इटहरी : पर्याप्त पूर्वाधार र भौतिक संरचनाका बाबजुद मोरङको गोठगाउँमा अवस्थित पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थित हुन सकेको छैन । विश्वविद्यालय अत्याधुनिक ८ वटा भवन, लाइब्रेरी, प्रयोगशाला कक्ष उपयोग विहीन भइरहेका छन् । त्यस्तै नयाँ भवनहरू बन्ने क्रम पनि जारी छन् ।
राजनैतिक दाउपेचको कारण विश्वविद्यालय थलिँदै गएको धेरैको बुझाइ छ । राजनैतिक नियुक्ति गरी विश्वविद्यालय कब्जा गर्ने रणनीतिले विश्वविद्यालयको अवस्था दिनदिनै खराब बन्दै गएको हो । केही दिन अगाडी विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरवाट गोठगाउँमा सरेपछि कुन पार्टीले जस लिने भनेर प्रतिस्पर्धा नै बन्यो । पछि सुन्दरहरैचा नगरपालिकाले सबैले जस पाउने गरी विज्ञप्ति जारी गरेर सहजीकरण गरिदियो ।
८०५ बिघा क्षेत्रमा फैलिएको विश्वविद्यालय क्षेत्र वन्यजन्तु तस्करको अड्डाको रूपमा रूपान्तरण भएको थियो । उपकुलपतिको निगरानी बाहिर विश्वविद्यालय रहेकोले चलायमान हुन नसकेको गुनासो भइरहेको थियो । विश्वविद्यालयलाई खासै चासो दिनेहरू नभएको कारण यस्तो अवस्था सृजना भएको विश्वविद्यालयका सिनेट सदस्य लोकप्रसाद संग्रैला बताउँछन् । लामो समय देखी विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमै राख्नुपर्छ भन्ने माग पुरा भएकोमा आफू धेरै खुसी भएको उनको भनाई छ ।
२०५० सालमा एक विकास क्षेत्र एक विश्वविद्यालयको अवधारणा विकास भए सँगै पूर्वाञ्चल विश्वविद्यालयको स्थापना भएको हो । यही अवधारणा अनुसार बि सं ०५२ सालमा विश्वविद्यालय सञ्चालन ऐन बनेको थियो । स्थापनाका बखत भवन अभावमा तत्कालीन ‘नेशनल ट्रेडिङ’ को भवन विराटनगरमा कार्यालय राखेर काम सुरु भयो । पछि विश्वविद्यालयको लागी जग्गाप्राप्त भएपछि तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले सोही स्थानमा केन्द्रीय कार्यालय राख्न निर्देशन दिएका थिए । त्यहाँ पनि भवन पर्याप्त भएन । पछि जनता ल क्याम्पसको भवन भाडामा लिएर कार्यालय सञ्चालन भएको थियो ।
२०६५ साल देखी गोठगाँउमा भवन निर्माण कार्य सुरु भएको थियो । १८ करोडको लागतमा ८ वटा भवन निर्माण भएको तत्कालीन विश्वविद्यालय सहयोग समितिका अध्यक्ष समेत रहेका सङ्ग्रौलाको भनाइछ । उनका अनुसार तत्कालीन अवस्थामा २ सय बिघा जग्गामा जडीबुटी खेती तथा प्रशोधन केन्द्र बनाउने २ सय बिघामा भवन निर्माण गरी विभिन्न सङ्काय सञ्चालन गर्ने योजना बनेको थियो । ३ सय बिघामा नयाँ जातका बिरुवा रोप्ने र बाकी जग्गामा स्टेडियम र सुपर मार्केट बनाउने योजना रहेको थियो । तर माओवादी द्वन्दको कारण योजना असफल भएको थियो ।
गिरिजाप्रसाद कोइराला अश्वथ्य हुनथालेपछि विश्वविद्यालयले गतिलीन छाडेको सङ्ग्रौला बताउँछन् । ‘राजाको शासनकालका उपकुलपति जगत् बहादुर केसीको पालामा मेडिकल शिक्षा सञ्चालन हुने भनिए तापनि पछि गणतन्त्र आएपछि उक्त मुद्दा सेलाएर गयो ।,’ उनी भन्छन् , ‘ पछि उपकुलपतिहरू आफै राजनैतिक संरक्षणमा भएको कारण विश्वविद्यालय फस्टाउन नसकेको हो ।’
विश्वविद्यालयमा एमबिबिएस, एमडी, नर्सिङ, बि फर्मा, बिएन, बिएस्सी नर्सिङ लगायत मेडिकल शिक्षा सञ्चालन गर्न माग उठ्दै आएको छ । तर कुन सरकारको पालामा गर्ने र कसले जस पाउने भन्ने कारण कार्यान्वयन हुन सकेको छैन । दलीय भागबन्डाले गर्दा मेडिकल शिक्षा प्रभावित बन्दै गएको छ । लामो समय देखी अधिकांश विभागमा कर्मचारी अभाव छ । निवर्तमान उपकुलपति घनश्यामलाल दास कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाएर मेडिकल शिक्षा सञ्चालन गर्ने योजना बनेको सुनाउँछन् । पछि आफू बाहिरिँदा सम्म यो प्रक्रिया अगाडी बढेको तर कार्यान्वयन हुन केही समय लाग्ने उनको भनाई छ ।
सङ्घीय सरकारबाट पर्याप्त बजेट विनियोजन नहुने कारणले विश्वविद्यालय धारासयी भएको उनी सुनाउँछन् । हाल स्नातकोत्तर शैक्षिक कार्यक्रमहरू सञ्चालनका लागि गोठगाउँ परिसरमा तीन वटा नयाँ आङ्गिक क्याम्पसहरूको सञ्चालन गरी उक्त आङ्गिक क्याम्पसहरू मार्फत कृषि शैक्षिक कार्यक्रमको सञ्चालनमा आएका छन् । भेटेरेनरी, फरेष्ट्री एवम् वातावरण शैक्षिक कार्यक्रम पनि सञ्चालन हुन थालेका छन् ।
हाल प्रदेश सरकारले प्रदेशकै मातहतमा बिश्वबिद्यालयलाई ल्याउने गरी प्रक्रिया अगाडी बढाइरहेको छ ।