इटहरी : नेपाली काँग्रेस मोरङको सभापतिमा शेखर कोइराला पक्षका डिग बहादुर लिम्बू विजयी भएका छन् । १२ गते सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि १४ गते भएको निर्वाचनमा लिम्बू विजयी भएका हुन् ।

नेपाली काँग्रेसको विधानको धारा १२ को उपधारा ५ (क) २ अनुसार सभापति विजयी हुन ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने हुन्छ । ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसके खण्ड (क) ३ बमोजिम पुनः मतदान गर्नुपर्ने व्यवस्था छ ।

सोही बमोजिम पहिलो र दोस्रो भएका उम्मेदवार बिच पुनः निर्वाचन प्रतिस्पर्धा भएको थियो। कोइराला पक्षका लिम्बू र संस्थापन प्यानलका दिलीप गच्छदारको बिच भएको प्रतिस्पर्धामा लिम्बुले भारी मतान्तरले विजय हासिल गरेका छन् । लिम्बूले १ हजार ९ सय ६ मत ल्याउँदा गच्छदारले १ हजार ४ सय २२ मत ल्याएका थिए ।

यसअघिका तेस्रा उम्मेदवार कृष्ण प्रसाद सिटौला पक्षका यदुकुमार विष्टले गच्छदारलाई समर्थन गर्ने बताए पनि त्यसको कुनै प्रभाव देखिएन । कोइराला पक्षकै मत पाएका उनले गच्छदारको पक्षमा मत ल्याउन सकेनन् ।

लिम्बूको अघिल्लो कार्यकालमा काँग्रेस धेरै कमजोर भएको भन्दै उनले विधि र विधान अनुसार पार्टी सञ्चालन गर्न आग्रह गर्दै गच्छदारलाई शुभकामना दिएका थिए । २५ बर्सदेखि कोइराला प्यानलबाटै राजनीति गरेका उनले निर्णायक समयमा देउवा पक्षलाई समर्थन गरेका हुन ।

पूर्व महामन्त्री तथा प्रदेश १ काँग्रेसको निर्वाचन संयोजक रहेका सिटौला सोमबार बिहानै देखी विराटनगर पुगेर कोइराला प्यानल विरुद्ध लागेका थिए । केन्द्रीय सभापतिको दाबी गरिरहेका कोइरालाकै गृह जिल्लामा सिटौलाको उपस्थिति अर्थपूर्ण देखिएको थियो । इतर प्यानलबाट सर्वसम्मत उम्मेदवार हुने दाबी गर्दै आएका कोइरालाको लागी सिटौलाको उपस्थिति चुनौतीपूर्ण मानीएपनि त्यो हुन सकेन । १३ औँ महाधिवेशनको दोस्रो चरणको निर्वाचनमा देउवालाई सघाएका सिटौलाले मोरङमा पनि त्यसैलाई निरन्तरता दिएका छन् ।

सिटौला मात्र नभई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पनि देउवा टिमका उम्मेदवार गच्छदारलाई समर्थन गरेका थिए । लामो समय कोइराला टिमबाट राजनीति गरेका उनले अन्ततः देउवा टिमका उम्मेदवारलाई सघाएका हुन् ।

केन्द्रीय सदस्य अमृत अर्याल र राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले रणनीतिक अभियान चलाएका छन् । उता डाक्टर शशाङ्क कोइराला निकट डा.मिनेन्द्र रिजाल पनि डा. शेखर प्रति त्यति उदार देखिएका छैनन् । शेखर सँग भन्दा देउवा सँग निकट सम्बन्ध रहेका उनीहरूले गच्छदारलाई नै समर्थन गरेका हुन् । त्यस सँगै महेश आचार्यले पनि गच्छदारको पक्षमा भोट मागेका थिए ।

सुरुवात देखी नै आलोचक देखिएका कोइरालालाई गृह जिल्लामै कमजोर बनाउने देउवा रणनीति असफल भएको छ । गृह जिल्लामा विजय हासिल गरेसँगै कोइराला शक्तिशाली भएका छन् ।