• अनुसा थापा

बाटोमा हिँड्दा ‘कोठा खाली’, ‘सटर भाडामा’, ‘फ्ल्याट बिक्रीमा’, लगायत लेखिएका पोस्टर छ्यापछ्याप्ती देखिन्छन् । चाहे त्यो सडक छेउछाउकै घरमा होस् या भित्री गल्लीहरूमा । राजधानीको मुख्य सहर इन्द्रचोक, पुतलीसडक, न्यूरोड, ठमेल, लाजिमपाट, क्षेत्रपाटी, सामाखुशी, कलंकी, बालाजु, बसुन्धारा जस्ता ठाउँमै कोठा, सटर र फ्ल्याट खाली देखिन्छन् ।

उपत्यकामा काठमाडौँ, ललितपुर र भक्तपुर पर्छन् । तर, राजधानीमै धमाधम घर खाली हुँदा ललितपुर र भक्तपुरको अवस्था पनि उही छ । झन् अन्य जिल्ला वा ठाउँको हालत के होला ? काठमाडौँ उपत्यकासँगै जोडिएका अधिकांश जिल्लाहरूमा कोठा, सटर र फ्ल्याट खाली भएका छन् । अहिले कोठा, सटर र फ्ल्याट छोड्नेको सङ्ख्या ह्वात्तै बढेको छ ।

घरहरू दिनहुँ खाली हुँदै गएका छन् । र, घरधनीहरू चिन्तित छन् । कतिपय घरधनीहरू त भन्छन्, ‘झन्डै एक वर्ष हुन लाग्यो, घर खाली भएको ।’ अहिले सटर लिएर व्यापार गर्ने छैन । कोठामा बस्ने पनि छैन । र, फ्ल्याट लिएर अफिस सञ्चालन गर्ने पनि छैन । किनकि अधिकांश मानिसहरू बेरोजगारी वा आम्दानी नभएपछि महँगीका कारण यहाँ बस्नै नसकेर आफ्नै गाउँघर फर्किएका छन् ।

यसले गर्दा भाडामा बस्ने मान्छे भेटिन अहिले मुस्किल छ । तीन वर्षअघि उपत्यकामा घरधनीहरू एउटै कोठाको मासिक भाडा ९ हजारदेखि २० हजार असुल्थे । एक फ्ल्याटको २५ हजारदेखि तीन लाख र एउटा सटरको २० हजारदेखि १८ लाखसम्म लिन्थे । खाली सटर त झन् २० लाखदेखि ५० लाखमा बिक्री हुन्थ्यो । 

बस्नुभन्दा अगाडि नै तीन महिनाको भाडा तिर्नुपर्थ्यो । बत्ती, पानी, फोहोर र इन्टरनेटको पैसा घरधनीहरूले जति भन्यो, डेरा बहाल हरू त्यति नै तिर्न बाध्य हुन्थे । अहिले घरधनीहरू भाडा घटाएर दिन्छु भन्दा समेत सटर लिएर व्यापार गर्ने कोही छैन । न त कोठामा बस्ने वा फ्ल्याट लिने नै छन् । हिजो घरधनीहरूले डेरा बहाल हरूलाई लुट्नु लुटे ।

अहिले घर धमाधम खाली भएका छन् । आम सर्वसाधारण वा डेरा बहाल हरूको मनमा घरधनी भनेको ठग हुन् भनेर छापा बसिसकेको छ । पैसा असुल्ने तर सेवा सुविधा नदिने शोषक, सामन्ती घरधनीहरू हुन् भनेर डेरा बहाल हरूले बुझिसकेका छन् । भाडामा लगाएरै घरधनीहरूले कमाएको देखेर डेराबहाल हरूले पनि पैसा हुन साथ जग्गा किनेर घर बनाए ।

उपत्यकाका कुना कुनामा घर बनेको छ । तर, भाडामा बस्ने कोही छैन । भाडामा लगाएर बसिबसी खान्छु भनेर अधिकांशले हिजो बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर घर बनाए । अहिले भाडामा बस्न कोही आएको छैन । बसेकाहरू पनि छोडिरहेका छन् ।

अहिले घरधनीहरूको निद्रा र भोक नै हराएको छ । एकातर्फ भाडामा बस्न कोही आउँदैन त अर्कातर्फ बैङ्कको साँबाब्याज बढ्दै गएको छ । ऋण तिर्न पैसा छैन अनि घर बिक्री हुँदैन । अहिले अधिकांश घरधनीहरू यही समस्याबाट गुज्रिरहेका छन् । हिजो भाडामा लगाएर पैसा कमाउने सपना देखेर उनीहरूले घर त बनाए ।

यद्यपि, अहिले भाडामा बस्ने कोही नभएपछि बैङ्क, वित्तीय संस्थाले उनीहरूलाई च्यापेको छ । पछिल्लो समय घर बेच्न चाहने यत्तिकै भेटिन्छन् । सार्वजनिक ठाउँमा होस् या मालपोत कार्यालय वरपर घरजग्गा बेच्न चाहने हरू छ्यापछ्याप्ती देखिन्छन् । दलालीहरू नै तीन वर्षअघि तीन करोड पर्ने घर अहिले एक करोडमा समेत बिक्री नभएको बताउँछन् ।

उपत्यकामा थुप्रै मालपोत कार्यालय छन् । तर, त्यहाँ घरजग्गा किनबेच वा नामसारी ठप्प छ । विगत तीन वर्षदेखि मालपोत कार्यालयमा चहलपहल छैन, सुनसान छ । उपत्यकामा मात्र होइन, अहिले मुलुकभरको अवस्था यस्तै छ । घरजग्गा कारोबार ठप्पै भइसकेको छ । २०८० साउन ३० गतेको मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाट फुकुवा गप्यो ।

तापनि घरजग्गा कारोबार बढेन । घरजग्गा कारोबारमा मन्दी आएको छ भने भाडामा बस्ने पनि कोही छैन । बैङ्क, वित्तीय संस्थाबाट ऋण लिएर घर बनाएकाहरू अहिले मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । बैङ्कले घर लिलाम गर्ने डरले कतिपय घरधनीहरू त डिप्रेसनमा गइसकेका छन् । कतिपयको घरमा खाने छैन ।

डेरा बहालबाट उठाउने भाडाले नै अधिकांशले गुजारसँगै बैङ्कको साँबाब्याज तिर्दै आएका थिए । तर, अहिले भाडामा बस्न कोही नआएपछि उनीहरूको अवस्था नाजुक बनेको छ । बिहान बेलुकाको छाक टार्नै कतिपय घरधनीहरूलाई मुस्किल परेको छ । फेरि भोक लाग्यो भन्दैमा इट्टा र डन्डी त चपाउन मिल्दैन नि त ।

पाँच दशकअघि उपत्यकामा सबै खेतीयोग्य जमिन थियो । जताततै बारी वा फाँट देखिन्थ्यो । अधिकांश मानिस खेतीपाती गर्थे । एउटैको रोपनीका रोपनी जमिन हुन्थ्यो ।

त्यतिखेर मुस्किलले घर देख्न पाइन्थ्यो, त्यो पनि माटोको । तर, बिचमा जग्गा दलालीहरूले किसानहरूसँग सस्तोमा जमिन किने अनि प्लानिङ र खण्डीकरण गर्दै महँगोमा बेचेर जग्गाको मूल्य ह्वात्तै बढाएका हुन् । अहिले उपत्यकामा बारी वा फाँट देखिँदैन । जताततै घरैघर छ । घर पनि टाँसिएर बनाइएको छ । यसले गर्दा घाम देख्न समेत मानिसहरूलाई हम्मेहम्मे पर्ने गरेको छ ।

मुलुकभरको ९० प्रतिशत खेतीयोग्य जमिन घर र बाटो बनाउँदा मासिएको छ । अहिले देश खाद्यान्नमा आत्मनिर्भर छैन । सागदेखि गुन्द्रुकसम्म विदेशबाट आयात गर्नु परिरहेको छ । जसले गर्दा एकातिर मुलुकको पैसा बिदेसिएको छ, अर्कोतर्फ जुनसुकै बेला खाद्यान्न सङ्कट निम्तिने देखिन्छ । बजारमा घरजग्गा, गाडी र सेयरको किनबेचमा पूरै मन्दी छ ।

यसले गर्दा सबै पैसा फ्रिज भएको छ । घरजग्गामा जसरी दलालीहरूले सेयर र गाडीको पनि मूल्य बढाएका थिए । बैङ्कले सय रुपैयाँमा निष्कासन गरेको सेयर दलालीहरूले ३५ सय पुर्‍याए । एक लाखको गाडी दलालीहरू २० लाखमा बिक्री गरे । अहिले ९९ प्रतिशत मानिसको घरजग्गा, गाडी र सेयर बैङ्क तथा वित्तीय संस्थाको नाममा छ ।

बजारमा घरजग्गा, गाडी र सेयरको मूल्य घट्नासाथ सहकारी संस्थाहरू भागिहाले । करोडौँ बचतकर्ताको खर्बौँ रकम झवाम पारेको छ, सहकारीले । आज बचतकर्ताहरूको रुवाबासी चलेको छ । तर, के गर्नु ? अहिले बैङ्कको अवस्था पनि सहकारीजस्तै भएको छ । लिलाम गरेको धितो बिक्री नभएपछि ग्राहकको खोजीका लागि कर्मचारी नै खटाएका छ, बैङ्कले ।

चिया पसल, सार्वजनिक स्थललगायतमा बैङ्कका कर्मचारीहरू यत्तिकै भेटिन्छन् । उनीहरू घरजग्गा, गाडी र सेयर किन्न मानिसहरूलाई फर्काइरहेका हुन्छन् । तर, अहिले घरजग्गा, गाडी र सेयर किन्ने कोही छैन । सबै बेच्न चाहने मात्र छन् । केही दिनअघि एनआईसी एसिया बैङ्कले कर्जा तिर्नेलाई २० प्रतिशत छुटसँगै ब्याज, पेनाल्टी केही तिर्नुपर्ने अफर ल्यायो ।

यसबाटै बैङ्कहरू टाट पल्टिने अवस्थामा पुगेको बुझिन्छ । अहिले आम सर्वसाधारणले बैङ्कमा बचत गर्न छोडिसकेका छन् । बचत गरेकाहरू पनि धमाधम रकम निकालिरहेका छन् । अर्कोतर्फ घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा बैङ्कहरू डुब्ने अवस्थामा पुगेका छन् । ऋणको साँबाब्याज बढ्दै गएको छ भने धितोको मूल्य घट्दो छ ।

अनि बैङ्कले कसरी उठाउँछ ऋण ? बैङ्कहरूलाई घरजग्गा, गाडी र सेयर टोक्नु कि बोक्नु भइरहेको छ । ऋणी कर्जा तिर्दैन त धितो पनि बिक्री हुँदैन । फेरि बचतकर्ताहरू भने पैसा निकाल्न लाम लागेका छन् । सहकारी संस्थाहरू भाग्नुअघि बचतकर्ताहरूलाई भन्थे, ‘हाम्रो लगानी घरजग्गा, गाडी र सेयरमा छ । हामी त्यो बेचेर भए पनि तपाईँहरूको पैसा फिर्ता गर्छौ । हामी भाग्दैनौँ । तपाईँहरू नआत्तिनुस् ।’ तर, मै हुँ भन्ने सहकारीहरू पनि पछि भाग्नै पर्‍यो । अहिले बैङ्कले पनि पैसा निकाल्न गएका बचतकर्ताहरूलाई यस्तै भनिरहेको सुनिन्छ ।

सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैङ्कले पनि बैङ्क, वित्तीय संस्थालाई घरजग्गा, गाडी र सेयरमा लगानी गर्न प्रतिबन्ध लगाएको भए आज यो अवस्था आउँदैनथ्यो । सरकारले समयमै उचित कदम चाल्न नसक्दा बैङ्क, ऋणी र बचतकर्ताहरू नै डुबे ।