धरान: दशैं तिहार जस्ता चाडपर्व नजिकिदैछ । यही चाडपर्व नजिकिएपछि धरानमा बर्षेनी बजार अनुगमन शुरु हुन्छ । अहिले धरानमा दिनहुँजस्तो बजार अनुगमन भइरहेको छ । लाग्छ, सर्वसाधारण उपभोक्ताहरु दशैंमा मात्र ठगिन्छन्, र दशैंमा मात्र अस्वस्थ्यकर खाद्यान्न हुन्छ ।

अनुगमनकै क्रममा हिजो आइतबार धरान उपमहानगरपालिकाको नेतृत्वमा अनुगमन टोली धरान १७ स्थित रेल्वे चोकमा पुग्यो, र मासु पसलको अनुगमन थाल्यो । मासु पसलमा बेथिति थियो । अधिकांश दर्ता विना र न्युनतम मापदण्ड पनि पुरा नगरी मासु बिक्री भइरहेको थियो । त्यसैक्रममा बोर्ड पनि नभएको र खाटमा मासु राखेर खुलारुपमा नै बिक्री भइरहेको एक मासु बिक्रेताको अघि अनुगमन टोली पुग्यो । त्यहाँको दृष्य हेर्दा त्यो पसल तत्काल बन्द गर्नुपर्ने अवस्थामा थियो ।

bajar-anugaman 1

अनुगमन टोलीले यसरी जथाभावी मासु बिक्री गर्न पाइदैन भनेर सोधपुछ गर्न थाल्यो । त्यसक्रममा केही सवाल जवाफ भयो । अनुगमन टोलीले ‘यो पसल बन्द गर्नुस्,र आवश्यक मापदण्ड पुरा गरेर मात्र चलाउनुस्’ भन्यो । उक्त मासु पसल सञ्चालक थिए, मानबहादुर र तारा राई दम्पत्ति । अनुगमन टोलीले त्यसो भन्न नपाउदै उनीहरु जंगिए,‘त्यसो भए नगरपालिकाले काम दिन्छ ? यो बन्द गरेर हामी काम गर्न जान्छौं ।’ दुवैलाई अनुगमन टोलीले सम्झाउने प्रयत्न गर्यो, तर उनीहरु गलेनन् । टोलीले फारम भर्यो, र अर्को पटक अनुगमन आउदा सुधार गर्नुपर्ने कडा चेतावनी दियो ।

२० दिनको अल्टिमेटम

अनुगमन टोलीका अनुसार आइतबार मात्र रेल्वे क्षेत्रमा कुल १३ वटा मासु पसलको अनुगमन गरिएको थियो । ती मध्ये ३ वटा मात्र कुखुराको मासु बिक्री गर्ने पसल थियो, र ती मात्र व्यवस्थितरुपमा दर्ता भएर चलेका थिए । बाँकी सबै वंगुरको मासु पसल थियो । ती सबै दर्ता विना र अव्यवस्थितरुपमा कुनै पनि मापदण्ड पुरा नगरी चलेका थिए । ‘मापदण्ड अनुसार मासु पसलमा डिप फ्रिज हुनुपर्छ, र मासु फ्रिजभित्र राखिनुपर्छ । शिशाले घेरेर जालीले पनि छोपेको हुनुपर्छ,’अनुगमन टोलीमा भएकार नगर प्रहरी निरीक्षक विष्णु कोइरालाले भने,‘तर त्यस्तो केही पनि थिएन । कतिसम्म भने हरियो झिंका भन्किरहेको पनि थियो ।’

bajar-anugaman-masu4

मासु पसल खुलारुपमा खाटमा चलेको र चटपटे जस्तो ठेलामा पनि थियो । यस्तै, किराना पसल र पशुपंक्षीको औषधी बिक्री पसलमा पनि मासु बिक्री भइरहेको भेटिएको थियो । ती सबैलाई एक पटकको लागि चेतावनी दिएर र २० दिनको समय दिएर छोडिएको कोइरालाले बताए । ‘सबैले २० दिनको समय दिनुस्, मापदण्ड पुरा गछौं भनेकोले त्यतिको समय दिएका छौं,’उनले भने,‘दर्ता गरेर फेरि पनि सुधार भएन भने बन्द गराउछौं ।’ कतिपय मासु पसलमा जोख्नको लागि ढुंगाको ढक पनि प्रयोग गरिएको थियो । अनुगमन टोलीले ढुंगाको ढकलाई तत्काल फाल्न लगाएको थियो ।