धरान : आज माघ १ गते अर्थात् माघे सङ्क्रान्ति । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दा उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।

आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने चलन रहेको छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले यस्तो तातो परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास रहेको छ ।

“पुसमा पाके माघमा खाके“भन्ने उक्ति जस्तै आज सेल रोटीलगायत परिकार पनि पुस मसान्तमा बनाएर माघमा खाने प्रचलन रहेको छ ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायु मण्डल र हड्डीलाई तिलको तेलद्वारा मालिस गर्दा सुदृढ र स्वस्थ राख्न सकिन्छ ।

शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।
धर्मशास्त्रमा उल्लेख भए अनुसार
“ माघे मासि महादेव यो दद्यात् घृतकम्बलम् ।
स भुङ्क्त्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति ।।

अर्थात् मकर सङ्क्रान्ति का दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुन्छ । त्यसैले आजको दिन भक्तजनहरूले घिउ तथा कम्बल दान गर्ने गरेका छन् ।

महाभारतका अनुसार भीष्मले यही दिन मृत्यु रोजेका थिए भने भगीरथले यही दिन गङ्गा लाई पृथ्वीमा अवतरित गराई सागरमा मिलाएका थिए । त्यसैले माघे सङ्क्रान्ति का दिन प्रयाग र गङ्गा सागरमा गरिने स्नानलाई महास्नान पनि भनिएको हो ।

माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटा हुँदै जानेछ। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

आजको दिन देवघाट, त्रिशूली, काली गण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, माई,कोकाहा, कोशी लगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ ।

आज सुनसरी जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्रमा पनि बिहानैदेखि हजारौँ वैदिक धर्मावलम्बीहरूले मकर स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्दैछन् । धार्मिक विश्वासका आधारमा उक्त स्थानमा मकर नुहाई शरीर स्वच्छ बनाएमा मोक्ष प्राप्त हुने विश्वास गरिन्छ ।

आज विशेष गरी थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, खानपिन तथा रमाइलो गरेर माघी पर्व मनाउँदै छन् ।

यसै गरी किरातीहरुले पनि आजकै दिन येलेदोङ, येलेतङ्बे भन्दै नयाँ वर्ष, लिम्बु जातिले ककफेक्वा तङ्नाम मनाउदैछन् भने मगर समुदायले पनि आफ्नो धार्मिक विधि अनुसार यो पर्व मनाउदैछन् ।