हड्डीको भित्री भाग अर्थात् बोनम्यारोमा रगत बन्ने गर्छ । तीनवटा तत्व हेमोग्लोबवन, सेतो रक्तकोष र प्लेटलेट्स मिलेर रगत बनेको हुन्छ । रातो रक्तकोषले शरीरमा चाहिने तत्व अर्थात् अक्सिजन र हेमोग्लोबिनको मात्रा कायम राख्छ । त्यस्तै, सेतो रक्तकोषले प्रतिरोधी क्षमता बढाउने र प्लेटलेट्सले रगत बग्नबाट जोगाउने काम गर्छ ।
रगतको क्यान्सर हुनु भनेको बोनम्यारोको क्यान्सर हुनु हो । बोनम्यारोमा क्यान्सरका सेल निर्माण हुन थालेपछि रगतसँगै शरीरको प्रत्येक अंगमा पुग्ने गर्छन् । क्यान्सरका सेलले हेमोग्लोबिन, सेता रक्तकोष र प्लेटलेट्सको मात्र बढाइदिन्छन् । फलस्वरूप शरीरमा रगतको कमी हुने, अन्य संक्रमण फैलिने, रगत बगेर जानेजस्ता समस्या देखिन्छन् ।
ब्लड क्यान्सर आफैँमा खतरनाक रोग हो । यसका धेरै प्रकार छन् । बच्चामा एएलएल ब्लड क्यान्सर हुन्छ, जसलाई एक्युट ल्युक्यिमिया प्लास्टिक लिथोमिया भनिन्छ । यस्तै वयस्कमा हुने क्यान्सर सिएलएल (सिएमएल क्रोनिक ल्युकिमिया) हो । यसबाहेक उमेर पुगेका व्यक्तिमा लिम्फोमा, क्रोनिक ल्युकिमिया, एक्युट ल्युकिमिया, मल्टिपल मायलोमा आदि क्यान्सर हुने गर्छन् ।
कसरी थाहा पाउने ?
रगतमा आरबिसी र डब्लुबिसीको मात्रा बढ्नु नै ब्लड क्यान्सर हो । त्यस्तै प्लेटलेट्सको मात्रा बढ्दा पनि क्यान्सर हुने गर्छ । तर, सबै क्यान्सर रगत जाँचेर मात्रै थाहा नहुन सक्छ, कतिपयमा बोनम्यारोको जाँच गरेर मात्र क्यान्सर भएको पत्ता लगाउन सकिन्छ ।
ब्लड क्यान्सरको आफ्नै कुनै लक्षण देखापर्दैनन् । अन्य सामान्य शारीरिक समस्या देखापर्छन्, जसको उपचारको क्रममा ब्लड क्यान्सर भएको थाहा हुने हो ।
शरीरमा नीला दागदेखापर्नु, बारम्बार संक्रमण हुनु, घाउ चोटपटक लाग्दा रगत नरोकिनु, थकान र कमजोरीपन देखिनु, तीव्र रूपमा तौल घट्नु, हड्डी तथा जोर्नी दुख्नु, भोक नलाग्नु, पेटमा समस्या देखिनु आदि ब्लड क्यान्सरका प्रमुख लक्षण हुन् ।
यस्ता लक्षण अन्य रोगका कारण पनि देखिन्छन् । त्यसैले लक्षण देखिएकै आधारमा ब्लड क्यान्सर भएको यकिन गर्न सकिँदैन । बरु, स्वास्थ्य संस्थामा गएर चेकजाँच गर्नुपर्ने हुन्छ ।
ब्लड क्यान्सरको उपचार किमोथेरापीबाट गर्न सकिन्छ, यसबाट करिब ७० प्रतिशत क्यान्सर निको पार्न सकिन्छ
कारण
क्यान्सरका विभिन्न कारण छन् । किमोथेरापी गरेका व्यक्तिमा पछि गएर ब्लड क्यान्सर हुने जोखिम रहन्छ, तर सबैमा यस्तो हुन्छ भन्ने होइन । रेडिएसन र विकिरणको प्रभावबाट पनि क्यान्सर हुन सक्छ ।
ब्लड क्यान्सरको अर्को कारक तत्व बेन्जिन केमिकल हो । वातावरणीय प्रदूषण, प्लास्टिक उद्योग आदिबाट उक्त केमिकल निस्किने गर्छ । यस केमिकलको सम्पर्कमा लामो समय बस्दा ब्लड क्यान्सर हुन सक्छ । इबी भाइरसको संक्रमण लामो समयसम्म हुनु, खराब जीवनशैली पनि अर्को कारण हो ।
ब्लड क्यान्सर वंशाणुगत पनि हुन सक्छ, प्रायः बालबालिकामा यस्तो देखिन्छ । तर, वंशाणुगत गुणबाट एकदमै थोरैमा क्यान्सर देखिने गर्छ ।
उपचार
ब्लड क्यान्सरको उपचार किमोथेरापीबाट गर्न सकिन्छ । किमोबाट करिब ७० प्रतिशत क्यान्सर निको पार्न सकिन्छ । क्यान्सरको प्रकृतिअनुसार उपचारको क्रम लामो समयसम्म चल्छ । सामान्यतया उपचार गर्दा ६ महिनाभन्दा बढी समय लाग्न सक्ने भएकाले आर्थिक भारसमेत बढी पर्छ ।
ब्लड क्यान्सरको अर्को उपचार बोनम्यारो प्रत्यारोपण हो । ब्लड क्यान्सर किमोबाट निको नभएमा वा उपचारपछि फेरि बल्झिएमा बोनम्यारो प्रत्यारोपण गरिन्छ । तर, बोनम्यारो प्रत्यारोपण अझै पनि नेपालमा सहज हुन सकेको छैन ।
डा.अजयकुमार झा, रगत तथा बोनम्यारो, प्रत्यारोपण विशेषज्ञ कान्तिपुर अस्पताल