इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) सामाजिक सञ्जालमा धेरै नै सक्रिय छन् । उनी आफ्नो सक्रियतालाई सबल पक्ष मान्छन् । सामाजिक सञ्जाल मार्फत नै उनले सार्वजनिक सूचना र आफ्नो धारणा सार्वजनिक गर्ने गरेका छन्। 
कसैप्रतिको आक्रोश र प्रेम पनि उनी हर्क साम्पाङ रिभोलुसन भन्ने पेजबाट अभिव्यक्त गर्छन् । पछिल्लो समय ट्विटर र टिकटकमा पनि सक्रिय छन् उनी । छिनभरमै हजारौँ रियाक्ट र कमेन्टले उनी झनै उत्साहित भएका छन् । श्रमदानको सूचना फेसबुक मार्फत नै जानकारी गराउँछन् । कार्यपालिका बैठक देखी महत्त्वपूर्ण भेटघाट उनको फेसबुकबाटै थाहा पाउन सकिन्छ । त्यसलाई उनी आफू पारदर्शी भएको प्रस्ट पार्छन् । 
उनको यही शैलीले समर्थकहरू बढ्दै गएका छन् । हक्की स्वभावबाट समर्थकहरूमा उत्साह थपिएको छ । उनले देखाउन चाहेको र देखाएको कुरा प्रति देश विदेशमै लोकप्रिय बन्दै गएका छन् साम्पाङ । साम्पाङ सँग समर्थकहरूको आकर्षण देखी लोभिएका छन् सङ्घीय सरकारका पर्यटन मन्त्री सुदन किराँती । 
किराँतीले पछिल्लो समय उनले पनि फेसबुकलाई आफ्नो प्रचारको माध्यम बनाएका छन् । साम्पाङकै शैली अपनाएका उनी कसरी लोकप्रिय बन्न सकिन्छ भन्ने अभ्यासरत छन् । विभिन्न राजदूत सँग भएका छलफलका विषय सहित फेसबुकमा राखेका छन् । 
गरिब जनताको घरमा सुट पाइन्टमा पुग्छन् र खाँदा माला नलगाउने उद्घोष गरेर चर्चा कमाउँछन् । हुन त उनी मन्त्री नियुक्त हुने दिन नै एउटा भावुक स्ट्याटस लेखे । आफ्ना बा अस्पतालमा भएको समयमा उनले गम्भीर शब्दावली सहितको पोष्ट गरे । जसको कारण उनी केही दिन चर्चामा रहे ।
अहिले धरानमा साम्पाङले श्रमदानमा बोलाएकै शैलीमा उनी पशुपति सरसफाइको निमन्त्रणा दिन्छन् । विमानस्थलको सरसफाइ गरेको देखी भ्रष्टाचार नियन्त्रण पनि फेसबुकबाटै गर्छन् उनी । पक्की पुल निर्माण भएको विषयमा पनि उनीबाटै जानकारी पाउन सकिन्छ । 
उनका पछिल्ला पोष्टहरुमा पनि साम्पाङकै झल्को आउँछ । उनी लेख्छन्, पुनः स्मरण रहोस् । पारिवारिक नातागोता र अन्य कुनै माध्यमबाट सोर्सफोर्स प्रयोग गरेर नआउनु होला । यदि आउनु भयो भने तपाईँको काम हुँदैन भनेर बुझ्नु होला । मलाई पद होइन परिणाम चाहिएको छ । नोट-तपाईँ आफै आएर मलाई आफ्ना कुराहरू राख्न सक्नुहुने छ । यो मन्त्रालय तपाईँ र आम नागरिकको हो ।’ जुन शैली लामो समयदेखि साम्पाङले प्रयोग गर्दै आइरहेका छन् ।