- निनाम लोवात्ती
विश्वका सभ्यताहरूमा किराँत सभ्यता पनि थियो भन्ने प्रायः सबैले स्विकारेका छन् । किराँत सभ्यता विश्वको सबैभन्दा पुरानो सभ्यता मध्ये एक हो भन्ने खोज-अनुसन्धानकर्ता, इतिहासकारले उल्लेख गरेका छन् । किराँतहरू ब्रह्मपुत्र नदी र यसका शाखा नदीहरूको आसपासमा विकास भएको मानिन्छ ।
सुरुमा एसिया महादेशको ठुलो भूभागमा दक्षिण एसिया, दक्षिण-पूर्व एसिया, मध्य एसियामा किराँत सभ्यताको विस्तार भएको थियो । कश्मीरदेखि पूर्व, कामरूप, भुटान हुँदै मानसरोवरको दक्षिण-पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयू नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म फैलिएका थिए भन्ने इतिहासकारहरूले उल्लेख गरेका छन् ।
किराँतको ऐतिहासिकताबारे संस्कृत साहित्यहरूमा पनि प्रशस्तै चर्चा-परिचर्चा गरिएको छ । अथर्ववेद, वाल्मीकि रामायण, महाभारतहरू आदि यसका उदाहरण हुन । प्राचीन धार्मिक ग्रन्थहरूमा किराँत राजाहरूको उल्लेख गरेको पाइन्छ । प्राचीन संस्कृत साहित्य ऋग्वेद, पुराण, स्मृति, खोज, अनुसन्धान र विभिन्न अभिलेखहरूमा पनि किराँत जातिको उल्लेख भएको पाइन्छ ।
बौद्ध साहित्य, ब्राह्मण, भिख तथा जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि विभिन्न धर्म ग्रन्थहरू र प्राचीन वास्तुकला, शिल्पकला, लोककला, चित्रकला र लोककथाहरूमा किराँतका बारेमा उल्लेख पाइन्छ ।
किराँतको वंशावली गोपाल राज वंशावली अनुसार ३२ पुस्ता, डेनियल राइट अनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिक अनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्यका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता र भूपेन्द्रनाथ शर्मा ढुङ्गेलका अनुसार ३३ पुस्ता सम्म किराँती राजाहरूले काठमाडौँ उपत्यकामा राज्य चलाएका थिए ।
कुनै वेला एसियाको ठुलो भू-भागमा फैलिएको किराँत पछि गएर बाह्य क्षेत्रबाट आएका मानिसहरूको हस्तक्षेप एवं उपनिवेशका कारण विस्थापित भए । आफ्नो जिमी-भूमिको साथै असली जातीय पहिचान समेत गुमाउँदै सीमित भू-क्षेत्रमा बाँकी रहे ।
अहिले आएर दक्षिण एसियाको सगरमाथा (चोमोलुङमा) क्षेत्र हालको नेपालको पूर्वी भाग १ नम्बर प्रदेशमा किराँत भनी चिनाउने जातिहरू रहेका छन् । उनीहरू नेपालको भगौलिक एकीकरणसँगै ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’करण गरिएका थिए । यसै कारण उनीहरूको असली पहिचान ओझेलमा पर्न लागेको अवस्था छ ।
जातीय पहिचान र अस्तित्व सङ्कटमा परेका किराँतहरूमा सबैभन्दा बढी खम्बुका सन्तानहरू देखिन्छन् । जस्तै कुलुङ जातिलाई एक उदाहरणको रूपमा लिन सकिन्छ । कुलुङ जाति पनि खम्बुका अन्य सन्तान जस्तै भूमि सुधार ऐनले ‘राईकरण’मा परे ।
भूमि सुधार ऐनले ‘रैती/ढाक्रे’हरुले पनि आफ्नो नाममा जग्गा-जमिन दर्ता गर्न पाए । त्यसअघि स्थानीय तालुकदार वा जिम्मावाल अर्थात् ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधरी’ आदिको हातमा हुन्थ्यो जग्गा-जमिनको स्वामित्व । यसरी रैतीहरू पनि भूमि सुधार ऐनले ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’, ‘चौधराई/चौधरी’ हुन पाए ।
आफ्नो नाममा जग्गा-जमिन दर्ता गरेसँगै नामको पछाडि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’, ‘चौधराई/चौधरी’ लेख्न पाए । त्यसअघि तालुकदार/जिम्मावालहरूले मात्रै ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई/चौधरी’ लेख्न पाउँथे ।
महत्त्वपूर्ण कुरो माथिका चारवटै जातिका कसैले झुक्किएर वा जानाजान आफ्नो जात ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान,’ ‘चौधरी’ हो भनी लेखेमा पनि उनीहरूलाई खासै समस्या छैन । किनभने, उनीहरू आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन-२०५८ को दफा दुई (क) अनुसार आदिवासी जनजाति सूचीमा सूचीकृत भएका छन् । सो सूचीमा हाल ५९ जाति भनिनेहरू सूचीकृत छन् ।
विसं २०५७/०५८ देखि नै खम्बुका सन्तानहरूमध्ये कुलुङले वास्तवमा ‘राई’ जाति होइन रहेछ, त्यसैले अब हामी यो ‘राई’ पदवी वा पगरीलाई जातिको रूपमा लेख्न छाडेर आफ्नो असली जातीय पहिचान कुलुङले चिनिन चाहन्छौँ भनी आन्दोलन गर्न थाल्यो ।
त्यस क्रममा अहिले सम्म नेपालका विभिन्न राजनैतिक दलहरू र तिनका नेताहरूसँग लबिङ गर्ने, उनीहरू मार्फत माग सम्बोधन गर्न गराउने कामहरू भइरहेको छ । तत्कालीन अवस्थामा अचानक माघ १९ को घटना घट्यो ।
उक्त राजनैतिक घटनापछि मन्त्रीपरिषद्को कार्यकारी अध्यक्ष राजा ज्ञानेन्द्र आफै घोषित भए । यसरी प्रतिष्ठानको दफा दुई (क) मा व्यवस्था भएअनुसार सूचीकृत हुनका लागि तत्कालीन श्री ५ को सरकार र मातहतमा रहेको स्थानीय विकास मन्त्रालयको प्रतिष्ठानमा फेरि पनि आफ्नो माग पत्र पेस गर्यो ।
त्यसपछि छुट्टै पहिचान माग्नेहरूलाई कुलुङे ढाक्रेहरू, राजालाई जात माग्न दरबार गएको आरोप लगायो । उनीहरूले माघ १९ को राजनैतिक घटनापछि प्रतिष्ठानबाट हट्नु पर्थ्यौ । तर हटेनन् । आदिवासी जनजाति सूचीमा सूचीकृत नभई आदिवासी जनजातिको मान्यता पनि नपाइने अवस्था विद्यमान थियो ।
नेपालका अन्य आदिवासी जनजाति र अन्तर्राष्ट्रिय समुदायमा पनि आफ्नो अलग्गै जातीय पहिचान पनि स्थापित नहुने भएकोले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन-२०५८ को दफा दुई (क) मा व्यवस्था भएअनुसार सूचीकृत हुनका लागि तत्कालीन श्री ५ को सरकारसँग अनुरोध गर्ने कामहरू धेरै पटक भए, अहिलेसम्म भइरहेकै छ ।
हाल ‘राई’ जाति भनेर चिनिने किरात खम्बुका सन्तानहरू कुलुङ लगायतका बारेमा इतिहासकार, पितापूर्खाहरुले मौखिक रूपमा भनी आएको र लिखित दस्ताबेजहरूले छुट्टै पहिचान दिदैं आएको छ । किराँती आजको भारत, बङ्गलादेश, नेपाल, चीन, बर्मा, थाइल्यान्डका भूभागसम्म विकास र विस्तार भएका हुन् ।
भारतका प्रसिद्ध अनुसन्धानकर्ता जीपी सिंहका अनुसार भारतको विकासमा किँरातहरुको ठुलो योगदान रहेको छ । तर, उनीहरूको योगदानलाई इतिहासमा उल्लेख गरिएन । किँरात: इन एनसियन्ट इण्डिया, रामायण, महाभारत, उपनिषद् आदि धार्मिक ग्रन्थहरूमा समेत किराँतको उल्लेख हुनुबाट पनि किरात भूमि हालको भारतको ठुलो भूभागसमेत रहेको थियो भन्ने जनाउँछ ।
जनकलाल शर्माले किराँतका बारेमा ‘हाम्रो समाज एक अध्ययन’ पुस्तकमा ‘नौ लाख किराँत’ उपशीर्षकमा हड्सनका अनुसार किँरातहरु प्रमुख शाखालाई खम्बु भनेका छन् । यिनीहरूको बसोबास भएको प्रदेशलाई कुनै समय ‘नौलाख किराँत’ पनि भनिन्थ्यो ।यस्तो नामकरण गर्ने कारणमा हड्सन भन्छन् ‘यस प्रदेशमा कुनै समय घरैपिच्छे दुई आनाका दरले कर लगाइन्थ्यो र त्यो करको सङ्ख्या नौ हजार आना पुग्दथ्यो । यसैलाई बढाएर त्यहाँका मानिसले यसलाई गाउँको सङ्ख्यामा ल्याए ।’
उ वेलै ‘नौ लाख किराँत’ भनी उल्लेख भएका किराँतहरू भविष्यमा गएर कतै मिथक वा मिथमा मात्रै सीमित हुने त होइनन् ? भन्ने प्रश्न हिजोआज गम्भीर बन्दै गएको छ।