नेपाल कम्युनिष्ट पार्टी सुनसरी जिल्ला कमिटीको बैठक बस्ने भयो । २०३८ साल तिरको कुरा हो । हामी धरान तिरका नेता तथा कार्यकता हरिपुर चौकमा बसबाट ओर्लियौ । बिहान यस्तै नौ साढे नौ बजेको समय हुदो हो । घाम त्यती चर्की सकेको थिएन । सहन सकिने राप अनि भूमिको बालुवा पनि त्यती ताती सकेको रहेन छ । हामी धरानेहरुको लर्कोमा पोलिटब्युरो सदस्य कृष्ण प्रसाद श्रेष्ठ (बि.ए.), अर्का केन्द्रिय सदस्य इन्द्र थापा, जिल्ला सदस्यहरु गोविन्द मोक्तान, कृष्णभगत श्रेष्ठ, डम्बर बुढाथोकी र म पङ्तिकार आफैं पनि पछि पछि हिड्यौ । हिड्यौ हामी लुखुर लुखुर हिड्यौं, श्रीपुर तिर हिड्यौं । भरखरै जनमत संग्रह सकिएको, निर्दल र बहुदलका झण्डाहरु गाँउ पिच्छे र अझ घर-घर मा टाँगिएका थिए । पहिले जस्तो पार्टी संगठन गर्न गाह्रो थिएन । बैठक बस्न अब कसैको घरमा पनि डर थिएन ।

श्रीपुरमा मुटुकलाल ऋषिदेवको घर हो । मुसहर जातीको परिवार हो यो । यसो बाँसको टाटीले घेरेको आँगन भित्र छिर्न दुईवटा बाँस दुई तर्फ गरि स्थाई काम लाग्ने प्रवेश द्धार बनाएको । घरपटी जिल्ला सदस्य मुटुकलाल ऋषिदेवले बाहिरबाटै स्वागत गर्दै हाम्रो टोलीलाई भित्र प्रवेश गराए । आँगन त ठूलै हो, २५-३० जना सम्म मान्छे बस्न हुने ग्वाली गोठ तर बलौटे । पूर्वतर्फ फर्केको फुसको सानो र पुरानो घर । पश्चिम फर्केको गाँई र गोरु बाँध्ने ग्वाली गोठ । यसो उत्तर फर्केको पुजा र चुँल्हा कोठा र आँगनमा पनि एउटा भुँई चुल्हो ।

भित्र आँगनमा उभिनु भएका वरिष्ठ जिल्ला सदस्य कमरेड भोला र अन्य जिल्ला सदस्यहरु विचारु उराउ, गणेश ठाकुर, मातृका काफ्ले, बुद्धिलाल उराउ, कमलदेव मेहता, महाविर झा, जगदिश पाठक, नारायण शाह, जगदिश प्रसाद कुशियैत, तेजनारायण ठाकुर, ध्यानि मण्डल, बिकुलाल मेहता त्यस बाहेक सहयोगी गाँउ कै ५-७ जना युवक र ३-४ जना महिला कार्यकर्ताहरु पनि उभिएरे हाम्रो टोलकिो त्यहा स्वागत गरिरहेका थिए ।

हामी धरान समेत अलिटाढाबाट आउनेहरुका निम्ति भान्सा तयार रहेछ । केराका पत्तामा, उसिना चामलको भात, तेजपत्ता झानेको मुसुरीको दाल, आलु भाण्टाको तरकारी र टमाटरको अचार । भोक लागेको बेला भुँइमा पलेटी कसेर बेस्सरी खाइयो । टन्नै अघाइयो ।

आज भाद्र महिनामा यो संस्मरण लेख्न मन लाग्यो । नेपालमा संघिय गणतन्त्रात्मक राज्य व्यवस्था छ । नेपाल कम्युष्टि पार्टीको संसदमा झण्डै दुई तिहाइ नजिकको बहुमत सहितको सरकार छ । कोरोना संक्रमणको महामारीले विश्व नै त्राहिमाम भईरहेको अवस्थामा हाम्रो मुलुक पनि अछुतो रहेको छैन । दैनिक जसो संक्रमणको अवस्था बढ्दो छ । यो संक्रमण कै कारण हुने मृत्युदर पनि उकालो लाग्दो छ । आज जे जस्तो छ छदैछ भोलीका दिनमा हामीले भोग्नु पर्ने यहि संक्रमणका कारण र्सिजित हुने विकराल समस्याहरुको कालो बादल मडारीदै गरेको देखिन्छ । राज्यको नेतृत्व गर्नेहरु यो समस्याको उचित व्यवस्थापन गर्दै आउने समस्याहरुको समाधानका लागि आवश्यक तयारी गर्न भन्दा नागरिकहरुलाई उपदेश दिन, तर्साउन र हप्काउन व्यस्त देखिन्छन ।

यस्तो अवस्थामा मेरो कलमबाट नेपाल कम्युनिष्ट पार्टीको गठन खास गरेर म बसेकै सुनसरी जिल्लामा कहिले र कसरी भयो भन्ने कुरा पोख्न तर्फ लागेको छु । यी यस्ता कुराहरु त्यसै सम्झेर, कल्पना गरेर अथवा गफ गरेका सुनेका भरमा हुने कुरा होईन । त्यसैले अहिलेको धरान नगरलाई मन मनमा खेलाए । को हुनुहुन्छ होला अहिले मलाई त्यसबेलाका मैले थाहा नपाएका कुराहरु बताई दिने, आँखा देखाई दिने ।।।

व्यक्ति ? सम्झदै जाँदा धरान-१४ विजयपुर निवासी वरिष्ठ एवंम् ऐतिहासिक व्यक्तित्व, बुद्धिजीवि श्री कृष्ण कोईरालामा गएर मेरो मन अडियो । मैले फोन लगाएर उहाँलाइ नमस्कार गरे । भलाकुसारी पछि मैले उहाँलाई आफ्नो जिज्ञासा पोखे “।। दाजु मलाई आज एउटा इतिहास सुन्न मन लागेको छ ।”
“भन्नु होस न । जानेको बुझेको कुरा भनौला । हुन त अब बुढो पनि भइयो । कति कुरा त बिर्सी पनि सकियो होला तै पनि सम्झे भने भनौला । ”
“त्यसो भए दाजु हजुरको जन्म कहाँ कहिले भएको हो ?”
“यहि विजयपुर डाँडा पवित्रस्थलमा जन्मेको १९९४ सालमा । त्यसबेला धरानमा पुरानो बजार चाँही थियो रे, नयाँ बजार जुद्ध शमसेर महाराजको हुकुमबाट बन्दै गरेको हुनाले त्यस्को नाम पनि जुद्ध नगर भनियो ।”
“दाई २००७ साल पछि नेपालमा राजनितिक दलहरु खुल्ला गतिविधीमा आए, तपाँइ चै कुन राजनितिक दल तिर लाग्नु भयो ?”
कृष्ण दाईले भन्नु भयो “म नेपाल कम्युनिष्ट पार्टीमा थिए । २०१० सालमा पार्टी सदस्य भए पछि एरिया कमिटीको कार्यकर्ता पनि भए ।”
“त्यस बेला संगठनका दृष्टिकोणले सुनसरी जिल्लाको अवस्था के कस्तो थियो ?”
“देवराज भाई, त्यसबेला सुनसरी जिल्ला भन्ने त छदै थिएन । मोरङ्ग बिराटनगर गोश्वारा मार्फत शासन व्यवस्था चल्थ्यो । सुनसरी जिल्ला त पछि राजा महेन्द्रले ७५ जिल्ला गठन गर्दा मोरङ्गबाट विभाजित भई बनेको हो ।”
“अनि पार्टी संगठन चैं कसरी गठन भएको थियो त ?”
“ मोरङ्ग अन्तर्गत धेरै प्रगन्नाहरु थिए । हाम्रो यहाँ चैं वेली प्रगन्ना अन्तर्गत काम व्यवहार र शासन व्यवस्था हुने गरेको थियो । एउटा प्रगन्ना भित्र धेरै मौजा र जिम्दारी थिए । जिम्दारले पटुवारी मार्फत जिम्बेवालको हैषियतले रैति राखने, उठाउने, जग्गा दिने-लिने, तिरो उठाउने र मालमा लगेर जम्मा गर्थे । देशैभर जिम्दारी प्रथाबाट शासन व्यवस्था चलेको थियो ।

हाम्रो यता पट्टि कम्युनिष्ट पार्टी पनि गठन भएको थियो । त्यसलाई पूर्व कोशी प्रान्तिय कमिटी भनिन्थ्यो । त्यो कमिटी अन्तर्गत धरान, इटहरी, दुहबी हुँदै पश्चिम कोशी किनारसम्म संगठन हुन्थ्यो ।
यो कमिटी २००७ साल पछि गठन भएको हो । धरानमा नै अलि घना बस्ती, यसो खान लाउन पुग्नेहरु पनि यतै , यसो लेखापढी पनि बाबु आमाहरुले सिकाएका थिए त्यसैले धरानबाट नै यो कमिटी गठन भयो ।
तपाँईलाई भन्दी हालुम - त्यसबेला त्यो कमिटी ६ सदस्यीय भएको मलाई सम्झना छ । त्यसमा सचिवमा महेन्द्र मोहन श्रेष्ठर सदस्यहरुमा गोपालचन्द्र सिंह प्रधान, विष्णुप्रसाद पराजुली, ईश्वरमान विश्वकर्मा, गोपाल श्रेष्ठ र पुतलीलाईन तिर बस्ने यज्ञप्रसाद आचार्यहरु थिए ।

देवराज भाई, अहिलेको सुनसरी जिल्ला र धरानमा भएको कम्युनिष्ट पार्टीको मूल पुर्खा यिनै व्यक्तिहरु हुन । अहिलेको कम्युनिष्ट पार्टीको संगठनको मूल जरा पनि यहि नै हो ।”
फोन सम्पर्क बन्द भयो ।

कृष्ण दाईसँग को सम्पर्क विच्छेद पछि मेरो कलमले फेरी आफ्नो काम शुरु गर्‍यौ ।
बैठक बस्ने समयमा हामी कक्षमा पस्यौं । गाँइ र गोरु बाहिर खुल्ला ठाउँमा चर्न गएकाले गोठ खाली रहेछ । त्यहाँ झाडु लगाइ सफा गरे पछि गाउँका ओल्लो घर पल्ला घरबाट जम्मा गरेका पटिया, गुन्द्री र पुराना बोराहरुले भुँई छोपिएर बस्ने स्थान बनाइएको रहेछ ।

प्रमुख नेता र विशेषहरुका लागि भने कालो कम्बल समेत थपेर बिछयाइदा त बैठक र बस्ने उच्च आसन भै हाल्यो । नेताहरु कम्बल समेत र हामी चै पटिया र गुन्द्रीमा बस्यौं । गाउँ वरपरका समर्थक र सहयोगीहरु पनि बैठकका कुरा जान्न र निर्णय सुन्न बैठक स्थल बाहिरपट्टि भेला हुँदै थिए । कोहि रुखको फेदँमा र कोही चै नगिचै छाता ओडेर । कम्युनिष्टहरु प्रति गाउँलेहरुको ठूलो आस्था र विश्वास थियो ।

बैठक शुरु भयो । पोलिटव्युरो सदस्य एवंम् जिल्ला सचिव कृष्ण प्रसाद श्रेष्ठ (बि.ए.) ले प्रमुख वक्ताको रुपमा बोल्दै तत्कालिन विश्व पस्थिीति, अन्तराष्ट्रिय कम्युनिष्ट आनदोलन, नेपालकोे राष्ट्रिय परिस्थीति, जिल्लाको अवस्था र हाम्रो जिल्ला कमिटीको स्थीति र दायित्वको बारेमा विस्तृत रुपमा झण्डै २ घण्टा लगातार व्याख्या गर्नु भयो । त्यस पछि हामी नाम लेखाइ सकेका मध्य केही सदस्यहरुले ७-७ मिनेट सम्म बोल्न पाउने भए पछि हामी मध्य थोर बहुतले आफ्नो पालोमा बोल्यौं । त्यस पछि चिया खाने कार्यक्रम भयो ।

बैठक पुन: शुरु भयो । सदस्यहरुले उठाएका प्रश्न र देखिएका समस्या र जिज्ञासा बारे अन्त्यमा फेरी कृष्ण बि.ए. ले एक घण्टा बोल्नु भयो र बैठक अन्त्य भएको घोषणा गर्नु भयो । साँझ पर्न लागेकोले नगिचै घर हुने र घर पुग्न सक्ने साथीहरु आफ्नो-आफ्नो बाटो लाग्नु भयो । हामी मात्र बाँकी रह्यौं ।

बाँकी रहेका हामी रात बिताउनु पर्ने । दिन भरीको कार्यक्रम त सकियो, बैठक निर्णय पुस्तिकामा लेखेर सहि गर्ने काम पनि विधिवत मै भयो । पार्टी बैठक र निर्णयको ठेलीमा आज पनि पन्ना थपिए । लामो भाषण गर्न पाएका नेता दङ्ग, हामी कार्यकर्ता उत्साही र गाउँलेहरु आशावादी तर आजको रात हामीले कहाँ र कसरी बिताउने ? हिडौं कता हिडौं ? पाइलो चालौ कता फर्केर चाल्ने ?  यहि बस्न त मिल्दैन नी ।

मुटुकलाल जीले दिन भरीको ठूलो जिम्मेवारी पुरा गर्नु भयो । मुसहर परिवारमा बैठक स्थल बिहानको खाना, दिनको चिया यो भन्दा ज्यादा उहाँबाट फेरी के आशा गर्न सकिन्छ ।  घर परिवारको अवस्था यस्तै हो धन्न धन्न मुटुकलाल । वरिपरि गाउँघर छिमेकी कसैले पनि हामीलाइ बस्ने बसाउने कुरा र इच्छा कहि कतै देखाउन सकेनन् । कोहि पनि नबोल्दा हामी बिचल्लि पर्ने निश्चित भयो ।

हामी जस्तै बिचल्लि पर्नेमा भोला कमरेड पनि थिए । उनी घरी साथीहरुको अवस्था बुझ्ने प्रयास गर्थे घरी घरी पश्चिम क्षितिजमा डुब्दै गरेको घाम तर्फ आँखा दगुराउथे । उनि धेरै समय चुप रहन सकेनन् । सजिलै मुख खोले- अगाडी सर्दै भन्नु भयो । यहाँ म सबै भन्दा उमेरमा जेठो रहेछु । बुढो मान्छे मैले नबोली भएन । ल हिड्नु होस मेरो घर हरिपुरमा पर्छ । अलि बेर त हिड्नु पर्छ तर छिटो छिटो हिडियो भने पुग्न सकिन्छ समय छदै । जाउँ हिडौ । उहाँ अगाडी लाग्नुभयो हामी उहाँका पछि पछि । गोधुलीको समयमा उहाँको घर तर्फ लाग्यौं ।

भोला कमरेड लाठी टेकेर हाम्रो लर्को पछि पछि लगाएर अगाडी अगाडी हिड्न थाल्नु भयो । लाठीको भरमा हिड्ने मान्छे । गोडामा जुत्ता चप्पल केहि छैन । टाउकोमा गम्छाको फेटा बाधेको छ । जिउँ यता त्यता कता कता च्याँतिएको भोटोले छोपिएको तर सबै छोप्न चै नसकिएको । घोती छोटो घुडा माथी माथी सम्म हुने र यसो च्याँतिएको भोटो पनि त्यसैले छोप्दै ईज्जत जोगाउन प्रयत्न चै गरिएको । उहाँका बाहिर लगाएका लुगा कपडा वा जुत्ता चप्पलले होईन दह्रो सँग टेकेर हिड्ने गरेको शरिरले नै उहाँ प्रतिको ठूलो इज्जत र सम्मान राम्रो सँग बढाएको प्रष्ट देखिन्थ्यो ।

प्रौढ शरिर एकदम नै सामान्य पहिरन र हातमा बलियो लाठी टेकेर आफ्नो घरतर्फ लम्कदै गर्ने भोला कमरेडको व्यक्तित्वबाट म साह्रै प्रभावित भए । उहाँबाट अरु केही थप सुन्ने र जान्ने उत्कण्ठ ईच्छा भयो । मैले राखेका जिज्ञासा बारे उहाँ भन्न थाल्नु भयो “ कमरेड अधिकारी जी ” उहाँले आफ्नो लौरो टेकेर ठिङ्ग उभिएर मेरो टुप्पी देखि पैताला सम्म सरररर आँखा कुदाउनु भयो र आफ्नो आली आली परेका ओठ चलाउन थाल्नु भयो “ म यादव हुँ । म कमरेड भोला यादव, अधिकारी जी म भोला कमरेड । ” उहाँ आफ्ना पाईला अगाडी सार्दै फेरी भन्दै जानु भयो “हामी चन्द्रबंशी हौं । चन्द्रबंशी भनेको चन्द्रमाका छोरा बुध हुन जसलाई संसारले बुध ग्रह भनेर चिन्दछन, जान्दछन् र मान्दछन् पनि । हामी तिनै बुधका सन्तान हौं । सुन्नुहोस बुधका छोरा पुरवा थिए । उनका छोरा आयु । आयुका छोरा नहुष हुन । राजा नहुष । नहुषका छोरा राजा ययाती । सुन्नुहोस, ययातीका जेठा छोरा को नाम यदु । तिनै यदुका नामबाट उनका सन्तानहरु यादव कहलिन थाले । यीनै यादवका कयौं पुस्ता बिते, बितिरहेछ । धेरै पुस्ता पछि त्यो कुलमा भगवान कृष्णको जन्म भयो। उनै कृष्णका कुल र परम्परा नै हामी यादवहरुको पुर्खा र हाम्रो संस्कार बन्यो । हाम्रो गोत्र आत्रेय हो । हामी आत्रेय गोत्रिय यादव हौं ।”

उहाँको वाणीमा स्वाभिमान झल्किरहेको थियो । उहाँ फेरी भन्दै जानु भयो “अँ सुन्नुहोस  हामी गोपाल र गोपीका संतान हौं । हामी गाई सेवक ग्वालाका संतान हौं । हामी ग्वाला हौं, हामी ग्वाला किसान हौं । हामीले हाम्रो देशमा किसान आन्दोलन गर्‍यौ । किसान माथी भएका शोषण, दमन उत्पिडनका विरुद्धमा र यसबाट मुक्तीका लागि आन्दोलन गरेका हौं । ठूल ठूला आन्दोलनहरु भए, म पनि त्यस्ता किसान आन्दोलनहरुको नेतृत्व गर्ने नेता पनि भए । शसक्त नेतृत्व गरे । त्यस्तै किसान आन्दोलनको अनुभवबाट, देश शोषित पिडित जनताको मुक्तीका लागि आज म नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको छु । म जिल्ला नेता पनि भएको छु ।”

साँझ झमक्क परि सकेको थियो । हिड्दा हिड्दै उहाँले आफ्नो हिड्ने बाटो बङ्गयाउनु भयो यता देब्रे पट्टी । अगाडी एउटा कालो छाप्रो पलेटी कसेर बसेको थियो ।

त्यस घरमा यसो पछाडीबाट यसो अगाडी हिड्दा आँगनमा पुगियो । घर भोला कमरेडको रहेछ । बाहिर पेटीमा एक महिला टाउकोमा हात लगाएर बसिरहेकी, भरखरका केटाहरु दुई जना पनि छेवैमा बसेका । हामी थुप्रै मान्छेहरु पुग्दा ति अच्चम मानेर आत्तिएर जुरुक्क उठे । घर भित्र चैं अध्याँरो छ । उज्यालोको नाम निशान छैन । घरपटि महिलाले भित्रबाट एउटा पटिया ल्याइ ओछ्याइन । तर हामी सबै आँगनमा उभिरह्यौ ।

भोला कमरेड भित्र पस्नु भयो । घरका सबै भित्र पसे । एक छिन पछि चारै जना बाहिर निस्के । भोला कमरेड यसो गम्छा काधँमा राखेर आँगनबाट बाहिरिए । उनकी श्रीमती बाल्टी लिएर पल्लो घर तर्फ लागिन । दुवै छोराहरु पनि बाहिर यताउता लागे । प्रमुख व्यक्ति बि.ए. कृष्ण, ईन्द्र थापा, गोविन्द मोक्तान तै पटियामा अटाएर बस्नु भयो । हामी त्यसै उभिएर कहि कतै केही देखिन्छ कि भनि यताउता चारै तर्फ आाखा कुदाउन थाल्यौ । अँ यस्तै रहेछ कमरेड भोलाको घर । घर भित्र अध्याँरो भए पनि आकाशबाट चन्द्रमाले हेरीरहेकाले संसार झलमलल थियो । भोला कमरेडको मन उज्यालो थियो झलमल्ल जुन लागे जस्तो । उनको घर वरपर सबै संसार उज्यालो थियो । यसो विचार गर्दा सबैले भोला कमरेडलाई राम्रो मान्छे, ठूलो र इमान्दार कार्यकर्ता भन्थे होलान् ।

बाल्टी भरि पानि लिएर भोला पत्नि आइन । बाहिर आागनमा भएको भुइँ चुल्हो यसो हातले पुछपाछ गरिन । हातले नै बडारीन पनि अनि साथै ल्याएको गोबरमा पानि हालेर मुछेर चुल्हो लिप्न पोत्न थालिन । वरिपरि लिपेर बालुवा उड्न नसक्ने बनाइ फेरि बाल्टी भर्न छिमेकी घर तर्फ लागिन । छोराहरु काधँमा झिझाँ झिझि दाउरा लिएर आए यसो वरिपरिबाट खोजेर । त्यसै चुल्लोमा आगो बाल खोजे । घरमा सलाई लाईटर केहि छैन अलमल परे । नेता गणेश ठाकुरले समस्या बुझी आफुसँग भएको लाईटर दिए । त्यै लाईटरले ति बालखहरुले चुल्होमा आगो बाले । आँगन उज्यालो पारे । खाना पकाउन पनि हुने भयो अब । भोलापत्नि बाल्टीमा पानि भरि लिएर आईन । घरमा भोला कमरेड आइ पुगेका छैनन् । सबैको हात बाधियो । काम केहि भएन, भात पकाउने ।

बल्ल भोला कमरेड आइपुगे लौरो टेक्दै । हातमा एउटा पोको झुण्ड्याउदै । त्यो पोको पत्निलाई दिए । भोला पत्निले पोकाेबाट चामल अजुलीले झिकी सिलेभरको भाँडोमा हालिन । एक दुई मुठ्ठी जती त्यसै राखी पोको कसी भित्र लगिन । अरु सबै चामलको भात पकाइन । अर्को कराईमा तरकारी दाल एउटै पकाईन । बन्दाकोबीको साँगको गुन्द्रुक । उनीहरु यसलाई सिन्का भन्दा रहेछन । तेल नुन र खोर्सानी चै घरमा नै रहेछ । सबै प्रष्टै देखियो । छोराहरुले केराको पात ल्याई हामी सबैका लागि पतरी बनाए । भात पाक्यो खान बसियो सबै जना घरपरिवारका बाहेक ।

हाम्रो टोलीका प्रमुख व्यक्तिहरुलाई खाना त्यति रुचेन । खाए जस्तो मात्र गर्नु भयो । हामी सबैले आफ्नो भाग भकाभक खायौं । जुनको उज्यालोमा यसो हेर्दा र मुखमा जिब्रोले खुट्याउदा त्यहा चामल विभिन्न प्रकारका रहेछन । उसिना, अलुवा, मसिनो, मोटा र कनिका पनि त्यसैमा मिसिएको रहेछ भन्ने कुरा जिब्रोले छुट्यायो । प्रष्ट भयो । भोला कमरेडले चामल विभिन्न घरमा मागेर, पैचो लिएर अथवा अझ भनौ उहाँले कम्युनिष्ट पार्टीका ठूला ठूला नेताहरु आफ्नो घरमा पाहुना आउनु भएको छ भनेर गाँउका विभिन्न घरबाट मागेर ल्याएको प्रष्ट भयो । सबैले उहाँलाई एक एक अञ्जुली चामल दिएछन । उहालाई कसैले दिन्न भनेन छन तर धेरै दिन पनि सकेन छन । गाउँको बनावट त्यसै गरि विल्न पिरोल्न बनाएको रहेछ । सबै उस्तै उस्तै । तर सहयोगी पनि रहेछन । गाउले सबै एक एक ओटा पटिया च्याापेर आई भोला जीको आँगनमा थुपारी दिए । हामीले खाएको पनि हेरिरहे । त्यस पछि सुत्ने कुरा आयो । कहाँ सुत्ने रु भोला जीको आागन छेउमा एउटा झ्याम्म परेको रुख रहेछ । त्यसैको फेदँमा सबै पटिया गुन्द्रि ओछ्याइ दिइ छिमेकीहरु आफ्ना–आफ्ना घर तर्फ लागे । हामीले खाई सकेर बाँकी रहेको भोला कमरेडका परिवारले बाडीचुडी खाए । बच्चा र भोला पत्नि घरभित्र पसे, उनका परिवार सबै ।

भोला कमरेड हामी सँगै रुखका फेदँमा सुत्ने भए । भोला कमरेड दङ्ग छन् । आज साँझ उनका घरमा नेपाल कम्युनिष्ट पार्टीका ठूला ठूला नेताहरु आउनु भएको छ । खाना खानु भएको छ । रात बिताउन बास पनि बस्नु भएको छ । रात निक्कै छिप्पिई सकेको छ । सबै नेता कार्यकर्ताहरु निदाई सक्नु भएको, निदाउने तरखरमा हुनुहुन्छ । मलाई चाँही निद्रा लाग्ने छाँट नै छैन । भोला कमरेडका अरु धेरै कुराहरु सुन्ने ईच्छा अझ बढिरहेको छ । भोला कमरेड पनि बोली रहनु भएको छ।

आज म देशको नागरिक मुलुकको सिपाही हुँ । स्वतन्त्र नागरिक । गोपाल वंशका धरोहर, किसान नेता, शोषित पिडित किसान मजदूरका मित्र, नेपाल कम्युनिष्ट पार्टी सुनसरी जिल्लाका वरिष्ट सदस्य भोला कमरेड आज यो धर्तीमा हुनुहुन्न भन्ने सुनेको छु । उहाँकी पत्नीको स्थीति के छ थाहा छैन ।  मैले देखेका उनका ती साना छोराहरु आज कहाँ छन् रु के गर्दै छन् रु कसरी जीवन बिताई रहेका होलान ? थाह छैन् । यता आज हाम्रो देश नेपालमा नेपाल कम्युष्टि पार्टीको शक्तिशाली सरकार बनेको छ ।