भाद्रकृष्ण प्रतिपदाका दिनदेखि भाद्रकृष्ण अष्टमीसम्म मनाइने मनाइने गाईजात्रा पर्व आजबाट देशभर मनाइँदै छ। काठमाडौँ उपत्यका अन्तर्गत काठमाडौँ, भक्तपुर, पाटनसहित विशेष गरी नेवार समुदायको बसोबास भएको ठाउँमा गाईजात्रा पर्व मनाइन्छ । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । गाईजात्रामा नेवार समुदायमा पितृहरूको सम्झना स्वरूप गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् ।
मृत्यु भएको एक वर्ष नपुगेका आफन्तका परिवारले गाईजात्राका दिन मृतक आफन्तको सम्झनामा उनीहरूको तस्बिरका साथै पुत्लाहरू बनाएर आ-आफ्ना इलाका परिक्रमा गराउने प्रचलन छ । गाई र मानिसलाई शृङ्गारी मृतक आफन्तको प्रतिमाका साथ सहर परिक्रमा गर्दै मृतकका आफन्तले फलफूल, मिठाई, दूध, दही लगायत विभिन्न खानेकुरा र द्रव्य दान गर्ने प्रचलन छ । यसरी नगर परिक्रमा गर्नाले दिवङ्गत आत्माले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ ।
ऐतिहासिक प्रमाण अनुसार वि।सं। १५१२ मा काठमाडौँका राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको विफरको महामारीमा परेर मृत्यु भएपछि शोकाकूल रानीलाई , हाम्रा मात्र होइन, दुनियाँका सन्तान पनि मरेका छन् भनी सान्त्वना दिलाउन यो जात्रा सुरु गरिएको थियो ।
यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमान ढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अझै पनि जारी छ ।
समय क्रममा गाई नहुनेले हसाउँदो भेषभूषामा बालबालिकालाई नै गाईको स्वरूपमा प्रदर्शन गराउँदा यसले हँसाउने जात्राको रूप धारण गरेको भनिन्छ । एक समयमा यो जात्रालाई निरङ्कुशताविरुद्ध व्यङ्ग्य गर्न पाइने र आफ्ना कुण्ठित भावनालाई उजागर गर्न पाइने समयका रूपमा पनि उपयोग गरिन्थ्यो ।
हिजोआज हास्यव्यङ्ग्य प्रस्तुत गर्ने विशेष कार्यक्रमलाई गाईजात्राको नाम दिइएको छ र हरेक वर्ष विभिन्न हाँस्यकलाकारहरू मिलेर गाईजात्रा सप्ताह समेत प्रस्तुत गर्ने गर्दछन्। यो कार्यक्रम अहिले पनि चलिरहेको छ र यसलाई युट्युबमा हेर्न सकिन्छ।
वैदिक सनातन धर्म अनुसार यस पर्वका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ । यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वी लोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतात्माहरूले यमलोक प्रवेशलाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख भएको छ । गाईलाई नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।