धरान : धरानको सेउती र सर्दु खोलामा आज बिहीबार साँझ सूर्यास्तकालमा अर्घ दिँदै छठ पर्व मनाउनेहरूको सङ्ख्या पोहोरको भन्दा धेरै देखियो ।

मधेसीहरूको पर्व मानिँदै आएको छठमा पछिल्लो समय समावेशी व्रतालुको सहभागिता बढेकाले दुवै खोलामा भीड बढेको हो । भोली शुक्रवार बिहान उद्याउँदो सूर्यलाई अर्घ दिइँदै छठ पर्व सम्पन्न हुनेछ ।

सिँगारिएको छठ घाटमा धार्मिक मेलाको रौनक देखिन्छ । रङ्गीचङ्गी पहिरनका व्रतालुहरू, झिलिमिली बत्ती, फुलझडी र पटाकाले छठ घाट मेलामय बनेको हो ।

मधेसवासीले मात्रै मनाउँदै आएको छठ पर्व पछिल्लो समय धरानमा समावेशी पर्वको रूपमा विकसित भएको छ । समावेशी व्रतालुहरूले एकै साथ सूर्यलाई अर्घ दिएका छन् । 

पछिल्लो समय धरानमा मनाइने छठ पर्वले मधेस र पहाडे बिचको दूरीलाई घटाउँदै सद्भाव बढाउने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

धरान-१६ कि स्वस्तिका विश्वकर्मा परिवार सहित सूर्यलाई अर्घ दिन सर्दु खोलामा पुगेकी थिइन् । उनले भोली शुक्रवार बिहान ३ बजे नै उद्याउँदो सूर्यलाई पूजा गर्न सर्दुखोला आउने बताइन् ।

तेस्रो वर्ष पछि छठको व्रत लिएकी स्वस्तिकाले भनिन् ‘पहिला मधेसीहरूले मात्र मनाउने पर्व हो जस्तो लाथ्यो तर अहिले सबै जातजातिले छठ पर्व मनाएर होला सबैको पर्व जस्तो लाग्छ ।’ छठ पर्वले मधेसी र पहाडे समुदाय बिच सद्भाव बढाउने काम गरेको बताइन् ।

धरान-१३ का साकार श्रेष्ठले भने ‘पछिल्लो समय पहाडे र मधेसी समुदाय मिलेर एकै ठाउँमा छठ पर्व मनाउने प्रचलनले मधेसी र पहाडेबिचको सम्बन्धलाई प्रगाढ बनाएको छ ।’ केही नेताहरूले स्वार्थका लागि पहाडे र मधेसी बिच घोलिदिएका विष छठले शुद्धीकरण गरेको उनले बताए ।

धरान-१५ का सुमन श्रेष्ठ छठले नेपालमा आपसी सद्भाव नघटेको गतिलो उदाहरण दिएको बताए ।

धरान-३ पुरानो बजारका राजेश्वरप्रसाद झाले मधेसी समुदायले मात्र खोलामा आएर छठ मनाउँदा असुरक्षित बन्ने गरेको बताउँदै पछिल्लो समय सबै समुदाय मिलेर छठ मनाउँदा प्रशासनले समेत सुरक्षा मजबुत बनाएकोमा खुसी प्रकट गरे ।

पछिल्लो समय छठ पूजालाई व्यवस्थित गर्न छठ पूजा समिति गठन हुँदै आएको छ ।

Chhat dharan 2 (1)Chhat dharan 2 (2)