• अनुसा थापा

वैशाखदेखि भदौ बर्सातको मौसम हो । यो अवधिमा सबैभन्दा धेरै पानी पर्छ । जुनसुकै भूभागमा पनि यो बेला बर्सात हुन्छ । खोलाहरूमा भल आउँछ । त्यसै गरी यति बेला मुलुकभरका सर्वसाधारणको आँखामा आँसुको भल बगेको छ । सहकारी संस्थाहरूले बचतकर्तालाई धरधरी रुवाएका छन् ।

पैसा डुबेको चिन्ताले गर्दा उनीहरूको आँखाबाट नरोकिने गरी आँसु बगेको छ । भुरादेखि बुढासम्मको पैसा सहकारीले खाइदिएको छ । ब्याज आउँछ, बुढेसकाललाई हुन्छ भनेर सर्वसाधारणले सहकारीमा पैसा राखे । घरजग्गा बेचेर, जिन्दगीभरको कमाइ, विदेश बसेर कमाएको र जागिरबाट अवकाश हुँदा आएको पैसा बचत गरेका थिए ।

जुन सहकारीले झ्वाम्म पारिदियो । देशैभरि ३५ हजार २३९ वटा सहकारी दर्ता छ । यी सहकारीले करोडौँ बचतकर्ताको ३७ खर्ब रुपैयाँ झ्याम्म बनाइदियो । पाँच हजारदेखि १४ करोड रुपैयाँ डुब्ने बचतकर्ताहरू छन् । उनीहरू अहिले निकै तनावमा छन् । सहकारीले पैसा खाइदिएपछि चिन्ताले पिरोलिएका कतिपय बचतकर्ताको हार्ट अट्याक भएर ज्यान गएको छ ।

कतिपयले आत्महत्याको बाटो रोजेका छन् । अधिकांश सहकारी भागिसकेको छ । नभागेको सहकारीले पनि बचत फिर्ता गर्न सकेको छैन । सहकारीमा बचतकर्ताले पैसा राख्न छोडिसकेका छन् । सहकारीमाथि अब विश्वास गर्न सकिँदैन भन्ने कुरा आम सर्वसाधारणले बुझिसकेका छन् ।

सबैलाई आफ्नो पैसा निकाल्नु छ तर सहकारीले दिँदैन । कार्यालय खुलेका सहकारीहरूले पनि झुलाउने र अलमलाउने काम गरिरहेको छ । किन कि ती पनि भाग्ने मौका खोजेर बसेका छन् । सहकारी सञ्चालित घरका धनीहरू पनि अहिले तनावमा छन् । घरमा मान्छेको ओइरो लाग्दा उनीहरूको सातो जान्छ ।

घर तोडफोड हुने हो कि भनेर डराएका घरधनीहरू घर खाली गरिदिन आग्रह गर्दै पालिका गुहारिरहेका छन् । पैसा नपाएपछि बचतकर्ताले कार्यालयमा भएको सामान उठाउन सुरु गरिसकेका छन् । बाहिर बोर्ड झुन्डाएको छ, तर भित्रचाहिँ ताला ठोकेको हुन्छ । दुई वर्षअघि हामी यहीको बासिन्दा हो, हामी भाग्दैनौँ भन्नेहरू लुकेर हिँडेका छन् ।

अध्यक्षहरू सम्पर्कविहीन भएका छन्, कर्मचारी लुकीछिपी हिँडेका छन् । हिजो बढी ब्याज दिन्छु भन्ने प्रलोभन देखाएर सहकारीले बचतकर्ताबाट पैसा उठायो । अहिले न मर्दापर्दा पैसा दिन्छ न बिरामी भएर अस्पताल भर्ना हुँदा । सहकारीले पैसा नदिँदा किरिया गर्नसमेत समस्या परेको समाचारहरू बाहिरिइरहेका छन् ।

धेरै सहकारीका सञ्चालक जेल चलान भएका छन् । कतिपय देश छोडेर भागिसकेका छन् । नभागेका सहकारीमा पैसा माग्न जाँदा शेयर, गाडी र घरजग्गा लिनुस् भन्छन् । बैङ्कले एक सय रुपैयाँ कित्तामा निकालेको शेयरलाई पाँच हजार भन्छन् । एक लाख रुपैयाँ नपर्ने गाडी र जग्गाको मूल्य लाखौँ राखिएको छ । 

उनीहरूको मूल्यमा शेयर, गाडी र घरजग्गा लिइदिनुपर्ने रे । सहकारीहरू अझैपनि बचतकर्तालाई ‘उल्लु’ बनाएर ठग्ने चाल चलिरहेका छन् । हिजो २२ प्रतिशतसम्म ब्याज दिने सर्तमा बचत गर्न लगाए, अहिले उनीहरूको रेटमा शेयर, गाडी र घरजग्गा लिनु भन्छन् । काठमाडौँमा बचत गर्नेलाई रामेछाप, इलामलगायतका स्थानको जग्गा लिन दबाब दिइरहेका छन् ।

आफ्नो रेटमा लिए त्यही जग्गा लिनु, नत्र भए पैसा माया मार्नु भन्न खोजेका छन् । सर्वसाधारणको आँखामा सबै सहकारी ‘ठग’ बनेका छन् । सहकारीले बचतकर्तालाई ‘मर्नु न बाँच्नु’ बनाइदिएको छ । तर, मन्त्रीहरू चाहिँ तिनकै कार्यक्रममा अतिथि बन्न पुगेको देखिन्छ ।  सहकारी मन्त्री रञ्जिता श्रेष्ठ, अर्थमन्त्री डा प्रकाश शरण महत सहकारीको कार्यक्रम उद्घाटनमा गइरहेका हुन्छन् ।

सहकारीले बचतकर्तालाई ‘घर न घाट’ को बनाउँदा मन्त्रीहरू तिनको कार्यक्रम उद्घाटन गर्न पुग्नु लज्जास्पद कुरा हो । पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जीवी राईविरुद्ध सिन्धुलीका युवराज सफलले केही दिनअघि सहकारी ठगीको उजुरी दर्ता गरेका छन् ।

उनले दोषीहरूमाथि कारबाही गर्न माग गरेका छन् । तर, सहकारी विभागले अहिलेसम्म सीआईबीलाई पत्र लेखेको छैन । विभागले नै सहकारी ठगीका आरोपीहरूलाई बचाइरहेको बचतकर्ताहरूको आरोप छ । बचतकर्ताहरू यति बेला राज्य संयन्त्रमाथि आक्रोशित भएका छन् । लाखौँ बचतकर्ताको बिल्लिबाठ हुँदासमेत सरकार हात बाँधेर बसेको छ अनि बचतकर्ता आक्रोशित हुनु स्वाभाविकै छ ।

अब पनि सरकार नतात्ने हो भने आफूहरूले नै सहकारी सञ्चालकहरूलाई कारबाही गर्ने बचतकर्ताहरू बताउँछन् । कतिपय सहकारीका कर्मचारीहरूले बजारबाट पैसा उठाउने कार्य रोकेका छैनन् । कार्यालय बन्द भइसकेको छ तर उनीहरू पैसा उठाएर खाइरहेका छन् । सहकारीमा पैसा नराख्न भनी सरकारले अहिलेसम्म सार्वजनिक सूचना जारी गरेको छैन ।

स्थानीय पालिकाहरू पनि बचतकर्तालाई सचेत गराउन र उनीहरूको समस्या समाधान गर्नमा चासो देखाएका छनन् । विज्ञापन बोर्ड पनि यो विषयमा मौन बसेको छ । सहकारी पीडितहरू दिनदिनै विभाग धाइरहेका छन् । विभागमा दिनहुँ भीड हुने गरेको छ । उनीहरू आउँछन्, सरकारलाई आफ्नो गुनासो सुनाउँछन्  ।

तर, सरकारले वास्ता गर्दैन । एउटा कानबाट सुन्ने र अर्को कानबाट उडाउने कार्य भइरहेको छ । सहकारी डुबेको दुई वर्ष भइसकेको छ । तैपनि सरकारलाई मतलब छैन । दुई वर्षदेखि बचतकर्ता पीडा खेपेर बसेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  ले सहकारीमा देखिएको समस्या समाधानका लागि पटकपटक निर्देशन दिइसकेका छन् ।

प्रधानमन्त्रीले सहकारी मन्त्री श्रेष्ठ र अर्थमन्त्री महतलाई सहकारीको समस्या समाधानका लागि आवश्यक कार्य गर्न भनेपनि उनीहरूले अटेर गर्दै आएका छन् । यसले सहकारी मन्त्री श्रेष्ठ र अर्थमन्त्री महत बचतकर्ता डुबाउने सहकारीको पक्षमा छन् भन्ने कुरा स्पष्ट हुन्छ । सरकारले चैत मसान्तभित्र बचतकर्ताको पैसा फिर्ता गर्न निर्देशन दिइसकेको छ ।

कानुन बनेर राजपत्रमा समेत प्रकाशित भइसकेको छ । बचत फिर्ता नदिने सहकारीको विरोधमा उजुरी दिन सरकारले आह्वान गरेको छ । तर, अहिलेसम्म उजुरी लिनेबाहेक खासै प्रगति भएको छैन । कतिपय सहकारी सञ्चालकले बचतकर्तालाई फकाउने, अल्माउने र थम्थमाउने काम गरिरहेका छन् ।

उनीहरूले उजुरी हाल्न दिइरहेका छैनन् । सहकारीको सबै लगानी घरजग्गा, शेयर र गाडीमा छ । यी क्षेत्रमा पूरै मन्दी आइसकेको छ । अब यिनीहरूले बचतकर्ताको पैसा कसरी फिर्ता गर्छन् ? सहकारी चल्दैन भन्ने कुरा सर्वसाधारणले थाहा पाइसकेका छन् । सरकारले अब सहकारीको दर्ता खारेज गरिदिनुपर्छ ।

सहकारीका सञ्चालकलाई कानुनको दायरामा ल्याउनुपर्छ र तिनको सम्पत्ति बेचेर बचतकर्ताको पैसा फिर्ता गरिदिनुपर्छ । सहकारीको ठगी धन्दाले सीमा नाघिसकेको छ । सरकारबाट केही हुनेवाला छैन, अब बचतकर्ता नै ‘एक्सन’ मा उत्रिनुपर्छ । सहकारी ठगहरूलाई राजनीतिक पार्टीकै संरक्षण छ ।

राजनीतिक दलका कार्यकर्ताहरूले नै सहकारी खोलेर सर्वसाधारण ठगेको पुष्टि भइसकेको छ । सहकारी मन्त्री श्रेष्ठले कि धमाधम सहकारी सञ्चालकलाई कारबाही गर्न निर्देशन दिनुपर्‍यो कि नैतिकताको आधारमा राजीनामा दिनुपर्‍यो । बचतकर्तालाई रुवाएर उनी पदमा बस्न सुहाउँदैन ।

विभागमा महानिर्देशक आएको महिनौँ बितिसकेको छ । तर, उनले अहिलेसम्म एउटा पनि सहकारी समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई पत्र लेखेका छैनन् । न सीआईबीलाई नै लेखेका छन् । सहकारी सञ्चालकहरू जोगिन निरन्तर मन्त्रालय र विभाग धाइरहेका छन् । सहकारीलाई समस्याग्रस्त हुनबाट रोक्न र समस्याग्रस्त घोषणा गरिसकेकालाई कालोसूचीबाट हटाउन सहकारी सञ्चालकहरू लागेका छन् ।

सहकारी डुब्नु राज्य सञ्चालकहरूका लागि ‘दुहुनो गाई’ जस्तै भएको छ । बुढापाकाले भन्थे, ‘एउटा नबिग्रीकन अर्को सप्रिदिन ।’ सहकारीका बचतकर्ता डुबे, मन्त्री र महानिर्देशक मोटाए ।