नेपालको समाज अध्ययन-अनुसन्धानबारे ‘मार्टिन चौतारी’ नामक गैर सरकारी संस्थाले केही न केही योगदान गरेको छ । हुन पनि सो संस्थाले विगत १३/१४ वर्षदेखि नियमित रूपमा ‘समाज अध्ययन’ नामक जर्नल (वार्षिक !) प्रकाशित गर्दै आएको छ । विसं २०६३ (सन् २००६) देखि नै मार्टिन चौतारीले नेपालका जातजाति, भाषा भाषी, धर्म, महिला, लिङ्ग, प्रकाशन, प्रसारण, समावेशीकरण लगायत विविध विषयहरूमा अध्ययन–अनुसन्धानात्मक ढङ्गले जर्नल प्रकाशित गर्दै आएको छ । यसै क्रममा ‘मार्टिन चौतारी’ को अङ्क १३ मा प्रकाशित (विसं २०७५ /सन् २०१८) लेखक भोगीराज चाम्लिङले लेखेको ‘किराँत राई जातिमा मृत्यु संस्कार र चिन्तन’, पाना-९९/१०१ । शीर्षकको लेखमा उल्लेखित केही प्रसङ्गबारे छोटोमा टिप्पणी गर्ने प्रयास गरिएको छ । निश्चय नै लेखकले भनेझैँ ‘किरातीहरु दार्शनिक दृष्टिकोणले समृद्ध जाति हुन् ।’ यसमा कसैको दुई मत नहोला । तर, लेखकले सो लेखमा राई के–कसरी र कति कारणले जाति नै हो ? सो बारे वास्तविक कुरो वर्णन नगरी/नलेखीकन वा भनौँ आम पाठकहरूलाई नबताईकन खालि एकोहोरो रूपमा ‘राई जाति, राई जाति !’ भनी लिँडे–ढिपी गरेका छन् । वास्तवमा अरू पनि केही राईवाला मानिसहरू छन्, जो राई ! के हो ? भन्ने वास्तविकतालाई उजार नगरी अन्ट-सन्टमै राई जात भनी लेख्ने गरेका छन्, लेखी रहेका छन् ।

त्यस्तै लेखक भोगीराजले पनि जबर जस्ती ‘राई !’ लाई जातिमा स्थापित गर्ने क्रम जारी राख्ने प्रयास गरेका छन् । जबकि, राई नेपालको कुनै जात वा जाति नभएर नेपालका भगौलिक एकीकरणपछि त्यो वेलासम्म एकै रहेको किराँती भूमि र किराँती जातिहरू (सम्भवतः त्यो वेलासम्म लिम्बु, खम्बु, सुनुवार, याक्खा, थामी, हायु, धिमाल आदिको अस्तित्व स्थापित भई सकेको थियो) लाई विभाजन गरेर/फुटाएर जस्तै वल्लो किराँत, माझ किराँत र पल्लो किराँत बनाइयो भने, ती क्षेत्रका स्थानीय टाठा/बाठा किरातीहरुलाई हातमा लिएर ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदि पदवी वा भनौँ पगरी दिइयो । तर, यसबारेमा भने, भोगीराज लगायत राई जातिवाला सर/म्याडमहरू कहिल्यै पनि लेख लेखेनन्, अनुसन्धान गरेनन् । बरु उनीहरू अझै पनि ‘जसले राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन कि, तीन पुस्ते, शैक्षिक प्रमाणपत्र, जग्गा–धनी पुर्जा, पेन्सन–पट्टा, ड्राइभिङ लाइसेन्स, विद्यार्थी कार्ड, वृद्ध-भत्ता कार्ड आदिमा समेत राई छ ! भनी लेख्ने गर्छन्, राई बारेमा प्रश्न गर्ने जो कोहीलाई यस्तै ओठे जवाफ दिन्छन् । जबकि जाति हुनलाई चाहिने आधार भनेको समुदायको ऐतिहासिक भूमि, अरूको भन्दा छुट्टै मातृभाषा, भेषभुषा, परम्परागत कानुन, रीतिथिति, अरूको भन्दा भिन्न रहनसहन, संस्कार, संस्कृति, हामी भन्ने भावना, तँ सानो म ठुलो भन्ने भावना नभएको छुवाछुतविहीन समाज, चाडबाड आदि हुनुपर्ने भन्ने विश्वव्यापी मान्यता रहेको छ । नागरिकता, तीन पुस्ते, शैक्षिक प्रमाणपत्र, जग्गा-धनी पुर्जा, पेन्सन-पट्टा, ड्राइभिङ लाइसेन्स, विद्यार्थी कार्ड, वृद्ध-भत्ता कार्ड आदि त तपशीलमा रहने कुरोहरू भए ।
तर, लेखकले नेपालका अन्य जातजाति जस्तै स्वतन्त्र जातीय अस्तित्व भएका केही किराँती जातिहरूको टाउकामा राई ! को फुर्को झुन्ड्याउँदै (जस्तै कुलुङ जातिलाई कुलुङ राई !, खालिङ जातिलाई खालिङ राई ! ) चाम्लिङ जातिको (तर, उनीहरू राई ! नै भन्छन्) मृत्यु लगायत अन्य केही संस्कार र संस्कृतिबारे तुलनात्मक ढङ्गले वर्णन गर्न खोजेका छन् । उनले आफ्नो सो लेखमा भाषा, संस्कार र सांस्कृतिक कार्यहरूको उदाहरण र विवरणचाहिँ अधिकांश चाम्लिङकै राखेका छन् । जस्तै सहज मरण (नक्मइ) र असहज मरण (झेत्मइ) यो शब्द सम्भवतः चाम्लिङ जातिको मरणको सवालमा प्रयोग गरिन्छ होला । किनभने, उनले आप्mनो लेखमा उदाहरण दिइएको मरणमा कुलुङ जातिले त्यो शब्द प्रयोग गर्दैनन् । तर, उनको लेखमा त्यही नै सबै राई करणमा परेका जातिहरूको मरणमा प्रयोग गरिने शब्द हो ! भन्ने भान वा भनौँ भ्रम पार्न खोजेका छन् । त्यस्तै भूमि पूजा (साकेला), चुला पूजा (हुइलुङ), पानी पूजा (वाइको) (पाना नम्बर-१०१ हेर्नोस्) शब्द पनि कुलुङ जातिले प्रयोग गर्दैनन् । यसरी हेर्दा उनले राई करणको वृहत् आवरणभित्र सबै किरातीहरुलाई चाम्लिङ ! करण गर्न खोजेका छन् ।
त्यसैले हाम्रो देशमा रहेका ‘मार्टिन चौतारी’ लगायत अन्य अध्ययन-अनुसन्धानरत सङ्घ-संस्थाहरूले यसरी नेपालका कुनै पनि जातजाति, भाषी, धर्म वर्ण, लिङ्ग आदिका बारे अध्ययन-अनुसन्धान मूलक किताब, जर्नल, सोध–ग्रन्थ, लेख, प्रकाशित गर्दा कपम्तमा राज्यको अभिन्न अङ्गको रूपमा रहेको केन्द्रीय तथ्याङ्क विभागले हरेक १०-१० वर्षमा गर्ने गरेको राष्ट्रिय जनगणनाहरूको तथ्याङ्क हेर्ने, स्वदेशी-विदेशी खोज तथा अनुसन्धानकर्ताहरुले गरेको खोज तथा अनुसन्धान गरेर लेखेको किताब वा अध्ययन अनुसन्धानलाई पनि हेरेर रुजु गर्ने बानी बसाल्न सुरु गर्ने हो कि ? नत्रभने, यस्ता कयौँ भोगीराजहरुले अरूको अस्तित्वलाई नामेट पार्दै÷पार्ने प्रयास गर्दै आफ्नो नामको अगाडि मुन्धुमविद्, संस्कृतिविद्, संस्कारविद्, भाषाविद्, जातिविद्, जनसंख्याविद, कानुनविद् र प्राडाको फुर्को झुन्डाउँदै हामी जस्ता राज्य र मिडिया अनि अन्तर्राष्ट्रिय रूपमा पहुँच नहुने/नभएका जातिहरूलाई जबर जस्ती राई ! जातिमा सम्मिलीकरण (एस्सीमिलेसन) गरी रहने छन् ।
आशा छ, आगामी दिनमा मार्टिन चौतारी जस्तो मिडिया र समाज अध्ययनको क्षेत्रमा केही हदसम्म विश्वासिलो र भर पर्दो मानिएको संस्था र ‘समाज अध्ययन’ जर्नलको टिममा रहेका विद्धान महानुभावहरूले कुनै पनि ... विद, ... विज्ञ, प्राडा, अनुसन्धानकर्मी, खोजकर्ता भनिनेहरूले पठाएको सामग्री भन्दैमा ‘क्रस-चेक’ वा भनौँ ‘भेरिफाई’ नगरी अन्धाधुन्ध ढङ्गले प्रकाशित गर्नु हुने छैन । जस्तो विसं २०६८ को राष्ट्रिय जनगणनाको तथ्याङ्क हेर्नु भयो भने, त्यहाँ कुलुङ जातिको जनसङ्ख्या २८ हजार ६१३ जना देख्नु/भेट्नु हुने छ भने, कुलुङ मातृ भाषीको सङ्ख्या ३३ हजार १७० जना रहेको छ । त्यति मात्रै होइन, त्यहाँ कुलुङबाहेक अरू ११ वटा किराँती जातिहरूको पनि अलग्गै जातीय र भाषिक तथ्याङ्क आएको छ । तापनि भोगीराज जस्ता लेखक वा ... विद भनिनेहरू ती जाति वा समुदायलाई कथित् राई ! जातिमा सम्मिलीकरण गर्नमै रमाई रहेका देखिन्छन् । त्यसमा ‘मार्टिन चौतारी’ जस्ता संस्थाहरूले नै जानी–नजानी साथ दिएपछि त कसको ... के नै लाग्छ र !
वास्तवमा यस्ता लेखक वा ... विद भनिनेहरूलाई अरूको जातीय स्वपहिचान वा कुनै पनि जाति वा समुदायको ‘म को हुँ ? वा हामी को हौँ ? भन्ने आत्मनिर्णयको अधिकार हनन् गरेकोमा त्यसका विरुद्ध कानुनी उपचारमै जानुपर्ने हो कि ? वास्तवमै विचारणीय पक्ष रहेको देखिन्छ ।