धरान : धरानमा बर्षायाममा पनि खानेपानीको अभाव झेल्नुपर्ने समस्या रहेको छ ।

एसियाली विकास बैकको ऋण तथा अनुदानमा धरानमा खानेपानी परियोजना सञ्चालन भएको थुप्रै वर्ष बितिसक्यो । खानेपानी संस्थान र धरान खानेपानी ब्यावस्थपन बोर्डको झिनो मसिनो समस्याको कारण धरानवासी बर्षायाममा पनि काकाकुल बन्न बाध्य भएका हुन् ।

असार महिनाको आधा बितीसक्दा पनि अझै धरानमा खानेपानी समस्या सुख्खा याम हिउँद महिनाको जस्तै रहेको छ । धरानका अधिकांश क्षेत्रमा अझै पनि खानेपानी एक दिन बिराएर वितरण हुँदा धरान बर्षायाममा पनि काकाकुल बन्ने गरेको छ । एक दिन बिराएर आउने खानेपानी वर्षाको कारण कहिले कही लेदो मिसिएका पातपतिंगर सहितको पानी आउँदा उपभोक्ताको घरमा जडान गरेको मिटर टालिएर पानी नै बन्द हुने समस्या छ ।

धरान उपमहानगरपालिकाको भर्खरै सम्पन्न सातै नगर सभामा साउन १ गते देखि खानेपानी संस्थानलाई धरान खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गर्ने भनिएको छ । नगर सभामा यस्तो घोषणा गरिरहँदा धरानमा भने खानेपानी समस्या ज्युकात्युनै रहेको छ ।

धरानमा बर्षायाममा पनि खानेपानी दैनिक वितरण गर्न नसक्नु र लेदो पानी आउनुको कारणबारे धरान खानेपानी व्यवस्थापन बोर्डका प्रमुख तथा एकीकृत सहरी विकास आयोजनाका आयोजना प्रमुख इन्जिनियर राजु पोख्रेलले यो सबै खानेपानी संस्थानको लापर्वही हो भने । परियोजनाले जमिन मुनिबाट पम्पको माध्यमबाट तानिएको पानीमा त्यस्तो लेदो नआउने भन्दै उनले भने परियोजनाले अहिले सम्म धरान १५,१७ र ११ नम्बर वडाको केही भागमा मात्रै पानी वितरण गरिँदै आएको छ अरू तिर संस्थानकै पानी वितरण भइरहेकोले त्यस्तो भएको पोख्रेलले बताए ।

यता सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त सङ्घर्ष समितिका संयोजक सुरेन्द्र गोलेले भने अहिले दिन बिराएर आधा घण्टा मात्र पानी आउने गरेको, पानीको चाप अत्यन्त कम भएकाले पानी तान्न मोटर जडान गर्नु परेको र पानी पनि लेदो मिसिएको आउने गरेको जनगुनासो अनुगमनका क्रममा पाइएकाले एडिबीले धरानलाई ठग्नु ठगेको बताएका छन् ।

अनुगमनका क्रममा घर लौरी बाटो मै मोटर जडान गरी पानी तानेको पाइएको उनले बताए । धरानवासी उपभोक्ताहरूले टङ्कीमा पानी नचढेपछि बाध्य भएर मोटर जडान गर्नु परेको बताएका छन् । लेदो मिसिएको पानी त्यो पनि आधा घण्टा मात्र आएपछि फोहोर पानी खान बाध्य भएको र फोहोर पानीका कारण स्वास्थ्यमा समेत असर परेको गुनासो उपभोक्ताहरूले गरेका छन् । उनीहरूले पर्याप्त शुद्ध पानी खा नपाउनु पर्ने माग गरेका छन् ।

अरबौँ लगानीमा निर्माण गरिएको आयोजनाले पनि डी.पी.आर., सम्झौता एवम् लक्ष्य बमोजिम पानी उत्पादन र वितरण गर्न नसकेकाले यो आयोजनाको फिनान्सीयल अडिट र टेक्निकल अडिट गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै आयोजना असफल बनाउने एडिबी, परामर्शदाता, आयोजना प्रमुख र ठेकेदार कसैलाई पनि छोड्न नहुने गोलेले बताए ।

धरान उपमहानगरले विज्ञ मार्फत आयोजनाको अध्ययन र छानबिन गर्ने बताएको महिना दिन व्यतित् हुँदा समेत विज्ञ टोली गठन नहुनुले खानेपानी जस्तो संवेदनशील विषयमा उपमहानगर गम्भीर नदेखिएको र आयोजना सफल भएको प्रमाणीकरण नै नगरी खानेपानी संस्थानको धरान शाखालाई खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरेर सरकारी संरचना मास्न हतारो गरेको आरोप लगाउँदै आयोजना सफल भएको प्रमाणित नहुँदासम्म खानेपानी संस्थानलाई चलाउन नहुने गोलेको भनाई छ ।

असफल आयोजनाका कारण बोर्डले पानी खुवाउन नसक्ने अवस्था देखिएकाले पनि खानेपानी व्यवस्थापन र आपूर्तिको सुनिश्चितता नभएसम्म संस्थानलाई यथावत् राख्नु उचित हुने तर्क गर्दै आयोजनाको पूर्ण परीक्षण र सञ्चालनमा भने संस्थानको सहयोग जारी रहनुपर्ने उनले बताएका छन् ।

नेपाल खानेपानी संस्थान र धरान खानेपानी व्यवस्थापन बोर्ड बिच मर्ज भयो भने पनि धरानमा खानेपानी पुर्णरुपमा दुरुस्त बनाउन करिब नौ महिना सम्म लाग्न सक्ने प्रमुख पोख्रेलले बताए ।