• वासुदेव बराल

यतिबेला भारतको प्रयागराजमा महाकुम्भ आयोजना हुदैछ । करिब ४० करोडको सङ्ख्यामा श्रद्धालु आउने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको आङ्कलन छ । भारत सरकारले ६ हजार ९ सय ९० करोड रुपैयाँ यो महाकुम्भका लागि लगानी गरेको छ । त्यसबाट उसले राजस्व मात्र २५ हजार करोडको सङ्कलन गर्ने लक्ष्य राखेको छ । महाकुम्भमा आवास, यातायात, खाना, सपिङ, दान, मनोरञ्जन लगायतमा मानिसहरूले १ लाख ३० हजार करोड रुपैयाँ खर्च गर्ने भारत सरकारको अनुमान छ । यसरी त्यहाँको अर्थतन्त्र यो डेढ महिनामा करिब २लाख ५० हजार करोडको हुने भारत सरकारले प्रक्षेपण गरेको छ ।

गत वैशाखमा चतरामा करिब ३० लाख श्रद्धालु आए । उनीहरूको आगमनले चतराको मात्र होइन सुनसरीको र पुरै मुलुकको केही अंश अर्थतन्त्रमा प्रभाव पार्‍यो । अर्थतन्त्र अत्यन्त मन्दी भएको भनिएको बेला नागरिकको आवागमनले अर्थतन्त्र चलायमान हुन मद्दत ग¥यो । करिब डेढ लाख गाडीहरू यहाँ आए । ३० लाखले सरदर १ हजार मात्र खर्च गर्दा पनि ३ अर्ब रुपैयाँ बाहिर निस्कियो । तर, यो अत्यन्त थोरै आङ्कलन हो । टाढाबाट आएकाहरूको खर्च यो भन्दा कैयन बढी थियो । सरसर्ती हेर्दा एक महिनामा चतराको कुम्भ मेलाका लागि मानिसको ५ अर्ब रुपैयाँ बजारमा निस्कियो ।

विषय प्रवेश : राजधानी पूर्व एउटै जिल्लामा सबैभन्दा धेरै र पौराणिक सम्पदाहरू सुनसरी जिल्लामा रहेका छन् । ती सम्पदाहरूबाट हाम्रो समृद्धि सम्भव छ । तर हामीले विगतदेखि बारम्बार चर्चा गरे पनि धार्मिक पर्यटनलाई हाम्रो पर्यटनको मूल श्रोत बनाउन सकेनौ । धरतीको पहिलो तीर्थ, पहिलो गुरुकुल, रुद्राक्ष उत्पत्ति भूमि, पहिलो श्राद्धस्थल लगायत धेरै धार्मिक सम्पदा भएर पनि हामीले यसबाट यस जिल्लाका नागरिकको र सरकारको आर्थिक विकासमा यथेष्ट वृद्धि गर्न सकेनौ र त्यसतर्फ आकर्षित पनि हुन सकेनौ । सुनसरीको समृद्धि धार्मिक पर्यटनबाट भन्ने दृष्टिकोणबाट यो आलेख तयार गरिएको छ । 

सुनसरीको पर्यटनको अवस्था : सुनसरीको धार्मिक इतिहास अनादिकाल देखी हो । ती सँगै पौराणिक कालदेखीको सिकार खेल्ने कोशी टप्पु हाल नेपालकै चर्चित आरक्ष केन्द्र बनेको छ । आधुनिक कालखण्डमा भेडेटार चिसो मौसम र छुट्टी बिताउने थलोको रूपमा परिचित छ । आधुनिक परिवेशका लागि धरानले प्रदेशमै आफूलाई उभ्याएको छ । साहसिक खेल पर्यटनका लागि अहिले सम्म प्रदेशमा धरानको विकल्प तयार भैसकेको छैन । एउटा पाँच तारे होटेल सञ्चालनमा छ । अरू थपिँदै छन् । होटलकै सङ्ख्या पनि करिब हजार हाराहारी होलान् । यहाँको घोघी, कालो नुनीया धानको भात, कालो बङ्गुरको मासु, तोङ्वा जस्ता खाद्य परिकारले यहाँको कृषि पर्यटनको सम्भावना पनि देखाउँछ । यसरी हेर्दा प्रवर्धन र विकास गर्न सकेको खण्डमा सुनसरीको पर्यटनको अवस्था सकारात्मक देखिन्छ ।

सुनसरीमा धार्मिक पर्यटनको अवस्था : राजधानी पूर्व सर्वाधिक धार्मिक तीर्थस्थल सुनसरी जिल्लामै रहेका छन् । धरतीको पहिलो तीर्थ वराहक्षेत्र मन्दिर, भगवान् विष्णुले पितृहरूको श्राद्ध गरेर संसारमा श्राद्धको प्रचलन गर्नुभएको विष्णुपादुका मन्दिर, संसारको पहिलो गुरुकुल जहाँ भगवान् रामले ऋषि विश्वामित्रसंग शास्त्र र शस्त्रको शिक्षा लिनुभएको रामधुनी यही क्षेत्रमा पर्दछ । समुद्र मन्थन पश्चात् अमृत पान गरेको प्राचीन हरिद्वार, अमृतको सारबाट स्थापना गरिएको पिण्डेश्वर, रुद्रको अश्रु (आशु) बाट रुद्राक्षको उत्पत्ति भएको रुद्राक्षारण्यको केन्द्र यही जिल्लामा पर्दछ । सतीदेवीको दन्तपतन भएको दन्तकाली मन्दिर, स्थानीयले अत्यन्त श्रद्धाले आराधना गर्ने बुढासुब्बाको मन्दिर, प्रदेश कै पहिलो र ख्यातीप्राप्त विश्वकर्मा मन्दिर लगायत अनगिन्ति मठ मन्दिरहरू यही क्षेत्रमा छन् । नेपालमै बोलबमको चलन यहीबाट सुरु भएको हो । 

धार्मिक पर्यटनको सम्भावना : पर्यटनको कुरा गर्दा हामीले धार्मिक पर्यटनलाई जहिल्यै बेवास्ता गर्ने गरेका छौ । तर धार्मिक पर्यटन नै हाम्रो समृद्धिको आधार बन्न सक्छ भन्ने केही उदाहारणहरुले देखाउँछ । भारतको अयोध्यामा ठिक एक वर्ष अघि रामजन्मभुमीमा भगवान् रामको भव्य मन्दिर निर्माण भयो । करिब ८० हजार जनसङ्ख्या भएको अयोध्यामा एक वर्षमा १३ करोड ५५ लाख पर्यटकले भ्रमण गरेको देखिएको छ । एउटा मन्दिरको निर्माण र त्यसको प्रवर्धनले त्यहाँको अर्थतन्त्रमा कायापलट भयो । 

जगन्नाथपुरी मन्दिरले मात्र एक वर्षमा २ सय ७० करोड आम्दानी गर्‍यो । वाराणसीमा मात्र एक वर्षमा करिब ७ करोडले भ्रमण गरे । कामाख्याको मन्दिरमा चार दिन लाग्ने अम्बुवाची मेलामा यो वर्ष ३० लाखले भ्रमण गरे । यी केही उदाहरण मात्र हुन् । ती मानिसहरूले भ्रमण मात्र गरेनन् त्यसको हजारौँ गुणा खर्च पनि गरे । ती मन्दिरहरूका कारण मन्दिर भएको सहरहरूका आम मानिसले पनि रोजगार पाए, त्यहाँको अर्थतन्त्र बलियो भयो । त्यति मात्र होइन पुरै भारतको अर्थतन्त्रमा धार्मिक पर्यटनले त्यहाँको कुल गार्हस्थ्य उत्पादनमा तीन प्रतिशतको योगदान गरेको छ । जबकि नेपालको कुल गाह्रस्त उत्पादनमा पुरै पर्यटनको २.१ प्रतिशत मात्र छ ।

ठुलो जनसङ्ख्या भएको, सीमा जोडिएको र खुल्ला आवागमनको सुविधा भएको हुँदा भारतका हिन्दुहरू हाम्रो पर्यटनका श्रोत हुन सक्छन् । तर पनि हाम्रा धार्मिक केन्द्रहरूमा श्रद्धालुहरूको आवागमन सङ्ख्या खुसी हुनु पर्ने खालको देखिँदैन । चतरामा करिब ३० लाख श्रद्धालु आए भनियो तर त्यो सङ्ख्या वार्षिक होइन एक दशकमा एक पटकको सङ्ख्या हो । ताप्लेजुङको पाथीभरामा वार्षिक करिब तीन लाख भक्तजन आएको आङ्कलन छ । मुस्ताङको मुक्तिनाथ, पशुपतिनाथ र जनकपुरले भने भारतीय पर्यटकलाई आकर्षित गरेको छ । तर सुनसरीमा यत्तिका पौराणिक तीर्थस्थलहरू भएर पनि उनीहरूलाई आकर्षित गर्न सकिएको छैन । 

धार्मिक सँगसँगै सांस्कृतिक पर्यटन, साहसिक पर्यटन, पर्यापर्यटनका क्रियाकलाप भएको क्षेत्र भएकोले सुनसरी धार्मिक पर्यटनको अत्यन्त उर्वर क्षेत्र हो । आन्तरिक पर्यटक र भारतीय पर्यटक यहाँका राम्रा श्रोत हुन सक्छन् । उपचार, व्यापार, अध्ययन गर्न आउने र उनीहरूका परिवारलाई यहाँका मठमन्दिरहरूको प्रवर्धन गर्न सक्दा पनि सुनसरीले तत्काल केही पर्यटकहरूको सङ्ख्यामा बढोत्तरी गर्न सक्छ । पहिलो चरणमा ११ करोड बिहारवासी र ९ करोड बङ्गालवासीलाई मात्र टार्गेट गरेर प्रवर्धन गर्न सक्दा सुनसरी मात्र होइन कोशी प्रदेश कै पर्यटन विकासको सम्भावना देखिन्छ ।

सुनसरीको धार्मिक पर्यटनको सबल पक्ष :

  •  वैष्णवहरूको मुख्य तीर्थस्थल वराहक्षेत्र
  • शैव र शाक्तहरूको तीर्थस्थल पिण्डेश्वर र दन्तकाली
  • मठमन्दिरहरू नजिक नजिक भएकाले सबैको दर्शन गर्न सकिने 
  • लक्षित वर्ग धेरै भएको छिमेकी (हिन्दु धेरै भएको भारत)
  • कोशी प्रदेशसँग जोडिएका भारतका जिल्लाहरूको जनसङ्ख्या करिब दुई करोड 
  • बिहारबाट नजिक र भारतीयहरूलाई निर्बाध आवागमनको सुविधा
  • पर्यटनका सहायक तत्त्वहरूको बाहुल्यता
  • प्रदेश १ मा पर्यटनमा नेतृत्वदायी जिल्ला बन्न सक्ने आधार
  • पर्यटन अनुकूल वातावरण 
  • जातीय विविधता
  • वरिपरि प्रशस्त पर्यटकीय क्षेत्र
  • बढ्दो रोड कनेक्टिभिटी 
  • रुद्राक्षको शुद्धता र ब्राण्डिङको अवस्था 
  • गल्फ ग्राउण्ड
  • बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना र सञ्चालन
  • प्याराग्लाइडिङ र र्याफटिङको सुविधा 
  • सुनसरीको पर्यटनका कमजोर पक्ष : 
  • शास्त्रीय प्रमाणको उजागर हुन नसक्नु
  • प्रमाण अनुसारको व्याख्याको अभाव
  • कथाहरूको विश्वासीयताका समस्या 
  • मठ मन्दिरमा वैभवताको अभाव
  • मठमन्दिर रहेका बजार र सहरमा आध्यात्मिक वातावरणको अभाव 
  • हाम्रो पर्यटनका मुख्य बजारहरूमा प्रचार प्रवर्धनको अभाव
  • हजारौँ वर्षदेखिका प्रसिद्ध भारतीय तीर्थस्थलहरू सँगको प्रतिस्पर्धा 
  • मन्दिरहरूको व्यवस्थापनमा समस्या 
  • स्थानीय यातायातकर्मीहरूको कमजोर पर्यटन चेत
  • गाइडको अभाव र हालका लागि गाइड पेसा आर्थिकरुपमा कमजोर
  • मन्दिर नजिक भएका व्यवसायीहरूमा समेत पर्यटन चेत र मन्दिरहरूको बारे प्रवर्धन गर्न सक्ने क्षमतामा कमी 
  • तीर्थस्थलहरूमा कनेक्टिभिटीको अभाव
  • गर्न सकिने कार्यहरू
  • टार्गेट ग्रुपको छनोट र टार्गेट ग्रुप अनुकूल मार्केटिङ
  • पौराणिक तथ्यहरूको श्रोत र खोजीको आवश्यकता
  • तथ्यहरूको विश्वसनीय प्रचार 
  • मन्दिरहरूको पूर्वाधार विकासमा जोड 
  • मन्दिर व्यवस्थापनमा सुदृढीकरण 
  • प्रविधि अनुसारको प्रचार र प्रवर्धन 
  • पर्यटक मैत्री वातावरण निर्माणमा जोड
  • लगानीमा बढोत्तरीमा जोड 
  • पर्यटनमा ग्ल्यामरताको प्रयोग
  • कुलीन वर्ग आउन सक्ने वातावरणको विकास 
  • भारतीय बजारमा नियमित प्रचार र प्रवर्धन 
  • मठमन्दिरहरूमा क्यालेण्डर निर्माण र सो अनुसार उत्सव, पर्व, पूजाहरूको आयोजना र त्यसको प्रचार 
  • मन्दिर क्षेत्रहरूमा आध्यात्मिक वातावरण विकास
  • स्थानीयहरूमा वर्षमा एक पटक पुग्नै पर्छ भन्ने भावनाको विकास

भूमिका : 

सङ्घीय सरकार : 

स्थानीय सरकार र प्रदेश सरकारले देश बाहिर प्रवर्धनमा खर्च गर्न नपाउने कानुनी समस्याको संशोधन 

सुनसरीमा रहेका पौराणिक र पुरातात्त्विक महत्वका मन्दिरहरूको अधिकार सम्पन्न एउटै समिति गठन 

यस्तो समितिलाई वृहत् विकासको योजना सहित बजेट विनियोजन र जिम्मेवारी

केन्द्रीय पर्यटन बोर्ड र विभागहरूले कोशी प्रदेशकै प्रवर्धनमा गरिने बेवास्तामा सुधार 

सुनसरीको धार्मिक पर्यटनलाई पनि मुलुकको मुख्य पर्यटकीय उत्पादनका रूपमा स्वीकार र प्रवर्धन 

 प्रदेश सरकार : 

धार्मिक क्षेत्रमा मसिना बजेट विनियोजनमा सुधार 

नागरिकसँग सहकार्यको रणनीतिमा धार्मिक क्षेत्रमा भव्य संरचनामा लगानी 

मन्दिर व्यवस्थापन समितिहरूको क्षमता विकास र प्रवर्धन सिपका लागि लगानी 

प्रदेशको पर्यटन प्रवर्धन सामग्रीहरूको प्रशस्त उत्पादन 

मन्दिर र अन्य पर्यटकीय क्रियाकलाप सरोकारवालाहरू सँगै कनेक्टिभिटीमा पहल प्रयास

पर्यटकीय क्षेत्रको पहुँच मार्गको निर्माण र सुचारु सञ्चालन

स्थानीय सरकार : 

धार्मिक क्षेत्रको एकीकृत प्रचार र प्रवर्धन 

स्थानीय धार्मिक तीर्थस्थलहरूको ब्रोसर, पुस्तक र डिजिटल सामग्री उत्पादन

पर्यटन प्रवर्धन र विकासमा अभिभावकत्व ग्रहण

पर्यटनको वार्षिक क्यालेण्डर निर्माण, प्रवर्धन र व्यवसायी एवम् सरोकारवालाहरूलाई क्यालेण्डर अनुसार उत्सव, चाड र कार्यक्रम गर्न सुझाव र निर्देशन  

क्यालेण्डर अनुसार कार्यक्रम गर्न बजेट विनियोजन

स्थानीय यातायातकर्मी, साना व्यवसायी सरोकारवालाहरूमा पर्यटन चेतको विकासको कार्यक्रम सञ्चालन 

पर्यटनकर्मीहरूमा क्षमता विकासका कार्यक्रम सञ्चालन

निजी क्षेत्र :

धार्मिक पर्यटन पर्यटन विकासको आधार हो भन्ने भावनाको विकास

पर्यटन पूर्वाधारका बहुआयामिक क्षेत्रमा लगानी 

सरकारको लगानीको समुचित उपयोग

सरकारहरूसँग पर्यटन विकासकालागि सहकार्य

आफ्ना व्यवसाय र आफ्नो क्षेत्रको प्रचार प्रसारमा जोड 

व्यवसायीक र प्रवर्द्धनात्मक क्षमताको विकास 

पर्यटक मैत्री भावनाको विकास

निष्कर्ष :  सुनसरीका धार्मिक क्षेत्रहरूको बाहुल्यताले गर्दा यो जिल्ला कोशी प्रदेशकै धार्मिक पर्यटनमा नेतृत्वदायी जिल्ला बन्न सक्ने देखिन्छ । यसका लागि सबै पक्षको भूमिका बराबर भएकोले सबै पक्षले समान हिसाबले कार्य गर्न पनि आवश्यक छ । हाम्रा प्रोडक्ट र प्रोडक्ट अनुसारको टार्गेट ग्रुपको छनौट र टार्गेट ग्रुपको आवश्यकता र चाहना अनुसारको प्रोडक्ट प्याकिङ गर्न पनि आवश्यकता देखिएको छ । 

हामीले अहिलेसम्म यथास्थितिमै धार्मिक पर्यटनको कुरा गरिरहेका रहेछौँ । अब यसलाई हाम्रा प्रतिष्पर्धीसंग प्रतिस्पर्धा गर्ने र यसलाई व्यवसायीक विकासको माध्यम बनाउने गरी रणनीति निर्माण गर्न आवश्यक छ । यसरी रणनीति निर्माण गरेर अगाडी बढेको खण्डमा हाम्रो पर्यटन हाम्रो समृद्धिको उपाय हुनसक्ने प्रशस्त आधारहरू बन्ने देखिन्छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घले २०८१ माघ ६ गते आयोजना गरेको गोष्ठीमा प्रस्तुत कार्यपत्र।