धरान : बिहीबार बिहान सिमसिम पानी परिरहेको थियो । शरीरमा पिपिई, पन्जा र फेस शिल्ड लगाएका मानिसहरूलाई देख्दा धरानका स्थानीय मानिसहरू एकोहोरो हेरिरहेका थिए । माथि उल्लेखित दृश्य हो, नेपाल प्रेस युनियन सुनसरीले सुरु गरेको मोबाइल डाक्टर अभियानको । यसबेला प्रेस युनियन सुनसरीले जिल्लाका कोरोना सङ्क्रमित सञ्चारकर्मीहरूको घरमै गएर मोबाइल डाक्टर सेवा दिँदै आएको छ।
प्रेस युनियनका जिल्ला अध्यक्ष पवन अधिकारीका अनुसार धरानमा रहेको कोरोना सङ्क्रमित सञ्चारकर्मीहरूलाई बिहीबार घरघरमा मोबाइल डाक्टर सेवा प्रवाह गरिएको छ। धरानका तीनजना सञ्चारकर्मीहरूलाई मोबाइल डाक्टर सेवा प्रवाह गरिएको हो । यसअघि इटहरी र इनरुवाका आठजना सञ्चारकर्मीहरूलाई सो सेवा प्रदान गरिसकिएको उनले बताए ।
‘हामीले कोरोना सङ्क्रमित सञ्चारकर्मीको घरमै गएर डाक्टरसहित औषधी प्रदान गर्दै आएका छौँ,’ अधिकारीले भने, ‘डाक्टर र नर्सले कोरोना सङ्क्रमितहरूलाई उत्प्रेरणामुलक कुरा सेयर गर्ने र औषधी प्रदान गर्दै आउनुभएको छ, प्रेस युनियनको यो अभियानले यसबेला कोरोना जित्नका लागि हौसला मिलेको अनुभव गरेका छौँ ।’ उनका अनुसार कोरोना लागेर आइसोलेट भएका सञ्चारकर्मीहरूलाई मोबाइल डाक्टर सेवाले कोरोना जित्नका लागि हौसला प्रदान गर्नेछ ।
मोबाइल डाक्टर सेवाकालागि डा. अमित कुमार खतिवडा, औषधी विज्ञ धनेश्वर शर्मा, स्टाफ नर्स किरण चौधरीले चिकित्सकीय परामर्श गर्दै आएको अधिकारीले बताए।
साथै, केयरफस्ट पोलिक्लिनिक कालाबञ्जरले आवश्यक औषधी तथा भिटामिनका सामान उपलब्ध गराउँदै आएको छ । त्यस्तै इटहरीका सर्जिकल व्यवसायी ओमप्रकाश निरौलाले स्वास्थ्य सामाग्री सहयोग गरेका थिए।
बिहीबार धरानका सञ्चारकर्मीहरूलाई चिकित्सकीय टोलीसहित प्रेस युनियनका अध्यक्ष अधिकारी, पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई, सहसचिव भोला श्रेष्ठ, महासङ्घका सदस्य विवेक विवश रेग्मी, प्रेस युनियन धरानका संयोजक मात्रिका प्रसाद नेपाल तथा युनियन धरानका सल्लाहकार लक्ष्मण थापाले सञ्चारकर्मीको घरमै पुगेर आवश्यक परामर्श गरेका थिए ।
धरानका सञ्चारकर्मी कमानसिंह राई, नवीन रम्तेल र नेगेटिभ रिपोर्ट आएर पनि शरीर अस्वस्थ रहेका पारस राईलाई उनीहरू बसेकै स्थानमा गएर चिकित्सकहरूले बिहीबार परामर्श दिएर औषधी समेत प्रदान गरेका थिए। त्यस्तै, इटहरीका सञ्चारकर्मी प्रकाश तिम्सिनाको घरमै गएर परामर्श दिइएको थियो ।
होम आइसोलेट भएर बसेको समयमा के गर्ने, के नगर्ने, के खाने, के नखाने भन्ने विषयमा डा। अमित कुमार खतिवडाले आवश्यक परामर्श दिएका थिए । डा. खतिवडाले भने, ‘यसबेला धेरैजसो मानिसहरू मानसिक रूपमा कमजोर भएका छन्, त्यतिकै पनि त्रासमा बाँचिरहेका छन्, यस्तो समयमा सकारात्मक परामर्शले पनि ठुलो समस्या समाधान हुनसक्छ ।’ उनले अहिले नकारात्मक समाचारहरू मात्रै आएको, महामारीको त्रास फैलिएको र मानसिक रूपमा मानिसहरू कमजोर भएकाले निःशुल्क औषधी, परामर्श दिएको बताए ।
घरमै चिकित्सकीय टोलीसहित युनियनले स्वास्थ्य अवस्था बुझ्न आउनु सकारात्मक रहेको सङ्क्रमित सञ्चारकर्मीहरुले बताएका थिए । उनीहरूले घरमै आएर स्वास्थ्य अवस्था बुझेर आवश्यक स्वास्थ्य सामाग्री सहित औषधी दिँदा कोरोना जित्नका लागि हौसला मिलेको बताएका छन् ।