धरान: विभिन्न आरोपमा पक्राउ परेकाहरुलाई अनुसन्धानको लागि राखिने हिरासत कक्ष(भवन) व्यवस्थित बनाउने उद्देश्यले निर्माणाधिन हिरासत भवनको आज दोस्रो तलाको ढलान भएको छ ।

इलाका प्रहरी कार्यालय धरान परिसरमा जनसहभागितामा व्यवस्थित हिरासत भवन निर्माण भइरहेको छ । विभिन्न अपराध एवं घटनाहरुमा पक्राउ परेकाहरुललाई राखिने हिरासत कक्ष अत्यन्तै साँघुरो र दयनीय अवस्था भएपछि प्रहरी नागरिक सहकार्यमा नयाँ व्यवस्थित हिरासत भवन निर्माण भइरहेको हो । धरानका समाजसेवी मिन सुब्बाको संयोजकत्वमा बनेको निर्माण समितिले शनिबार दोस्रो तलाको ढलाई गरेको हो । ढलाईमा मनोकामना आरएमसि प्रालिको नयाँ तथा आधुनिक प्रविधि प्रयोग गरिएको छ । यसले खर्च र समयको बचत हुने निर्माण समितिले जनाएको छ ।

हिरासत भवन सार्वजनिक सम्पत्ति भएको र जनताको पनि ठुलो लगानीमा निर्माण भइरहेकोले ढलाई कार्यमा मिडिया, समाजसेवी, राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरुलाई अवलोकनको लागि निम्त्याइएको निर्माण समितिका संयोजक सुब्बाले बताए । भवन ढलाईको अवलोकन गर्न प्रदेश सभामुख प्रदीपकुमार भण्डारी, प्रदेश सांसदहरु उमिता बराइली, चन्द्रप्रसाद श्रेष्ठ, सावित्री जोशी, धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी, वडाअध्यक्षहरु, सुनसरीका एपजी यज्ञविनोद पोखरेल, पुर्वमेयर मनोज मेन्याङ्बो, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटासहित विभिन्न राजनीतिक दलका नेता, पत्रकारहरु पनि पुगेका थिए ।

IMG_9086

संयोजक सुब्बा अनुसार भवनको कुल २ करोड ७८ लाख रुपैया लागत स्टिमेट भएको छ । हालसम्म प्रदेश सरकारबाट ४० लाख र प्रदेश सांसद विकास कोषबाट १० लाख रुपैया सहयोग भएको छ भने उपमहानगरपालिकाबाट ५ लाख बजेट सहयोग भएको छ । सहयोगी दाता एवं जनताबाट झण्डै ५० लाखको हाराहारीमा सहयोग भएको सुब्बाले जानकारी दिए । ‘जे जति सहयोग आएको छ, पारदर्शीढंगले निर्माणमा लगाएका छौं । हामीले एकरुपैया पनि अन्य प्रयोजनमा खर्च गरेका छैनौं, हामीले खाजा र चिया पनि व्यक्तिगतरुपमा नै खर्च गरिरहेका छौं,’संयोजक सुब्बाले भने ।

IMG_9058

हालसम्म ५० प्रतिशत भवनको निर्माण कार्य सम्पन्न भएको छ । बाँकी काम २०७७ सालभित्र सम्पन्न गर्ने निर्माण समितिले जनाएको छ । भवन ९ वटा कोठाको बन्नेछ । महिला र पुरुषको छुट्टा छुट्टै हिरासत कक्ष हुनेछ भने घटना वा अपराधको प्रकृति अनुसार अलग अलग कोठामा कैदीहरुलाई राखिनेछ । ‘कोही लागुऔषधमा पक्राउ परेका हुन्छन्, कोही गाडी दुर्घटना परेका चालक हुन्छन्, कोही हत्यामा पक्राउ परेका हुन्छन्, कोही सामान्य झगडा भएका हुन्छन्,’संयोजक सुब्बाले भने,‘सबैलाई एउटै कोठामा राख्न उचित हुदैन, त्यसैले व्यवस्थित हिरासतको खाँचो महसुस गरेर बनाइरहेका छौं ।’