सन्दर्भ परिचय
याक्थुङ लिम्बु समुदाय नेपालको प्रमुख जातिहरु मध्ये एक हो । यो जातिको मुख्य गरी नेपालको पुर्वी ९ जिल्ला ताप्लेजुङ, पाचथर, ईलाम, झापा, मोरङ, सुनसरी, धनकुटा , तेह्रथुम, र संखुवासभामा बसोवास रहेको पाइन्छ । यो जातिले आफुलाई आदिकालदेखि याक्थुङ जाति भन्दै आएको छ । यो जातिलाई राज्यले लिम्बु जाति भनेर पहिचान गर्दछ । र देश विदेशमा पनि लिम्बु जाति भनेरै चिनिन्छ । हाल आएर यो जातिले आफुलाई याक्थुङ लिम्बु जाति भनेर चिनाउने गरेको पाइन्छ । यो जातिको आफ्नै सिरजंघा लिपी, लिम्बु भाषा (याक्थुङ पाःन), मुन्धुममा आधारित धर्म, संस्कार, संस्कृति, सभ्यता रहेको छ । नेपालको जनगणना २०६८ अनुसार नेपालको कुल जनसंख्या २,६४,९७४०५ हुदा याक्थुङ लिम्बु जातिको कुल जनसंख्या ३,८७,३०० ( प्रतिशत ) रहेको छ । जस मध्ये लिम्बु भाषा मातृभाषाको रुपमा बाल्ने संख्या एघारौ स्थानमा ३,४३,६०३ रहेको छ । नेपालको जनगणना २०६८ अनुसार जन्मदर १.३५ प्रतिशत र मृत्युदर ७.३ प्रतिशत रहेकाले आगामी जनगणना २०७८ मा विभिन्न निकायहरुले अनुमान गरे अनुसार नेपालको कुल जनसंख्या २,९२,००,००० देखि ३,००५००००० हुने अनुमान गरिएको छ । जसअनुसार याक्थुङ लिम्बुहरुको कुल जनसंख्या नेपालमा अनुमानित पुगनपुग चार लाख रहने देखिन्छ ।

छिमेकी मुलुक भारतमा यो जातिलाई सुब्बा जातिको रुपमा राज्यले सुचिकृत गरेको छ । भारतको सिक्किम, आसाम तथा पश्चिम बंगाल, लगायत बिभिन्न राज्यमा लगभग नेपालकै हाराहारीमा यो जाति रहेको पाइ्रन्छ । विश्वयुद्ध र आधुनिक सामाजिक आर्थिक अवसरको संभावना संगै विश्वका विभिन्न देश बर्मा, भूटान, यु.के., अमेरिका लगायत धेरै मुलुकमा यो जाति पुगेको देखिन्छ । नेपालमा याक्थुङ लिम्बुको संख्या तथा लिम्बु भाषा बोल्नेको जनसंख्या अथवा यसको अनुपात हेर्दा याक्थुङ लिम्बु समुदाय आफ्नो भाषा, लिपि, संस्कार, संक्कृति, मौलिकता र पहिचान प्रति प्रयाप्त रुपमा सचेत रहेको देखाउछ ।

आजभोलि यस्ता विषयमा समुदायले झनै गहिरिएर ब्यापक खोजी तथा अनुसन्धान गरिरहेको समेत भेटिन्छ । नेपालमा पहिचानको मुद्धा उत्कर्षमा पुग्दा समुदायले आफ्ना मौलिक विषयवस्तुहरु प्रति चिन्ता चासो राख्नु स्वाभाविकै मान्नु पर्दछ । पहिचानको सन्दर्भमा ब्यापक सचेतना बढ्दै जादा यस्ता विषयहरुमा समुदायले संरक्षणको पहल गर्नुलाई पनि स्वाभाविक नै मान्नु पर्छ । राष्टिय जनगणना २०७८ जति नजिक आईरहदा अझ यस्ता विषयहरुमा समुदाय भित्र छलफल तथा बहस हुनु स्वाभाविक बन्दै गएता पनि समुदाय भित्र धर्मको विषयलाई लिएर ब्यापक मत विभाजन भएको पाइन्छ । यसले समुदायमा एक खालको विवाद पैदा गरेको छ । यसले चरुम रुप लिई समुदाय द्धन्द्धमा फसीे आफ्नो जातीय अस्तित्वलाई संकटमा पार्ने हो कि भन्ने चिन्ता समेत ब्याक्त हुन थालेको देखिन्छ । यस्तो अवस्थामा आम याक्थुङ लिम्बु समुदायले सचेत भएर जनगणनामा आफ्नो तथ्याङ्कीय अभिमत राख्न जरुरी देखिन्छ ।

विशेषतः आफ्नो धर्म , संस्कार तथा संस्कृति, मुन्धुम, सभ्यता जस्ता विषयहरुमा गहिरिएर अध्ययन गरी विना पूर्वाग्रहयुत्त आफ्ना कुरा तथ्याङ्कगत गर्न जरुरी छ ।

यो हिसावले यो जनगणना याक्थुङ लिम्बु समुदायको लागि धर्मको विषयनै प्रधान रहेको देखिन्छ । धर्म ब्यक्तिगत स्वतन्त्रताका विषय भए पनि समुदायमा यसले यत्रो विवादको आयतन किन पायो भन्ने कुरा पनि चिन्तन गर्नु पर्ने देखिन्छ । धर्मकै विषयमा यति धेरै चर्चा, विवाद हुनको कारण के हुन सक्ला ? अथवा थाक्थुङ लिम्बु समुदायको धर्म थियो वा थिएन भन्ने गहिराई सम्म पुग्नु पर्ने देखिन्छ । धर्म र लिम्बु जातिका के सम्बन्ध छ भन्ने कुरा समेत बोध गर्न जरुरी देखिन्छ । यस्ता सवालहरुको उत्तर दिन अगाडि विश्वमा धार्मिक चिन्तनको विकास क्रमलाई हेर्न जरुरी देखिन्छ । यसलाई अध्ययन गर्दा मानविय समुदाय प्रकृतिबाद, बहुईश्वरबाद र अन्तमा एक ईश्वारबादमा आईपुगेको देखिन्छ । धार्मिक चिन्तन आत्मिक चेतनापछि आध्यात्मिक चेतना हुदै धर्मको विकास भएको देखिन्छ । विश्वका विद्धानहरुले धर्म हुनलाई अलौकिक शक्ति(आत्मा)मा विश्वास हुनु पर्ने , यस्तो अलौकिक शक्तिसंग मानिसले आम जीवनमा सामान्जस्यता कायम गर्न विभिन्न धार्मिक संस्कारहरु सम्पन्न गर्नु पन, जीवनमा असल र खराव कुराको मापदण्ड निर्माण गरेको हुनु पर्ने , जीवन र आत्मा वीचको चक्रबाट मुक्तिका उपायहरु खोजिएका हुनु पर्ने, विभिन्न बस्तुहरुमा पवित्रता र अपवित्रताको दृष्टिकोण निर्माण हुनु पर्ने , प्रार्थनाका तरिकाहरु आफ्नै खालका हुनु पर्ने र प्रार्थनाका स्थलहरु आफ्नै शैलीका हुनु पर्ने मान्यताहरु अगाडि सारेका छन ।

याक्थुङ लिम्बु समुदायको धर्म बारे

याक्थुङ लिम्बु समुदायको धर्म थियो वा थिएन ? आध्यात्मिक चिन्तन थियो वा थिएन ? भन्ने कुरा जान्न याक्थुङ लिम्बु समुदायको शाश्त्र मुन्धुममा केन्द्रित हुन जरुरी देखिन्छ । मुन्धुम नै याक्थुङ लिम्बु समुदायको ज्ञान मिमांशा, र सामुदायिक, सामाजिक तथा सांस्कृतिक इतिहास हो । त्यसैले मुन्धुममा आधारित भएर मात्र याक्थुङ लिम्बु समुदायको धर्म तथा अन्य संस्कार संस्कृति सम्बन्धमा भन्न सकिन्छ । अधिकांश मुन्धुमहरु अध्ययन गर्दा मानव समुदायले शुरुमा क्रमिक रुपमा आत्मा सम्बन्धि ज्ञान( आत्मिक ज्ञान ) प्राप्त गरेको देखिन्छ । तत पश्चात क्रमशः आध्यामिक ज्ञान प्राप्त भएको र यसको सामान्जस्यता याक्थुङ लिम्बु समुदायले आफ्नो सामुदायिक जीवनमा गर्दै आएको देखिन्छ । यसलाई आफ्नो भाषामा साम्यो भनको स्पष्ट हुन्छ । यसले गर्दा याक्थुङ लिम्बु समुदायले आदिकालदेखि आफ्नो आध्यात्मिक ज्ञानलाई क्रमिक रुपमा ब्यबस्थित अभ्यास गदै अगाडि बढेकाले समुदायको धर्म थियो भन्न सकिन्छ ।

यो धार्मिक आध्यात्मिक चेतना तथा ज्ञान संञ्चारणको विधि अनुपम देखिन्छ । धार्मिक गुरुहरुले भनेझै यो कसैले नया जीवनशैली धारण गरेर अपनाउने धर्म भने देखिदैन । यो धर्म जीवन शुरु हुनु पूर्व नै सापोक चोमेन ( गर्भ पुजा ) बाट शुरु हुन्छ । मृत्यु पर्यान्त पनि समुदायले धार्मिक मान्यताहरु पुरा गरेको देखिन्छ । यो नेपाल, भारत, भुटान र विश्वभरि छरिएर रहेका अधिकांश याक्थुङ लिम्बुहरुले स्वस्फुर्त रुपमा सामुदायिक स्तरबाट मानेको देखिन्छ । ज्ञान संञ्चारणको विषयमा कुरा गर्दा मुख्यतः तीन तरिकाबाट समुदायमा आध्यात्मिक धार्मिक ज्ञान संञ्चारण भएको देखिन्छ । पहिलो त आत्मिक ज्ञानको सञ्चारणलाई लिन सकिन्छ । जब जब याक्थुङ लिम्बु समुदायले आफ्नो जीवन जीउने क्रममा जे जस्ता समस्याहरु भोगे, त्यस्ता समस्याहरुको समाधानका लागि तागेरा निवाफुमा कहा गएको मुन्धुमी बर्णन पाइन्छ । तागेरा निवाफुमाले दिएका क्रमिक ज्ञानहरुको माला नै यसको आधार बनेको स्पष्ट हुन्छ । तागेरा निवाफुमा स्वरुप आएको कही कतै चर्चा तथा उल्लेख भएको पाइदैन । त्यसैले यसलाई सर्व शक्तिशाली, ब्याप्त , निराकार , सर्बोच्च शक्तिको रुपमा रहेको मानिन्छ । उनी ज्ञान र चेतनाको रुपमा मात्र आउने ईश्वरको रुपमा मानिन्छ । जब समुदायको जनजीविका अगाडि बढ्दै गया, गाह्रा, अफ्टयारा, आपक्ति, विपक्ति, विशेष अवस्थामा एउटा शक्ति सवत्र्र सदैव समुदायमा स्वरुपमा आउने गरेको पाइन्छ । जसलाई सामान्य युमाको स्वरुपमा अधिकांश देखिएकाले यो आत्मालाई युमा साम ( जीवित मानिस होइन ) भनिन्छ । यो शक्ति सार्बजनिक स्थलमा देखा पर्ने, कसैको शरिरमा अवतरण गर्ने, युद्ध, आपक्ति, विपक्तिमा नेतृत्व गरी दिशानिर्देश गर्ने आदि कामहरु गरेको बर्णन मुन्धुमहरुको अध्ययनबाट देखिन्छ । यही शक्ति घर गुहस्तीमा युमा साम्माङको रुपमा रहेको र याक्थुङ लिम्बु समुदायले लिम्बु समुदायले महान ब्याक्तिहरुको शरिरमा अवतरण भई बोल्दा तागेरा निवाफुमा मै हु भन्ने गरेको मुन्धुममा पाइन्छ । यस बाहेक समुदायका सर्बसाधारण मानिसले आत्मा बारे आभास गरेका कुराहरु नै आत्मिक ज्ञान भित्र पर्दछन । नावा चइत मुन्धुम ( सृष्टि मुन्धुम ), मेन्छाम याप्मी कुबोक्मा मुन्धुम ( मानिसको सृष्टि), खाम्बोङबा लुङवोङबा, आदि मानब मुजिना खेयङना, उनको पुत्र सावागेन युक्फुङकेम्बा, सावा येत्हाङ पेगीफाङसाम, सुहाम्फेवा लाहादोङना काःई , ईरेर ईधुक्नामा पाजाइबा तेन्दुन्याङबा वरुप्ली वदङनाम्मा, फाक्सारा तिगेन्जोङबा इप्नासो सरङथाङमा आदि आदिम मुन्धुमहरुबाट नै आम समुदायले आत्मा( साम ), देवी। देवता ( साम्माङ ) ईश्वर (माङ ) सम्बन्धी ज्ञान प्राप्त भएको बुझिन्छ ।

दोस्रो समुदायमा विभिन्न काल खण्डमा जन्म लिएका महान ब्याक्त्विहरु येहाङ, सोधुङगेन लेम्मुहाङ, माङहाङ, कान्देन हाङ, लाशाहाङ, उवाहाङ, माबोहाङ, शिरिजंघा प्रर्थम आदिले आध्यात्म तथा धर्म सम्बन्धि समुदायलाई दिएको ज्ञानलाई लिन सकिन्छ । उनीहरुले आध्यात्मिक तथा धार्मिक उपदेश दिदा आफु युमा सामद्धारा निर्देशित भएकोे, आफुमा युमा साम अवतरण भएको समुदायलाई दिक्षा दिएको पाईन्छ । तर कहिल्यै आफु युमा सामको रुप, अवतार, थेवासामको रुप अथवा अवतार भनेको पाईदैन । तेस्रो फेदाङमा, साम्बा , येबा । येमाहरुले मुन्धुम वाचन गर्दा अथवा धार्मिक अनुष्ठानहरु गर्दा आत्माले कबुलेका, माङ, साम्माङ तथा अन्य दुष्ट आत्माहरुको बारेमा बोलेका आत्मा सम्बन्धि ज्ञानहरुनै समग्रमा याक्थुङ लिम्बु समुदायको आत्मिक,आध्यात्मिक र धार्मिक ज्ञान तथा चेतनाको आकारलाई निर्धारण गर्ने तत्वहरु हुन भन्न सकिन्छ । यसले के देखाउछ भने यो आध्यात्मिक ( साम्यो ) ज्ञान कसै एक जनाले निर्माण गरी स्थापित गरेको धर्म नभई क्रमिक रुपमा समुदायको योगदानबाट स्वभाविक हिसावले लामो समय अन्तरालमा विकास भएको धर्म हो भन्न सकिन्छ । अध्ययन गर्दा यो प्राकृतिक रुपमा क्रमिक रुपमा विकास भएको प्रमाणित हुन्छ । तुतु तुम्याहाङ, तुम्याहाङ, याक्ला सुहाङ । मा आदिले यही परम्परालाई कायम गर्दै अगाडि बढाएको पाइन्छ ।
यसले समग्र याक्थुङ लिम्बुको आत्मा तथा परमात्मा सम्बन्धि ज्ञानलाई बुझाउछ । आत्माले जीवन माथि पार्ने प्रभावलाई दर्शाउछ । यसकै आधारमा याक्थुङ लिम्बुहरु जन्म पुर्ब, जीवन र मुत्यु पर्यान्त विभिन्न धार्मिक संस्कारहरु गर्दछन । यसमा याक्थुङ लिम्बु समुदायको सदस्य भएको हैसियतले ब्यक्तिगत रुपमा सापोक चोमेन, याङदाङ फोङमा, माङगेना, फुङवा चाङवा, नाहाङमा आदि धार्मिक अनुष्ठानहरु सम्पन्न गर्नु पर्दछ । पारिवारिक हिसाबले नाहेन, चासोक थिसोक, थक्ले साम्माङ अनुसारका धार्मिक अनुष्ठान, मृत्यु संस्कार अन्तगर्त नेत युक्मा, साम सामा, युम सा नाक्मा, खाओमा (पराक्लो), इघेङ तङसिङ आदि गर्नु पर्दछ । सामुदायिक स्तरमा ताफेङ, युमाङ खमा । यक्वा मःमा, सामुहिक तङसिङ आदि सम्पन्न गर्नु पर्दछ । यसले आत्मासंग ब्याक्ति, परिवार, तथा समुदायको सामान्जस्यता गराई राखेको हुन्छ । यसरी यो समुदायको धार्मिक बाटोले जनजीवनलाई अगाडि बढाईरहेको हुन्छ । विश्वका विद्धानहरुले धर्म हुनका लागि अगाडि सारेका सम्पुर्ण तत्वहरु याक्थुङ लिम्बु समुदायले मान्ने अध्यामिक धार्मिक अभ्यासमा रहेको पाइन्छ । यसका विश्वका विद्धानहरुले धर्म हुनका लागि हुनु पर्ने तत्वहरु सबै भएको पाइन्छ ।

याक्थुङ लिम्बु समुदायमा धर्मको औपचारिक घोषणा

क) किरात धम ( सत्येहाङ पन्थ )

वि.सं. १९८८ सालमा राष्टिय विभुति फाल्गुनन्द लिङदेनले प्रतिनिधिमुलक रुपमा दश लिम्बुवान सत्र थुमका तुम्याहाङ र पेगीफाङसामहरुलाई बोलाई सत्यहाङ मुचुल्का उठान गरेपछि समुदायमा यो पन्थको उदय भएको हो । सत्यहाङ मुचुल्कालाई समाज सुधारको प्रयास, पहल तथा एउटा सामाजिक अभियानको रुपमा शुरु भएको देखिन्छ । यसका सहमतिका बुदाहरुले यो कुनै धर्मको रुपमा ब्याख्या गरेको देखिदैन । तर ब्यवहारमा आफ्नो धार्मिक अभ्यासलाई अगाडि बढाएको देखिन्छ । जब यसले २०३६ सालमा किरात धर्म तथा साहित्य उत्थान संघको रुपमा राज्यबाट औपचारिक मान्यता पायो अथवा आधिकारिक रुपमा दर्ता भयो , त्यसपछि यसले किरात धर्मको मान्यता पाएको देखिन्छ । यसलाई २०४६ सालमा स्थापना भएको याक्थुङ लिम्बुहरुको जातिय प्रतिनिधि संस्था किरात याक्थुङ्ग चुम्लुङ्गले वि. सं. २०४९ को दोस्रो केन्द्रीय महाधिवेषनबाट याक्थुङ लिम्बुहरुको धर्म किरात धर्म हो भनी निर्णय लिएपछि याक्थुङ लिम्बुहरुको धर्म किरात हो भन्ने बुझाईमा समुदाय पुगेको देखिन्छ । यो धर्मावलम्बीहरुको संख्या राष्टिय जनगणना २०६८ अनुसार नेपालमा मानिने धर्महरु मध्ये ८,०७,१६९(३.०४ प्रतिशत) सहित चौथो स्थानमा रहेको छ । यसको हालको अभ्यास केन्द्र लारुम्बा र गुरु आत्मानन्द रहेका छन । फागुनन्दले मौलिक संस्कार संस्कृतिमा आएको चरम विकृति तथा विचलनले समुदायमा पारेको नकरात्मक प्रभावलाई कम गर्न समाज सुधारको काम गरेको कुरालाई तत्कालीन समयका समुदायका केहीले स्वीकारेको देखिन्छ । उनले समाज सुधार संगै अभ्यास गरेको धार्मिक चिन्तन समुदायको आदिकालदेखि स्थापित आध्यात्मिक चिन्तन भन्दा फरक देखिन्छ ।

फाल्गुनन्द इस्ट इन्डिया कम्पनी अर्तगत भारतीय सेनामा कार्यरत रहदा हिन्दु जसमुमी पन्थका गुरु मधुनन्दको सम्र्पकमा पुगेको र उनको । त्यसैले उनको धार्मिक चिन्तनमा हिन्दु जसमुनी पन्थको प्रभाव रहेकोे भेटिन्छ । फाल्गुनन्द नेपाल फर्के पछि शुरुमा विशुद्ध जसमुमी पन्थलाई नै अभ्यास गरेता पनि उक्त साप्रदायका केही मानिससंग उनको विमति भएपछि उनी याक्थुङ लिम्बु समुदायको आध्यात्मिक धार्मिक चिन्तनको खोजिमा पुगेको देखिन्छ । उनले सनातन हिन्दुमा भन्दा याक्थुङ लिम्बुहरुको आध्यामिक चिन्तनमा बढी सनातनी भेटकाले याक्थुङ लिम्बु समुदायको आध्यात्मिक परम्परागत चेतनालाई सैद्धान्तिक रुपमा तान्दा उनले आफ्नो धार्मिक चिन्तनबारे ब्याख्या गर्दा उनी हिन्दु मनोविज्ञान तिर ढल्किएको देखिन्छ । जसको उदाहरण मुख्य रुपमा मुन्धुमी आध्यात्मिक ज्ञानमा आधारित आत्मा पात्र थेवासामलाई हिन्दुकृत गर्दै हाङसाम थेवासाम पात्र स्थापित गरिएपछि याक्थुङ लिम्बु समुदायको आध्यात्मिक परम्परागत चेतनामा सैद्धान्तिक रुपमा विचलन आएको देखिन्छ । यो धार्मिक अभ्यासमा मुन्धुमका मुल आत्मा पात्र तागेरा निवाफुमालाई आधार बनाएता पनि थेवा र युमा आत्मा पात्रलाई हिन्दुकृत गरेको देखिन्छ । यसले थेवासामलाई हाङसाम भन्दै हिन्दु धर्मको महादेवको रुपमा तुलना गरी युमाको सट्टा थेबासामको श्रेष्ठता कायम भएको छ । ब्यवहारतः हिन्दु जसमुनी पन्थको हुवहु चरु हवन गर्ने, शंख फुक्ने, त्रिशुल बोक्ने, डमरु बजाउने, कमाण्डलु बोक्ने कार्य गरेको देखिन्छ । धार्मिक संस्कार तथा सामुदायिक संस्कृतिका हिसाबले पनि धेरै विषयमा फरक अभ्यास गरेको देखिन्छ । मुन्धुमी स्थलहरुमा उनको सालिक ठडाउनुका साथै चरु हवन गर्ने मन्दिरहरु निर्माणका कार्यहरु धमाधम गरिरहेको छ । यो नै मुन्धुम तथा मुन्धुमी स्थलहरुको संरक्षणको बाटो हो भन्ने बुझाईमा रहेको छ । यो समुहले लामो समय समुदायमा एक्कल संस्थागत धार्मिक उपस्थिति जनाएको देखिन्छ ।

ख) युमा साम्यो

युमा साम्यो विभिन्न विद्धानहरुको धेरै अगाडिका उनीहरुको कृतिमा पाइएपनि युमा साम्योको आधिकारिक औपचारिक इतिहासलाई कोट्याउदा छिमेकी मुलुक भारतको सिक्किम राज्यमा जातिय धर्मको रुपमा याक्थुङ लिम्बुहरुले युमा धर्म पहिल्यै लेखाएका थिए । यसको नेपालको सन्दर्भमा विश्व याक्थुङ मुन्धुम समाज नामक संस्थाले २०६८ सालमा एक कार्यक्रम गरी लिम्बुहरुले जनगणनामा युमा धर्म लेख्न अपिल गरेको पाइन्छ । औपचारिक जन्म आधिकारिक हिसाबले २०७४ सालमा युमा साम्यो महासभा नेपाल नामक संस्था दर्ता भएपछि समुदायका आधिकारिक जन्म लिएको हो । यो धार्मिक सामाजिक संस्थाले मिति २०७५ साल बैशाख १६ देखी १८ गतेसम्म धरानमा बिभिन्न कार्यपत्रहरु प्रस्तुत गरी युमा मुन्धुम, धर्म र दर्शन बिषयक तीन दिने अन्तराष्टिय गोष्ठीबाट याक्थुङ लिम्बु समुदायले अनादिकालदेखि मान्दै आएको धर्म युमा धर्म भएको घोषणा गर्यो । उक्त गोष्ठीमा दश लिम्बुवान सत्र थुम, काठमाण्डौ, भक्तपुर तथा ललितपुर जिल्ला , भारतको आसाम, सिक्किम, दार्जीलिङ्ग, कालेबुङ, डुवर्स, बिजनवारी, सोनादा र मिरिक साथै हङकङ, यु.के., जापान समेतबाट याक्थुङ लिम्बुहरुको सहभागिता रहेको युमा साम्यो महासभा नेपालले जनाएको छ । यस हिसावले यो अत्यन्तै लोकतान्त्रिक प्रक्रिया मार्फत घोषणा गरिएको देखिन्छ । समुदायका विभिन्न ब्याक्ति, संघ संस्थाहरु विगतमा लागे पनि हालसम्म यो धर्म हाल नेपालमा मानिने १० धर्महरुको सुची बाहिर रहेको छ ।

युमा साम्योले अगाडि सारेको धार्मिक दर्शन अनुसार केही बियममा लगभग निचोडमा पुग्ने गरी छलफल चलाएको देखिन्छ । युमा धर्म विश्वमा अस्तित्वमा रहेको एक मात्र स्त्री आत्मा(साम) चरित्र परम ईश्वर भएको धर्म भएको र युमा धर्ममा युमा तागेरा निवाफुमा माङ नै स्वरुप र आकारको रुपमा युमा माङ । साम्माङ । सामको रुपमा रहने सामुदायिक मान्यतालाई आत्मासाथ गरेको देखिन्छ । युमा साममाङ युमा माङ कै पारिवारिक रक्षा, सुख , शान्ति तथा समृद्धिका लागि रहेको रुपमा हो भनी छलफल चलाएको देखिन्छ । युमा एक अलौकिक आत्मा पात्र ( चरित्र ) मात्र नभएर युमा एक दर्शन भएको र त्यसैको आधारमा युमा साम्यो (धर्म) हुने निचोेड दिएको देखिन्छ । युमा साम विशेष सन्देश तथा उपदेशका लागि सार्वजनिक सामुदायिक महत्वका विषयमा सार्वजनिक रुपमा अथवा ब्याक्तिमा अवतरण हुने शक्ति युमा माङकै रुप भएको निचोड दिइएको छ । युमा धर्म भित्रका अन्य देवता संग युमा माङको तुलना गर्न कुनै दृष्टिकोणबाट पनि नसकिने,थेवासाम युमाको सहायक शक्ति भएको, युमा माङ स्वयमलाई जुनसुकै रुपमा पनि बलि पुजाको आवश्याकता नपर्ने, युमा दर्शन भित्र अन्य आत्मा शक्तिहरुलाई ब्यवस्थापन गर्न बलि पुजा पनि आबश्यक पर्न सक्ने कुरा गरिएको छ ।

युमाद्धारा विभिन्न संस्कारगत कामका लागि जिम्मेवारी दिइएका संस्था फेदाङबा, साम्बा र येबा । येमाहरु बिना युमा धर्म पुर्ण कार्यन्वयनमा आउन नसक्ने र यस धर्ममा तुम्याहाङहरुको धेरै महत्व रहेको कुरा गरिएको छ । येहाङ, लेम्मुहाङ , लासाहाङ, उवाहाङ, माबोहाङ र सिरिजंघा प्रर्थम जस्ता ब्यक्तिहरु युमा साम उत्रिएका अथवा दर्शन पाएका मानिसको रुपमा बुझिएको छ । त्यसैले यो धर्ममा कोही ब्याक्ति युमा अथवा थेवाको अवतारको रुपमा जन्म लिने परम्परा नरहेको कुरा गरिएको छ । युमा धर्म सर्व शक्तिशाली तागेरा निवाफुमा युमा माङ कुेन्द्रीत बहुदेवताबादी धर्म भएको चर्चा गरिएको छ । साथै यो भविश्यमा एक देवतावादी हुन सक्ने संभावना बढी रहेको समेत चर्चा गरिएको छ । समग्रमा याक्थुङ लिम्बु समुदायले जन्म पुर्व , जन्म, जीवन , मृत्यु र मृत्यु पर्यान्त पेगीफाङमास ( फेदाङमा, साम्बा, येबा । येमा )हरु मार्फत सम्पन्न गरिने संस्कारहरुनै युमा साम्योको रुपमा परिभाषित गरेको छ । यो धर्ममा युमासाम ( जीवित मानिस )हरुको आफ्नै भुमिका रहेको चर्चा गरिएको छ ।

याक्थुङ लिम्बु समुदायको धर्मको नाम सन्दर्ध

याक्थुङ लिम्बु समुदायले किरात धर्म घोषणा गर्न अगाडि दुनियालाई ज्ञात हुने स्तरमा या औवचारिक रुपमा धर्मको नाम दिएको पाइदैन । ब्यबहारमा धर्मलाई नै प्रतिनिधित्व गर्ने गरी साम्यो (आत्माहरु द्धारा निर्देशित आध्यात्मिक ज्ञान ) को रुपमा युमा साम्यो भनिएको पाइन्छ । इमान सिंह चेम्जोङका कृतिहरुमा युमा साम्यो थेवा साम्यो भनिएको पाइन्छ । याक्थुङ लिम्बु समुदायको धर्मलाई ब्याख्या विश्लेषण गर्न विभिन्न विद्धान लेखकहरुले धेरै प्रयास गरेको पाइन्छ । समुदायमा अभ्यासमा रहेको आध्यात्मिक चिन्तनलाई दर्शाउने मुन्धुम अनुसार केहीले अनौपचारिक रुपमा मुन्धुम धर्मको कुरा गरेको पाइन्छ । धर्मको सवाल तीब्र हुदै जादा लिम्बु समुदायका अभ्यासमा रहेका संस्थाहरुको आधारमा फेदाङ्मा तथा येबा धर्म पनि भनेको पाइन्छ । किरात धर्मको घोषणा पछि लिम्बु समुदायको धर्म किरात हो भन्ने बुझाई पनि बिकास भएको पाइन्छ । किरात धर्म समुदायमा लामो अभ्यास पछि प्रतिउत्पादक बनेपछि लिम्बु समुदायकोे धर्म किरात होइन भन्ने निचोडमा समुदायका मानिसहरु एउटा निचोडमा पुगेको देखिन्छ । यस्तो अवस्थामा याक्थुङ लिम्बु समुदायले मान्ने खास धर्म के हो भनि छलफल भएको देखिन्छ । यस्तै माहोलमा आदिसमय देखि याक्थुङ लिम्बु समुदायले मानिल्याएको धर्मको नाम युमा साम्यो भएको घोषणा भएको पाइन्छ ।

यसरी घोषणा हुदै गर्दा युमा साम्यो नाम नहुने तर्क अहिले सम्म युमा त साम्माङ भएकाले साम्माङको नाममा युमा साम्यो नाम दिन नमिल्ने तर्कबाहेक अरु बलियो तर्क पेस भएका छैनन । यस्तो अवस्थामा किरात धर्मले अपनाएको धार्मिक दर्शन र ब्यावहारिक अभ्यास हिन्दुकृत रहेको, याक्थुङ लिम्बु समुदायको आध्यामिक ज्ञानले थेवासामलाई मानेपनि जीवनका लागिका लागि पुर्ण दर्शन नबन्ने, मुन्धुम धर्म आध्यामिक धार्मिक ज्ञानलाई ब्याख्या गर्ने अलिखित लिखित शास्त्र भएकोले शास्त्रको नामको आधारमा धार्मिक नामांकन नहुने, फेदाङ्बा र येबा येमाले सम्पुर्ण याक्थुङ लिम्बु समुदायलाई प्रतिनिधित्व नगर्ने भएकाले युमा दर्शनका आधारमा युमा साम्यो हुनु पर्ने तर्क युमा साम्यो अभियन्ताहरुको रहेको पाइन्छ । युमालाइ साम्माङको रुपमा मात्र बुझ्नु बुझाई र अध्ययनको कमजोरी रहेको तर्क पेश गरिएको छ । तार्किक र ब्यवहारिक हिसाबले युमा साम्यो नै मौलिक र उपयुक्त नाम भएको मानिएको छ ।

निश्कर्ष
नेपालमा हिन्दुकरणको अभ्यास शुरु भए देखि पृथ्वीनारायण शाह सम्म आइपुग्दा एकात्मक हिन्दुवादको अभ्यास नै राज्यको मुल चरित्रको रुपमा रहयो । राणाकाल हुदै शाहकालसम्म यो परप्पराले निरन्तरता पायो । यसको पेलानमा गुज्रीएका नेपालका आम आदिबासी समुदायले आफ्नो सत्तँ मात्र गुमाएनन । लगभग आफ्ना पहिचान नै गुमाएको अवस्था छ ।

पहिचानको बहुआयामहरु भाषिक, सांस्कृतिक, धार्मिक, राजनैतिक हिसाबले विभिन्न समुदायले धेरै गुमाएको छ । पाटीहरु प्रतिको आशा मात्र रहने आफ्नो योगदान कम रहने अवस्था, सत्ताले सदैब शोषण गरेको अवस्थाबाट आम आदिवासी समुदाय लामो उत्पीडन यात्राबाट गुज्रीनु परेको छ । विश्व भूमण्डलीकरण, पश्चीमाकरण, आधुनिककीकरण, आर्थिक निर्धारण बाद आदिको प्रभाव कारण विश्वाका सबै मानव समुदाय एकै हो भन्ने मान्यताको प्रबल विकास भइरहेको छ । सुचना प्रविधिको विकास र बलियो प्रभावका कारण यो समयको बेगलाई तीब्र बनाउदै गएको छ । भने विश्वका मानब एउटै भए पनि आआफ्नो पहिचान हुने मान्यताले पनि त्यतिकै स्थान पाइरहेको छ । यस कारण यो आम आदिवासीका लागि सामुदायका हिसाबले अहिलेको समय संकटको समय हो । अर्कातिर विश्व ब्यापि विकास र पहिचानको मुद्धा संगसंगै उठीरहेको छ । यस्तो अवस्थामा नेपालका आम आदिबासीले आफ्नो पहिचानको खोजी गर्नु स्वाभाविक कुरा हो । त्यसमा याक्थुङ लिम्बु समुदायले आफ्नो धार्मिक पहिचान सहितको सांस्कृतिक पहिचानको खोजिमा लाग्नु स्वाभाविक हो ।

पहिचान हुनलाई विशेषता चाहिन्छ । फरक पहिचान हुनलाई फरक विशेषता हुन जरुरी छ । लिम्बु समुदायको बारेमा अध्ययन गर्दा विश्वले जान्न बाकी रहेको मुन्धुम , लिपि, सभ्यता, युमा साम्यो जस्ता अनगिन्ती निधिहरु छन । यो जनगणनामा आफ्ना सम्पदा तथा अनगिन्ती निधिहरुको संरक्षण गर्ने अभियानमा लाग्नु नै विवेकशिल अभियान हुन्छ । धार्मिक आध्यात्मिक सन्देश नै मुन्धुमले निर्देशित गरेको पाइन्छ । मुन्धुमले याक्थुङ लिम्बु समुदायको संस्कार संस्कृतिलाई निर्देश गरेको पाइन्छ । याक्थुङ लिम्बु समुदायका लागि आफ्ना यति महत्वपुर्ण कुराहरु। निधिहरु। सम्पदाहरु छोडेर बहकिएर हिड्नु भनेको कस्तुरी मृगले आफ्ना नाभीमा रहेको सुगन्ध थाह नपाएर अरु तिर खोजि हिड्नु जस्तो मात्र हो । यो समुदायले आगामी जनगणना मार्फत आफ्नो धार्मिक, मौलिकता पुर्नःउत्थान गर्दै स्थापित हुने अभियानमा लाग्न जरुरी छ ।