• पारस राई

म्याड्रिड : किरात राई समाज स्पेनले उभौली साकेला पर्व स्पेनको राजधानी म्याड्रिडमा भव्य रूपमा मनाएको छ।

मे १० तारिख सोमबार आयोजित कार्यक्रममा किरात सम्बत ५०८६ को अवसर पारेर साकेला नाच, नेपाली मौलिक गीत सङ्गीत तथा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो।

समाजका अध्यक्ष युवराज चाम्लिङ राई लगायत प्रवासमा रहेका किरात राई समुदायका अग्रज व्यक्तित्वहरूले विधिवत् पूजा गरी उभौली साकेलाको उद्घाटन गरेका थिए।

अध्यक्ष राईका अनुसार किरात राई समुदायले प्रकृति, भूमि र पुर्खाको पूजा गर्दै विगत तीन वर्षदेखि स्पेनमा उभौली चाड मनाउँदै आएको छ। उनले यस्ता सांस्कृतिक कार्यक्रमहरूले प्रवासमा रहेका नेपाली समुदायबिच मौलिक भाषा, संस्कृति र पहिचान संरक्षण गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए।

उनले उभौली साकेला पर्वले आगामी दिनमा प्रवासमा रहेका नेपालीहरूबिच सांस्कृतिक एकता, सद्भाव र पहिचानलाई अझ सुदृढ बनाउन पुलको काम गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा एनआरएनए लगायत विभिन्न समुदाय तथा सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

spain sakela 2