धरान : ईलाका प्रहरी कार्यालय धरानमा फागुन महिना मात्र ३८ वटा मुद्दा दर्ता भएका छन, त्यसमा सबैभन्दा बढी लागुऔषध कारोबारका छन् ।
ईलाका प्रहरी कार्यालय धरानका डिएसपी भाषणबाबु राईले आज सोमवार आयोजित पत्रकार सम्मेलनमा फागुन महिनामा सबैभन्दा बढी लागुऔषध सम्बन्धी १० वटा मुद्दा दर्ता भएको बताएका हुन । इलाका प्रहरीले लागुऔषधको अपराधमा १९ जना पक्राउ गरेको छ। 
फागुन महिनामा इलाका प्रहरी धरानले १ जना फरार प्रतिवादी पक्राउ गरी ३ हजार रुपैयाँ जरिवाना असुल गराएको छ ।
दर्ता भएका मुद्धाहरु सवारी ज्यान १, बहुविवाह १, आपराधिक उपद्रव ८, कर्तव्य ज्यान १, अभद्र व्यवहार १, बैङ्किङ कसुर ४, ठगी ४, झुन्डिएर मृत्यु २ र भवितव्य ५ गरी जम्मा ३८ वटा छन् ।
लागुऔषधमा पक्राउ परेका १९ बाट प्रहरीले ट्रामाडोल १ हजार ४६८ क्याप्सुल, स्पास्पिन १ हजार ८८ ट्याब्लेट, डिकोलिक ४०५ ट्याब्लेट, स्पास्मो प्रोभिसवन २८८ क्याप्सुल र गाँजा १ केजी ६७ ग्राम बरामद गरिएको छ ।
पक्राउ परेकाहरू मध्येबाट इलाका प्रहरी धरानले २ वटा मोटरसाइकल र २ वटा चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिएको छ ।
डिएसपी राई अनुसार धरानमा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन ३ वटा एलआरपी र १३० वटा एसआरपी परिचालन गरिएको छ।
सार्वजनिक सेवा प्रवाहको क्रममा फागुन महिनामा प्रहरीले ५१८ जना महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सेवा प्रदान गरिएको उनले बताए ।