवै तर्फबाट बराबर मत भएको अवस्थामा सभामुखले निर्णायक मतदान गर्न पाउने व्यवस्था छ ।