धरान :  पूर्वको पहाडी जिल्लामा यसपालि सयपत्री फूल भने जस्तो फुलेन । भारतबाट आउने सयपत्रीको आयात पनि कम भएकाले यसपालि धरान बजार सयपत्री फूल महँगिएको छ ।

आज लक्ष्मी पूजाको दिन धरान-१३ कृषि बजारमा सयपत्रीको थोक मूल्य नै १५० देखी २०० रुपया मुठामा विक्री भएको बजार व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । उनका अनुसार पोहोर साल यसै बेला सयपत्री फूल ५ रुपैयाँ मुठा विक्री भएको थियो ।

अत्याधिक वर्षा, बाढी पहिरोको कारण सयपत्री फूल उत्पादन कमी भएकाले बजारमा फुल अभाव भएको कृषि बजारले जनाएको छ ।

गत वर्ष पूर्वी पहाडी जिल्लाहरूबाट प्रशस्त मात्रामा स्थानीय स्तरमै उत्पादित सयपत्री फूलहरूले तिहारमा धानेकाले बजारमा सयपत्री सस्तो भएको थियो ।

गत वर्ष नेपाली फूलले भारतीय फूललाई विस्थापित गरेको थियो । नेपाल सरकारले भारतीय फूललाई नेपाल भित्र्याउन  नदिन नाकाहरूमा कडाइ गरेसँगै यो वर्षको तिहारमा भने भारतीय बजारको फूल हालसम्म बजारमा देखा परेको छैन ।

भारतबाट आउने फुलहरूले बजार ५० प्रतिशत बजार धानेको धरान-१२ चतरालाईमा फुल व्यापार कलकत्ता डेकोरेशनका फूल व्यापारी बताए । उनले भने ‘सरकारले नाकाहरूमै फूल आयात रोकेकाले मेरो २ लाख रुपैयाँ खेर गयो ।’ ल्याउन लागिएको फूल बोर्डरमै सडेको उनले बताए ।

उनका अनुसार स्थानीय सयपत्री फूललाई प्रवर्द्धन गर्ने भनिए पनि थोक बजारमा नै फूल पाइँदैन ।

भारतीय सयपत्री नआउँदा नेपाली फूलले नै तिहार धान्नुपर्ने अवस्था आएको कृषि बजारले जनाएको छ । व्यवस्थापक भट्टराईले भने ‘कम फूल उत्पादन हुँदा कारोबारको हिसाबले स्वाभाविक मूल्य वृद्धि भएको छ ।’तर मूल्य वृद्धिका कारण कारोबारका हिसाबले गत वर्षको भन्दा कारोबार भने कम नहुने उनले बताए । कोशी पहाडी जिल्लाहरूमा तिहार लक्षित सयपत्री फूल धरान-१३ कृषि बजारमा आउने गरेको छ ।

नेपाली उत्पादन सयपत्रीले मात्र बजार धान्ने अवस्थामा कृषकको जीवनस्तर उक्सिने र कृषकले गरेको परिश्रम अनुसारको फल पाउने भएकोले कृषकहरू भने खुसी छन् । धरान-१४ का प्रभाव खतिवडाले फूल महँगो परे पनि ताजा फूल लगाउन पाएको बताए ।

व्यापारीहरूले जति मूल्य बढीमा खरिद विक्री गर्न पाइयो त्यति नै मुनाफा कमाउने भएकोले यस वर्ष फूलको कारोबारबाट मुनाफा लिन सकिने बताउने गरेका छन् ।

कृषि बजारका फूल व्यापारी रामचन्द्र चौधरीले भने ‘महँगोमा खरिद गरेर उपभोक्तालाई विक्री गर्दा बढी मुनाफा हुन्छ ।’ बजारमा अहिले सयपत्री, मखमली लगायतका फूलहरू यत्रतत्र देखिए पनि महँगिएको छ ।

भारतीय फूल धरानमा नआएकै कारण अहिले कृत्रिम फूल प्रयोग गर्ने उपभोक्ता पनि बढेको पाइएको छ । तिहार आउनुभन्दा अगाडि नै फुल्ने सयपत्री तिहार पछि फुल्ने गरेका कारण कृषकले गरेको पनि मेहनत त्यसै खेर जाने गरेको थियो ।

व्यवस्थापक भट्टराईका अनुसार राज्यले समेत कृषकलाई व्यावसायिक फूल खेतीतर्फ उन्मुख गराउन सकेको छैन । बीउ, मल तथा अनुदान सरकारले व्यवस्थापन गरिदिने हो भने नेपालमा उत्पादन भएका फूलले भारतका आयातित फूललाई विस्थापित गरिइदिनमा दुई मत छैन ।

यसले तिहारका समयमा महँगा मूल्य तिरेर फूल विक्री गर्नुपर्ने बाध्यता हट्ने थियो भने फूलबाट प्रशस्त मुनाफा हुने भएकोले कृषकहरू व्यावसायिक फूल खेती तर्फ आकर्षित हुने थिए ।

nepali-fullFull-6