इटहरी : कालो बङ्गुरको पहिचान बोकेको धरानमा बगरकोटको रात्रिकालीन रमझमले जोस थपेको छ । आधुनिक सहरको रूपमा परिचित धरानमा बगरकोटले पनि छुट्टै अस्तित्व बनायो । साँझ परेपछि चलायमान हुने बगरकोट दिउँसो सुनसान र मौन देखिन्छ । सामान्य लाग्ने बजार राती असामान्य हुन्छ । दिन ढल्दै गएपछि बङ्गुरको सेकुवा र कानजिब्रो सँगै व्यावसायिक गतिविधिको छुट्टै स्वाद सुरु हुन्छ ।
सेउती खोलाको बगरमा केही चिया र चटपटे पसलबाट सुरु भएको बजार हो बगरकोट । बगरकोट पुरातत्वीक नाम हैन । धरानका स्थानीय कवि, कलाकारहरूले नगरकोटको नामलाई बगरसँग जोडेर राखेको नाम हो । त्यही विकट र बिरानो बगरकोट अहिले धरानको पहिचान बनेको छ ।
धरानको रात्रिकालीन बजारको हब बगरकोट लामो समय सुस्त रह्यो । बगरकोटमा हराउँदै गएको ऊर्जा पुनर्जीवित हुन थालेको छ । रात्रिकालीन सक्रियता बढ्न थालेको छ । आगन्तुकको सामान्य चहलपहल हुने बगरकोट पछिल्लो महिना देखि गुल्जार बनेको छ । बगरकोटको मौनताले सुस्त बनेको धरानले समेत त्राण पाउने आशा गरिएको छ ।
साँझ परेपछि चहलपहल सुरुहुने बजार राती जुरमुराउँछ । भिन्टेजको दुईबर्ष पछिको आगमनले ऊर्जा थपेको छ । सुस्ताएको बगरकोटलाई नयाँपन दियो । भिन्टेज लाउन्ज एण्ड बार क्लब पुनः सुरुवात भएपछि रात्रिकालीन चहलपहल बढ्दै गएको हो ।
किराना पसल सँगै सानो होटेल सञ्चालन गरिरहेका मेघराज लिम्बु भिन्जेटले बगरकोटलाई पुनर्जीवन दिएको बताउँछन् । पहिला १० बजे नै बन्दहुने बगरकोटमा अहिले १२ बजेसम्म व्यापार हुने उनको भनाइ छ । ‘दुईबर्ष बन्द भिन्टेज बन्द हुँदा बगरकोटको अन्य व्यापारमा समेत सुस्तता आएको थियो । अहिले धेरै राहत मिलेको छ । एमएच क्लब र भिन्टेजमा आउने आगन्तुकको कारण बगरकोट भाइब्रेट भएको छ,’ उनले भने ।
बगरकोटमा लामो समयदेखि सेकुवा पसल तथा होटेल सञ्चालन गरिरहेका प्रदीप तामाङले समेत भिन्जेटको पुनरोदय पछिको माहौल महसुस गरेका छन् । साँझको समयमा मात्र चल्ने होटेलमा उनले कर्मचारी थप गरेर राती १२ बजेसम्म सञ्चालन गर्न थालेका छन् । पछिल्लो समय व्यापारमा आएको गिरावटले निराश भएका उनी अहिले उत्साहित छन् ।
बगरकोट आसपास सफारी चलाउने बाचुमान राईले रातीसम्म खटीन थालेका छन् । दिउँसो भन्दा राती बढी भाडा उठाउन सकिने भएकाले साँझपछि उनी बढी सक्रिय हुन्छन् । भिन्टेज खुलेपछि धरानको मुख्य बजारबाट बगरकोट (दुई किलोमिटर पूर्वतर्फ) आवतजावतमा भ्याई नभ्याई हुने बताउँछन् राई ।
भिन्टेजका सञ्चालक सन्तोष विकका अनुसार ५ करोड लगानी गरेर नयाँ स्वरूपमा सुरुवात गरिएको हो । भिन्टेजले साउण्ड प्रुफ क्लब निर्माण गरेको बताउँदै उनले दुई महिना नपुग्दै भिन्टेजले पुरानै सक्रियता देखाउन थालेको बताए । रातभर सञ्चालनको अनुमति मागेपनि प्रशासनले राती दुई बजेसम्म मात्र अनुमति दिएको उनको भनाइ छ ।
राष्ट्रिय गायकहरूको प्रस्तुतिले रात्रिकालीन माहौल थप भव्य बन्दै गएको छ । सविन राईको प्रस्तुतिले भिन्टेजको पुनरागमन देखायो । त्यस लगत्तै चर्चित गायक यादव सरकारले बगरकोट तताए । नेपालमा मात्र हैन भारतीय बजारमा समेत चर्चित यादव सरकारको चर्चा बढ्दै गएको छ । बोली नङ्गा तार गीत भाइरल भएको छ । मिश्रित भाषामा गाएका उनको गीतले बजारमा चर्चा कमाइरहेका बेला धरानको आधुनिक र जनजाति बाहुल्य सहरमा समेत उनको प्रस्तुती चल्यो ।



































































