- अनुसा थापा
सर्वसाधारण नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई सोध्छन्, ‘तपाईँले बैङ्क खोल्न प्रमाणपत्र मात्र दिने हो कि बैङ्क डुब्यो भने बचतकर्ताको पैसाको जिम्मा पनि लिने ?’ सहकारी विभागले धमाधम सहकारी दर्ता गर्यो तर नियमन गरेन ? जसले गर्दा आज लाखौँ बचतकर्ताको खर्बौँ रुपैयाँ डुबेको छ ।
उनीहरूको ‘चिल्लीबिल्ली’ भएको अवस्था छ । ३५ हजार २३९ वटा सहकारीको दर्ता विभागले गरेको हो । प्रमाणपत्र दिने पनि विभाग नै हो । तर, अहिले विभागले वास्ता गरेको छैन । बचतकर्ताहरूको रुवाबासी चलेको छ तर विभाग मौन बसेको छ । खर्बौँ रुपैयाँ बचतकर्ताको सहकारीमा फसेको छ यद्यपि, विभाग पन्छियो ।
विभागले आँखा चिम्लेर इजाजत नदिएको भए आज बचतकर्ता आफ्नै पैसाका लागि सङ्घर्ष गर्नुपर्ने दिन त आउँदैनथ्यो । सहकारी किन डुब्यो ? यो घामजस्तै छर्लङ्ग छ । सञ्चालकको बदमासी र अन्धाधुन्ध लगानीका कारण सहकारी बाउँडिनै नसक्ने अवस्थामा पुग्यो । बचतकर्ताको पैसामा सहकारी सञ्चालकले मनोमानी गरे ।
जसले गर्दा सहकारी माथिको विश्वास उठेको छ । राष्ट्र बैङ्कले इजाजत त दिएको छ तर कहिले नियमन गरेको छ ? कि सरकारको लाइसेन्स बाँड्ने मात्र काम हो ? सर्वसाधारणको पैसाप्रति सरकार जिम्मेवार हुनुपर्दैन ? बैङ्कले सर्वसाधारणबाट पैसा उठाइरहेको छ तर त्यो कहाँ लगानी गरिएको छ ? कसैलाई थाहा छैन ।
डिपोजिट लिने र मनलाग्दी लगानी गर्ने कार्य बैङ्कहरूले गर्दै आएका छन् । तर, सरकार पनि बैङ्कहरूप्रति नरम छ । हुन त राष्ट्र बैङ्कको गभर्नर पद राजनीतिक दलका कार्यकर्ता भर्ती गर्ने थलो बनेको छ । कार्यकर्ता जहिले पनि पार्टीको इसारामा चल्छ । पार्टीले जे भन्छ, उनले त्यही गर्छन् ।
नेकपा एमालेका भक्त उनी कहिले पनि बचतकर्ताप्रति जिम्मेवार देखिएका छैनन् । अटोशोरुम सञ्चालकले जे भन्छन्, त्यही गर्छन् । सेयर दलालीहरूको माग पूरा गर्छन् ।
व्यवसायीकै हितमा काम गर्नमा उनी मन्त्रमुग्ध छन् । अर्थमन्त्री डा. प्रकाश शरण महत र गभर्नर अधिकारीले कर्जा लगानीको क्षेत्र नै सेयर, गाडी र घरजग्गा देखेका छन् ।
उनीहरूले यी तीन क्षेत्रमा लगानी गर्न बैङ्कहरूलाई निर्देशन दिइरहेका छन् । सहकारी यही क्षेत्रमा लगानी गर्दा डुब्यो भन्ने देख्दादेख्दै पनि बुझ पचाउनु कतिसम्म लाजमर्दो कुरा हो ? सहकारीका बचतकर्ता डुबेडुबे, अब बैङ्कका बचतकर्ता डुबाउन खोजेको ? सरकारले घरजग्गा, सेयर र गाडी दलालीलाई फाइदा हुने निर्णय मात्र गर्दै आएको छ ।
तर, राज्य र जनतालाई यहाँबाट के फाइदा भएको छ ? देशको अर्थतन्त्र घरजग्गा, गाडी र सेयर कारोबारले होइन, उद्योग, कलकारखाना र आफ्नो उत्पादनले बलियो बनाउँछ । बैङ्कले एउटा पाउरोटी कारखानामा मात्र लगानी गरिदियो भने पाँच-छ जनाले रोजगारी पाउँछन् ।
राज्यलाई राजश्व आउँछ । एउटा सामान भएपनि मुलुकको आफ्नै उत्पादन हुन्छ । सेयर, घरजग्गा र गाडीमा कर्जा लगानी गर्दा कसले रोजगारी पाउँछन् ? अहिले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ह्वात्तै बढेको छ । विमानस्थलमा नेपालीको बलिन्द्र आँसु बगिरहेको छ ।
यो अवस्था किन आयो ? देश किन व्यापार घाटामा गइरहेको छ ? सरकारमा बस्नेहरूले कहिले मनन गरेका छन् ? उद्योग, कलकारखाना केही छैन । सरकारले देशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने र युवालाई यही रोक्नुपर्ने बताउँदै आएको छ । तर, कसरी रोक्ने ? केही रणनीति छ ?
उद्योग, कलकारखाना भए त रोजगारी पाउने हो । घरजग्गामा लगानी गरेर कसले रोजगारी पाउँछ ? उल्टै कृषक पनि बिदेसिनु परेको छ । कृषिप्रधान देश अहिले युवा निर्यात गर्ने देशमा परिणत भएको छ । नेपालीले बाहिर गएर पठाएको रेमिट्यान्सले व्यापार घाटा समेत पूर्ति गर्न भ्याउँदैन ।
हामी कुन अवस्थामा छौँ ? भन्ने कुराबारे गहन अध्ययन गर्न जरुरी भएको छ । केही सीमित व्यवसायीको पछाडि लागेर देश सकाउन भएन । सरकारमा बस्नेहरू यति ‘भुस’ छन् कि के भन्ने ? सोच्ने सक्ने दिमाग नै छैन । रेमिट्यान्सको पैसाले कतिन्जेल अर्थतन्त्र धान्छ ? सधैँ नेपालीलाई भेडाबाख्राझैं बेचेर पनि भएन ।
पर्यटन क्षेत्रमा राम्रो सूचक देखिएको सरकारको भनाइ छ । पर्यटक आउने क्रम पनि बढेको सरकार बताउँछ । तर, यसमा खुसी हुनुपर्ने कुरा छैन । किन कि पर्यटकले यहाँ खर्च गरेभन्दा यहाँबाट लैजाने धेरै छन् । पढ्ने नाममा नेपालीले खर्बौँ रुपैयाँ लगेका छन् । यसको लेखाजोखा कसले गर्छ ?
पहिले लाखौँ खर्च गरेर जान्छन्, त्यसपछि यहाँ भएको जायजेथो पनि बेचेर लैजान्छन् । अनि हामी पर्यटक आयो भनेर मक्ख पर्ने कि देशको पैसा गयो भनेर दुःखी हुने ?
एकातिर हामीले युवा जनशक्ति गुमाइरहेका छौँ, अर्कोतिर नेपाली पैसा पनि अरू नै मुलुकले लगिरहेका छन् । राष्ट्र बैङ्कले बैङ्कमा पैसा थुप्रिएको बताउँदै आएको छ ।
तर, कति पैसा थुप्रियो ? बैङ्कले कहाँकहाँ लगानी गरेको थियो र कति उठ्यो ? कहाँ गएर पैसा फ्रिज भएको छ ? व्यापारी नामका बिचौलियाहरूले कर्जा चुक्ता गरेका छन् कि छैनन् ? यसको विवरण त राष्ट्र बैङ्कसँग पनि नहोला । बैङ्कले डिपोजिटवालालाई ब्याज दिनैपर्छ । बैङ्कको आफ्नै खर्च छ ।
अनि पैसा थुप्रिएको भनेर मक्ख पर्नुपर्ने कुनै कारण नै छैन । कर्जा लगानी नभएपछि बैङ्कको आम्दानीको स्रोत के ? सर्वसाधारणले बैङ्कमा कर्जा लिन जान छाडेका छन् । चाँडो नाफा कमाउनका लागि बैङ्कले केसम्म गरेन ? बैङ्कहरू मीटरब्याजी हुन् भन्ने कुरा त सबैले थाहा पाइसकेका छन् ।
बैङ्कहरूको दादागिरीले सीमा नाघिसकेको थियो । बैङ्कको कारणले कतिपयले आत्महत्या समेत गरे । धेरै सडकछाप भए । बैङ्क सर्वसाधारणको जीवन उकास्ने होइन, तहसनहस बनाउने थलो बन्यो । सेवाशुल्कका नाममा लाखौँ रुपैयाँ खाइदिने, तीन किस्ता नतिर्ने बित्तिकै धितो पचाइदिने लगायतका कार्य बैङ्कले गर्यो ।
गरिबले कहिलेपनि बैङ्कबाट कर्जा पाएनन् । ऋणीको घरमा गुण्डा पठाउने सम्मका काम बैङ्कहरूले गरे । कौडीको मोलमा आफ्नो सम्पत्ति गुमाएका अनगिन्ती छन् । बैङ्कको टर्चर सहन नसकेर भक्तपुरको मध्यपुर थिमीमा एक जनाले आफ्नो परिवार नै सखाप पार्यो । ऊ आफू पनि मर्यो, छोरा र श्रीमती पनि मार्यो ।
केही वर्षअघि एक जना व्यक्तिले बैङ्ककै कारण आफू पनि त्रिशूलीमा हाम्फाले, परिवारका सदस्यलाई पनि हाम फाल्न लगाए । योभन्दा दर्दनाक घटना के होला ? धितो पनि खाइदिने, टर्चर पनि दिने । मान्छेको ज्यानभन्दा ठुलो के होला ? बाउले ऋण लिएको थियो, सन्तानसम्मलाई मार्यो ।
तर, त्यस्ता बैङ्कलाई कारबाही भयो ? सरकारले पनि सर्वसाधारणलाई मात्र च्याप्छ । बैङ्कले जे गरेपनि छुट छ । सेवाको भाव बैङ्कमा कहिले देखिएन । सर्वसाधारणलाई फसाउने, घुस खाने अनि मनलाग्दी ब्याज लिने । बैङ्कहरूको उद्देश्य जसरी पनि धितो खाने हो । बैङ्कहरू नाफा कमाउने होडमा हुँदा सर्वसाधारणले साह्रै सास्ती पाए ।
बैङ्कका सञ्चालक, कर्मचारीले आफ्नो पैसा लगानी गरेका होइनन् । बैङ्क एउटा माध्यम मात्र हो । बचतकर्ताबाट आठ प्रतिशतमा पैसा ल्याउने अनि त्यही पैसा १८ प्रतिशतमा लगानी गर्ने । भन्नलाई १८ प्रतिशत हो, हिसाब गर्ने हो भने कति हो कति ? यता पनि ठग्ने, उता पनि ठग्ने ।
बैङ्कका कारण एक जना बस्नेत थरका व्यवसायी सडकमा आए । उनी ‘घर न घाट’ को भए । बैङ्कले अर्बौँ रुपैयाँ कर्जा दियो, पछि उनको सबै जायजेथो खाइदियो । अहिले ठूल्ठूला व्यवसायीले बैङ्कबाट कर्जा लिएका छन्, तिनीहरू पनि नडुब्लान् भन्न सकिँदैन । बैङ्कको घरजग्गा, शेयर र गाडीमा कर्जा लगानी छ ।
यो क्षेत्रमा पूरै मन्दी आइसकेको छ । यस्तै अवस्था रह्यो भने बैङ्क टाट पल्टिन्छ, बचतकर्ता डुब्छन् ।