इटहरी : कोशी प्रदेशको नामाङ्कनमा असन्तुष्टि जनाएको कोचिला समुदायले किराँत वा लिम्बुवान नाममा असन्तुष्टि जनाएको छ । प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने माग गर्दै आएको कोचिला समुदायले छुट्टै नामाङ्कनको माग गरेको हो ।
लामो समयदेखि पहिचानवादी आन्दोलनमा होमिएको कोचिला समुदाय पुनः नामाङ्कनका लागि आन्दोलनरत पहिचानवादीको संयुक्त आन्दोलनबाट अलग भएको छ ।
झापा, मोरङ र सुनसरीका कोचिला समुदायले लिम्बुवान-किराँत नमान्ने उद्घोष गरेका हुन् । कोशी नाम परिवर्तन गर्नुपर्ने भए कोचिला राख्नुपर्ने उनीहरूको माग छ । विभिन्न जनसङ्घर्ष समिति गठन गरेका उनीहरूले एउटा मात्र समुदायको प्रतिनिधित्व हुने कुरा अस्वीकार्य हुने अडान लिएका छन् ।
कोचिला सङ्घर्ष समितिले विभिन्न अन्तरक्रियात्मक कार्यक्रम मार्फत प्रदेश नामाङ्कनमा आफ्नो धारणा सार्वजनिक गर्दै आएको छ । कोचिला सङ्घर्ष समिति झापाका अध्यक्ष त्रिनारायण राजवंशीले ऐतिहासिक दस्ताबेजको आधारमा कोशी प्रदेशलाई कोचिला राज्य घोषणा गर्नुपर्ने बताएका छन् । पुन:नामाङ्कन गर्दा लिम्बुवान वा किराँत नाम राखे अमान्य हुने उनले बताए ।
‘पहिचान सहितको प्रदेशको नामाङ्कन गर्ने भए कोच राज्य राख्नुपर्छ । कोचिला राज्यका लागि आफूहरूसँग सबै प्रकारका ऐतिहासिक दस्ताबेजहरू रहेका छन् । झापा, मोरङ र सुनसरी जिल्ला कोचहरूको थाँतथलो र भूमि हो । कसैले यसको ऐतिहासिकता मेट्न सक्दैन,’ उनले भने ।
राजवंशी समाज विकास समितिका अध्यक्ष गोपाल प्रसाद राजवंशी किराँत र लिम्बुवानले प्रदेशवासीको प्रतिनिधित्व गर्न नसक्ने तर्क गर्छन् । कपुरी न्युज सँग कुरा गर्दै उनले प्रदेशवासीको भावना समेट्न सक्ने नाम राख्नुपर्ने बताए । 
प्रदेशको विकाश सँग यहाँको पहिचान र ऐतिहासिकता झल्किनुपर्ने उनको भनाइ छ । कोचिला समुदाय अन्तरगत विभिन्न जातीय समुदायले किराँत लिम्बुवान् मान्न नसकिने धारणा सार्वजनिक गरेका हुन् ।