धरान : उँधौली पर्वको अवसरमा किरात राई यायोख्खा सुनसरीले शनिवार धरान–१७ साकेला पार्कमा वृहत् भाषिक साकेला विविध शिली प्रदर्शन गरेको छ ।
सिली नृत्यमा किरात समुदायको कृषि जीवन शैलीको विकास प्रतिबिम्बित हुने भएकाले सकेला सिली धार्मिक, सांस्कृतिक तथा सामाजिक आस्थासँग गाँसिएको मानिँदै आएको छ । सिलीहरूले बीउ छर्ने र बाली काट्ने, शिकार खेल्ने गतिविधिहरू अभिव्यक्ति हुन्छन् ।
कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्र विक्रम बेघाले साकेला पर्वको सांस्कृतिक र धार्मिक महत्त्व किरात जातिको समृद्धिसँग जोडिएको बताए ।
उनले भने ‘साकेला पर्व केवल नृत्य र उत्सव मात्र नभई किरात राई समुदायको सामाजिक, सांस्कृतिक र धार्मिक पहिचान हो ।’ पर्वले समुदायलाई एकताबद्ध गर्दै संस्कार र संस्कृति सन्देश दिन्छ र नयाँ पुस्तालाई परम्परागत संस्कृतिसँग जोड्ने काम गर्ने उनले उपप्रमुख बेघाले बताए ।
आधुनिकताका कारण सांस्कृतिक परम्पराहरू हराउँदै गएकोले मौलिक पहिचान जोगाउन परम्परागत पर्व नयाँ पुस्तामा संस्कृति हस्तान्तरणका लागि महत्त्वपूर्ण भएको उनको भनाई थियो ।
ययोख्खाका पूर्व केन्द्रीय अध्यक्ष, धरानका पूर्व नगर प्रमुख तिलक राईले उँधौली वैशाखे पूर्णिमा र उँधौली मङ्सिरे पूर्णिमासँग जोडिएको साकेला पर्व किरात राईको प्रकृति पूजा र जीवन शैलीसँग सम्बन्धित भएको बताए ।
दुवै पर्वमा प्रस्तुत गरिने सिली नृत्यले किरात जीवनशैली, कृषि, शिकार, बीउ छर्ने र बाली काट्ने गतिविधिहरूको प्रतीकात्मक अभिव्यक्ति दिने बताउँदै भने ‘यो परम्परागत अभ्यास र सांस्कृतिक ज्ञान संरक्षण नगरे समुदाय कमजोर बन्ने खतरा हुन्छ ।’
धरान–१५ का वडा अध्यक्ष नरेश ईवरामले उभौलीले खेतीपाती सुरु हुने समयलाई बुझाउने र उँधौलीले बालीनाली उठाएर उपभोग गर्न अघि प्रकृतिका पूजा गर्ने धार्मिक संस्कार भएको बताए ।
यायोख्खाका जिल्ला अध्यक्ष राजेन्द्र राईको सभापतित्वमा भएको कार्यक्रममा किरात राई यायोक्खाका स्थानीय शाखाका प्रतिनिधिहरू सहभागी थिए ।



































































