- अनुसा थापा
मानव अन्नबिना बाँच्न सक्दैन । अन्न फल्ने जमिनमा हो । पहिलेपहिले भन्ने गरिन्थ्यो,‘असारमा मानो रोप्ने, मङ्सिरमा मुरी फलाउने ।’ घरमा कोही मर्यो भनेपनि कपडाले छोपेर खेतीपाती गर्न जाने गरिन्थ्यो । बिरामी भएपनि भोलि उपचार गर्न जाउँला भनेर रोपाइँमा जान्थेँ ।
२०३५ सालसम्म नेपालमा खाद्यान्न आयात हुँदैनथ्यो । यही फलेको खाद्यान्न खाई नसक्नु हुन्थ्यो । खाद्यान्नमा नेपाल आत्मनिर्भर थियो । अन्य देशलाई नेपालले खाद्यान्न बेच्थ्यो, अनुदान दिन्थ्यो । त्यतिबेला नेपाली रोगी थिएनन् । बेरोजगारी पनि थिएनन् । आफ्नै खेतमा कृषि गर्थे ।
आफ्नै खेतमा उब्जिएको खाद्यान्न खाने भएकाले विषादीको चिन्ता लिनुपर्दैनथ्यो । सबै अर्ग्यानिक हुन्थ्यो । स्वास्थ्य खाने भएपछि स्वास्थ्य रहने त भई नै हाले । यता, जतिबेला पनि आफ्नो खेतबारीमा काम गर्थे । त्यसैले उनीहरूलाई एक्सरसाइज पनि हुन्थ्यो । अहिले त अब कुर्सीमा बसेर काम गर्ने जमाना आयो ।
जसका कारण धेरैलाई विभिन्न रोग देखिएको छ । त्यतिबेला व्यापार घाटा थिएन । २०४२ सालदेखि जग्गा माफियाले खेतीयोग्य जमिन प्लानिङ गर्न सुरु गरे । खण्डीकरण गर्न थाले । जग्गा दलालीहरूले रोपनीको लाख रुपैयाँमा जग्गाधनीसँग खरिद गरेर आनाकै ठाउँ हेरेर ६०–७० लाखमा बेचे ।
सरकारले जग्गा प्लानिङ गर्न भटाभट गर्न स्वीकृति दियो । जग्गाको भाउ आउने भएपछि भूमाफिया हरूले सरकारी, गुठी, सार्वजनिक, तालपोखरी, मठमन्दिरको जग्गा दर्ता गरे । भूमाफिया हरूले जग्गाको व्यापार थाले । अन्नबाली फल्ने एक मात्र स्रोतलाई व्यापार गर्ने थलो बनाइयो ।
जमिनको व्यापार हुन थालेपछि अन्नबालीचाहिँ कहाँ फलाउने ? देशमा खाद्यान्नको सङ्कट आउन सक्छ । जनता भोकभोकै बस्नुपर्ने हुन्छ । हामीले यसरी धमाधम जग्गा प्लानिङ गर्न दिनुहुन्न भन्ने कुरा सरकारले सोचेन । उब्जनी हुने जग्गामै बाटो र घर । जताततै कङ्क्रिट देखिन थालेको छ ।
घर र बाटो गर्दागर्दा उब्जनी हुने जमिन सकिसक्यो । व्यक्ति, बैङ्क तथा वित्तीय संस्थाले यही घरजग्गामा लगानी गरे । दिनको दुई गुणा र रातको चौगुना नाफा हुने भएकाले सबैको ध्यान घरजग्गातर्फ केन्द्रित भयो । कहाँ लगानी गर्ने ? भन्दा घरजग्गामा । जसका कारण अस्तव्यस्त सहर बन्यो ।
नेपालको विकास भनेको घरैघरको सहर हो । जता हेर्यो घर । चेपिचेपी घर बनाइएको छ । रुखविरुवा, हरियाली कतै छैन । कतै एक छिन बसौँ, आराम गरौँ भन्ने अवस्था यहाँ छैन । घरघरैका कारण हिउँदमा गर्मीले बसिनसक्नु हुन्छ । श्वास फेर्नसमेत महामुश्किल पर्छ । बाहिर निस्कियो भने धुलोले हिँड्न सक्दैन ।
बर्खामा पानी जाने ठाउँ नभएर डुबानमा पर्छ । आकाशबाट परेको पानी सोस्ने माटोले हो । तर, सर्वत्र ढलान भएपनि पानी कहाँ जाओस् ? घरभित्रै पानी छिर्छ, बर्खामा । अव्यवस्थित सहर बसाउँदा पानीको मूल सुक्दै गएको छ । सरकार राजश्वको लोभमा फस्दा यो समस्या निम्तिएको हो ।
घरजग्गाबाट उठ्ने राजश्व मात्र देख्यो सरकारले । जग्गालाई प्लानिङ गर्न दिनुहुन्न, त्यहाँ उब्जनी गर्नुपर्छ भन्ने सोचेन सरकारले । घरजग्गाबाट उठेको राजश्वले त व्यापार घाटा थेग्दैन । अनि के फाइदा भयो ? व्यापार घाटा वर्षेनि बढ्दै गएको छ । हरेक खाद्यान्न अर्काको देशबाट आयात गर्नुपरेको छ ।
यता, नेपालीले महँगो मूल्य तिरेर उपभोग गरिरहनुपरेको छ । त्यो पनि शुद्ध छैन । सबै खाद्यान्नमा विषादीको प्रयोग भएको छ । जसले गर्दा नेपाली रोगी बन्दै गएका छन् । बेरोजगारी दर ह्वात्तै बढेको छ । यहाँ रोजगारी नहुँदा नेपाली विदेश पलायन भएका छन्, पलायन हुने क्रम जारी छ ।
जमिन नमासेको भए त खेती किसानी गरेर खान सकिन्थ्यो । मुलुकभित्र उब्जनी भएको सामानको प्रयोग गरिन्थ्यो । बाहिरबाट आयात गरिरहनु पर्दैनथ्यो । नेपालमा दुइटा कुराले प्राथमिकता पायो । पैसा हुनेले जग्गा किनेर घर बनाउने, भाडामा लगाउने । पैसा नहुने भाडामा बस्ने ।
भाडा आउने भएपछि कामै नगर्ने । घरभाडाले आरामसँग गुजारा चलिहाल्छ । गाउँ रित्तियो, सदरमुकाम र सहर भरियो । कोठा भाडा लिएर बस्ने क्रम बढ्यो । केही काम गर्ने अनि बहालमा बस्ने । सरकारले जनतालाई उनीहरूको जन्मथलोमै रोक्न सकेन । त्यो अहिले मुलुकको लागि समस्या बन्यो ।
गाउँमा सरकार छ भन्ने महसुस गराउनै सकेन सरकारले । छिटोछरितो सेवा सुविधा नदिने । आज पनि कतिपय ठाउँमा अस्पताल बनेको छैन । अस्पताल बनेपनि डाक्टर छैनन् । बिजुली पुगेको छैन । बाटोघाटो छैन । शिक्षामा पनि गाउँघर पछाडि छ । अनि गाउँमा को बस्छ ? सेवा सुविधा पुर्याइदिएको भए जिल्लाका सदरमुकाम र काठमाडौँ उपत्यका भरिँदैनथ्यो ।
काठमाडौँ र सदरमुकाममा घरैघर बन्दा गाउँको घर जीर्ण बनेको छ । त्यहाँ कोही छैन । उनीहरू आफ्नो जमिन बाँझो छोडेर सदरमुकाम र सहर पसेका छन् । कतै जग्गामा घरैघर, कतै बाँझै । अनि व्यापार घाटा नबढेर के बढ्छ ? हामीले अर्काको देशलाई धनी बनाइरहेका छन् ।
हामी त कङ्गाल बन्यौँ । अरू देशले नेपाललाई व्यापारको थलो बनाएका छन् । उनीहरूले प्रयोग गरेर बाँकी भएको सामान हामीलाई बेचिरहेका छन् । भोलि अन्य मुलुकले खाद्यान्न दिँदैनौँ भनेमा नेपाली भोकभोकै मर्छन् । अहिले सबैको पैसा गएर घरजग्गामा फसेको छ । बैङ्क, सहकारी, लघुवित्त त घरजग्गाले गरेरै डुब्यो ।
अब के नेपालीले डन्डी टोक्ने ? इट्टा चपाउने ? फलाम निल्ने ? हाम्रा राजनीतिज्ञ कतिसम्म दिमाग नभएका रहेछन् ? भन्ने त स्पष्ट भइहाल्यो । छिमेकीहरूले जे जे भने, राजनीतिज्ञले त्यही त्यही गरे । छिमेकीलाई पोस्नका लागि यहाँ भएका उद्योग पनि बन्द गराए ।
उनीहरूले दीर्घकालीन सोचेनन् । छिमेकीले नेपालमा बाटो बनाइदिने भने, हामी मक्ख पर्यो । त्यो बाटोमा गुड्ने गाडी कसको ? उनीहरूकै होइन ? उनीहरूले त आफ्नो देश र त्यहाँका जनतालाई बलियो बनाए । विकास गरिदिएझैँ गर्ने अनि आफ्नो व्यापार गर्ने काम भयो । नेपालको जमिनसमेत छिमेकीले मिचिरहेका छन् ।
अलिअलि गर्दै उनीहरूले नेपालको भूभाग कब्जा गरिरहेका छन् । खाने मुख बढिरहेको छ, जमिनको सङ्ख्या घटिरहेको छ । अहिले सबैभन्दा महँगो खाद्यान्न छ । छिमेकीले जति भन्यो, हामीले त्यति नै तिरेर खानुपरेको छ । सरकारले नेपाललाई आज पनि कृषिप्रधान देश भन्छ । सबै खाद्यान्न बाहिरबाट आयात गर्नुपरेको छ, के को कृषिप्रधान देश ?
नेपाल श्रमिक प्रधान देश बन्दै गएको छ । अहिले घरजग्गाको कारोबार ठप्प छ । किनबेच भए त राजश्व उठ्ने हो । घरजग्गामा गरिएको लगानी त अहिले ‘बालुवामा पानी’ झैँ बनेको छ । बजारमा व्यापक आर्थिक मन्दी छ । काम पाइरहेको छैन । गरिब भोकभोकै मर्ने भइसके ।
महँगीले गर्दा जनताको ढाड सेकिएको छ । अब गरिबले कसरी खाने ? पैसा हुनेहरूले त जति भाउ बढेपनि खालान्, गरिब भोकभोकै गर्नुबाहेक विकल्प छैन । जनता सरकार र दलालीको कारण मर्ने भए । सरकारले आफू पुर्ने खाल्डो आफैँले खन्यो । मरुभूमि देशको विकास आज हामीले देखेकै छौँ ।
त्यहाँको सरकारले योजना बनाएर मुलुकलाई माथि ल्यायो । देशलाई आत्मनिर्भर बनायो, त्यहाँको सरकारले । हाम्रोजस्तो सबै कुरा भएको देशलाई तहसनहस बनाइयो । प्राकृतिक हिसाबले नेपाल धनी छ । यहाँ पानी पनि प्रशस्तै छ । उब्जनीयुक्त माटो थियो । तर, राजनीतिक दलहरू ‘भेडा’ हुँदा नेपाल मरुभूमिभन्दा पनि पछाडि पर्यो ।