धरान : धरानका नगर प्रमुख हर्क साम्पाङले योजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी सडकमा रोपिएको खोर्सानी लाखौँ रुपैयाँ लगानी खेर गएको छ ।

सम्भाव्यता विना लहडको भरमा ल्याइएको योजनामा सडक पेटीको छेउमा गमलामा खोर्सानी रोपिएको हो । नगर प्रमुख साम्पाङले मनोगत लहडमा आर्थिक वर्ष २०८१/०८२ रातो किताबमा ‘मेयर भिजन’ सडकमा खोर्सानी योजना शीर्षकमा २ लाख रुपैयाँ बजेट राखेका थिए ।

श्रमदाता, सहयोगीदेखि उपमहानगरपालिकाको लगानीमा रोपिएको खोर्सानी योजना बालुवामा पानी खन्याए सरह भएको छ । तर नगर प्रमुख साम्पाङले दोस्रो पटक पनि सडकमा खोर्सानी रोपेका छन् । दोस्रो पटक रोपिएका खोर्सानी उपमहानगरपालिकाको कर्मचारी सहित श्रमदाताहरूले रोपेका हुन ।

गत वर्ष प्रमुख साम्पाङले सडक भरी खोर्सानी रोपेर खोर्सानी उत्पादन गरेर धरानलाई खोर्सानीमा आत्मनिर्भर बनाउने भाषण गरेका थिए । उनले सडक किनार भरी खोर्सानी रोप्ने अभियान समेत चलाए ।

खोर्सानीमा धरानलाई आत्मनिर्भर बनाएर उत्पादित खोर्सानी निर्यात गर्ने फेसबुक स्ट्याटस समेत लेखेका थिए । उनले धनकुटे रोड सडक किनार र आसपासमा खोर्सानी रोपाएका थिए । त्यस बेला उनले सबै सामु भनेका थिए, ‘घरछेउका बिरुवाको स्थानीयले नै संरक्षण गर्नुपर्छ ।’

तर, रोपिएको खोर्सानीको कसैले संरक्षण गरेनन् । सार्वजनिक सडक, चौविसै घण्टा मानिस, सवारी चलिरहने ठाउँमा खोर्सानी फले पनि सुरक्षित बोटैमा रहने सम्भावना कसैले देखेनन् । अहिले खोर्सानीको बिरुवा किकृक्क परेको, मरेको छ भने अधिकांश गमला नै गायब छन् ।

पहिलो चरणमा सडक पेटीमा रोपिएका खोर्सानीका बिरुवा दाताको आर्थिक सहयोग र श्रमदानबाट रोपिएका थिए भने दोस्रो चरणको खोर्सानी १ महिना अगाडी मात्र रोपिएका हुन ।

सडकछेउमा खोर्सानी रोप्नु उपयुक्त छ, छैन भन्ने सामान्य अध्ययन समेत नगरी हचुवाका भरमा बिरुवा रोपिँदा आर्थिक सहयोग र श्रमदान खेर गएको स्थानीयले बताए । एक नर्सरीका सञ्चालकका अनुसार गमला सहितको खोर्सानी रोप्दा प्रतिबोट ५०० रुपैयाँ खर्च हुन्छ । त्यस हिसाबले धनकुटे रोडमा रोपिएका खोर्सानीमा लाखौँ रुपैयाँ खर्च भएको देखिन्छ ।

अहिले धरानमा खानेपानीको अभाव भइरहेका बेला खानेपानी बोर्डको गाडीले खोर्सानीमा पानी हाल्ने गरेको छ । नाम उल्लेख गर्न नचाहने एक स्थानीयले भने ‘सुरुमा त हामीले पनि राम्रै होला भन्ने सोचेर सहयोग गर्‍यौँ तर, अहिले खोर्सानीको अवस्था गरिखाऊँ कि मरी जाऊँ जस्तो भएको छ ।’

उनीहरू खुलेर नगर प्रमुख साम्पाङको ‘खोर्सानी योजना’ सफल हुँदैन भन्न डराउँछन् । एक स्थानीय भन्छन् ‘यो तालले खोर्सानीबाट आत्मनिर्भर हुने होइन, लगानी पनि बालुवामा पानी खन्याए जस्तो भइरहेको छ ।’

वातावरण विज्ञ पत्रकार आनन्द श्रेष्ठका अनुसार सडक छेउ कुनै पनि बिरुवा रोप्न परे सडक देखि ५ देखि ६ मिटर पर रोप्नु पर्ने हुन्छ । सडक पेटीमा खोर्सानी फलफूल भन्दा पनि क्याक्टस प्रजातिको बिरुवा रोप्नु उचित हुने उनको भनाई छ ।

उनले भने ‘बाटोको छेउमा बढी कार्वनडाईअक्साईड उत्पादन हुने हुनाले सडकको छेउमा बढी भन्दा बढी अक्सिजन उत्पादन गर्ने बिरुवा रोप्नुपर्छ, वातावरणीय हिसाबले पनि सडक पेटीमा खोर्सानी रोप्नु उपयुक्त होइन ।’ श्रेष्ठका अनुसार सडक छेउमा वातावरणीय हिसाबले धुवाँ धुलो प्रदूषणमा फलेको फलफूल तथा खोसार्नीले स्वास्थ्यमा प्रतिकुल असर पार्दछ ।

उनले भने ‘त्यसैले बाटोको छेउमा फलेका फलफूल खान अयोग्य हुन्छ ।’ प्राकृतिक स्रोतबाट आएको धुलो, प्रायः थोरै वा शुन्य बोट बिरुवा भएको ठाउँमा मिथेन उत्पादन गर्ने भएकोले त्यहाँबाट उत्पादित बस्तु खादा स्वास्थ्यमा प्रतिकुल असर पर्ने उनले बताए ।

वायु प्रदूषणको कारण मानव स्वास्थ्यमा विभिन्न प्रकारको स्वास्थ्य समस्या निम्त्याउँछ । वायु प्रदूषणले मानव स्वस्थमा मात्र नभएर जनावर तथा जीवजन्तु र बोट बिरुवा समेतलाई नकारात्मक असर गर्दछ । उनले भने ‘हेरचाहार भए पनि त्यस्तो ठाउँको बिरुवा सप्रँदैन र राम्रो फल्न सक्तैन ।’