धरान : दलहरूप्रति युवा पुस्तामा देखिएको असन्तुष्टिले नेपाली राजनीतिमा विचारले स्वतन्त्र, गतिशीलताले युवा नेतृत्व अघि आउन जरुरी भएको छ । त्यस्तो नेतृत्व दलहरू भित्रैबाट अगाडि ल्याउने अवसर युवाहरूका अघि आएको छ । मङ्सिर ४ गते हुने सङ्घीय प्रतिनिधि सभा र प्रदेश सभा सांसदहरूको निर्वाचनलाई अधिकतम उपयोग गर्नभने जरुरी छ ।
त्यस्तै युवा पुस्ताको नेतृत्व गर्न सुनसरी-१ (क) प्रदेश सभा सांसदका प्रत्याशी उमेश थापा अग्रसर भएका छन् । जनताका असन्तुष्टिको विकल्प दलहरूबाटै दिइनु पर्दछ र त्यो सम्भव छ भन्ने उदाहरण उम्मेदवारहरू मध्ये थापा अग्रपङ्क्तिमा छन् ।
प्रदेश सभामा राजनीतिक भूमिका खेल्न लामै राजनीतिक अनुभव चाहिन्छ । आफ्नो क्षेत्रको भूगोल, विकास आवश्यकता, जनभावना बुझेका हुनुपर्दछ । नारामा मात्र होइन विचारले स्वतन्त्र हुनुपर्दछ । राजनीतिक, सामाजिक गतिशीलता बिना उमेरले मात्र युवा भनेर नेतृत्व गर्न सकिन्न ।
नेपाली काँग्रेस, प्रदेश १ समितिका महामन्त्री समेत रहेका थापा भन्छन् ‘राजनीतिमा जनभावना अनुकूल काम गर्न सक्नु पहिलो कुरा हो ।’ नेतृत्वमा पुगेपछि पार्टीको नीति, घोषित प्रतिबद्धता कार्यक्रमलाई जनभावना अनुकूल उनीहरूकै सहभागितामा कार्यान्वयन गर्नु पर्दछ । यसले पार्टीको सफलता, पार्टी प्रणालीप्रति जनतामा विश्वास अभिवृद्धि गराउने उनको धारणा छ ।
उनको भनाइले नेतृत्व गर्न चाहिने निर्णायक क्षमताका लागि स्वतन्त्र विचार उनमा विद्यमान छ भन्ने देखाउँछ । राजनीति सँगै सामाजिक सेवाको क्षेत्रमा उनी गतिशील युवाको रूपमा सुनसरी जिल्ला भरी नै सामाजिक सेवाका सारोकारवालाहरु परिचित छन् । विद्यार्थीकालबाटै राजनीतिमा लागेका थापा युवाहरूका अगुवा नै हुन ।
२०४६ सालमा नेविसंघको विद्यालय तहका कमिटी सभापति बनेका थापा, त्यसै बेला भएको पहिलो जनआन्दोलनमा सक्रिय आन्दोलनकारी थिए । विद्यार्थीकालमै उनमा सामाजिक सेवाको क्षेत्रमा रुचि थियो । यसले उनलाई २०५५-२०५९ साल सम्म नेपाल परिवार नियोजन सङ्घको युवा संयोजक जिम्मेवारी र जिल्ला समिति सदस्य समेत दिलायो ।
सामाजिक सेवाको क्षेत्रमा उनको सक्रियता यतिमा रोकिएन । २०६९ सालमा थापा नेपाल रेडक्रस सोसाइटीमा कार्यक्रम संयोजक बने । लगत्तै २०७० मा भएको रेडक्रसको निर्वाचनमा उनी सभापति निर्वाचित भए । रेडक्रसको दोस्रो कार्यकालमा पनि पुनः निर्वाचित थापा हाल सम्म सभापति छन् । यसबिच २०७७ मा उनी केन्द्रीय सदस्य पनि रहेका थिए ।
प्रत्याशी थापाको विद्यार्थी राजनीतिको क्रम २०४८ सालमा नेविसंघ सुनसरी-१ क्षेत्रीय सचिव रहेका थापा २०५१ मा सुनसरी जिल्ला सचिवमा उक्लिए । लगत्तै उनी नेपाली काँग्रेसको युवा राजनीतिमा प्रवेश गरे । २०५९ नेपाल तरुण दलका सुनसरी जिल्ला सदस्य बने । २०६७ मा सम्पन्न नेपाली काँग्रेसको बाह्रौँ महाधिवेशनमा थापा महाधिवेशन प्रतिनिधि र पार्टीको जिल्ला समिति सदस्य बने । २०७२ मा भएको तेह्रौँ महाधिवेशनमा उनी महासमिति सदस्य चयन भए । २०७३ सम्म काँग्रेस सुनसरी जिल्ला सदस्य रहेको थापा २०७८ मा सम्पन्न चौधौँ महाधिवेशनबाट नेपाली काँग्रेस प्रदेश १ महामन्त्रीमा निर्वाचित भएका हुन् ।
मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याएको २०६२/०६३ को दोस्रो जनआन्दोलन परिचालनमा थापाले नेपाली काँग्रेसको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । युवा देखी नै राजनीति र सामाजिक क्षेत्रमा समानान्तर नेतृत्व गर्दै आएका युवा नेता थापासँग आन्दोलन, सङ्घर्षको पनि गहन अनुभव छ ।
मुलुकमा भएका ठुला ठुला राजनीतिक परिवर्तनले जनतामा जागेका आकाङ्क्षा पुरा भएन, नेताहरूले भ्रष्टहरूलाई संरक्षण गरेकाले जनता निराश भएको उनको भनाई छ । दलहरूप्रतिको असन्तुष्टिका जिम्मेवार नेताहरू हुन् । उनी भन्छन् ‘दल होइन दलको नेतृत्व परिवर्तन हुनुपर्दछ त्यसको लागि युवा पुस्ता नेतृत्व लिनका लागि तयार हुन जरुरी छ ।’
अबको राजनीति चुनाव जितेर सत्ताको सुखभोगमा अलमलिने होइन जनताका माझ रहेर उनीहरूका आवश्यकता पुरा गर्नमा केन्द्रित हुनुपर्ने थापाले बताए । राजनीति र सामाजिक सेवाको क्षेत्रमा लामो समय गाउँ गाउँ जनताका माझ बिताएको अनुभव सुनाउँदै उनी भन्छन् ‘प्रदेशकै समस्या, विकासको आवश्यकता र जनभावनाको अनुभव मेले बटुलेको छु ।’
उनको भनाई अनुसार चुनावी संकल्प-पत्रमा विकासका न्यूनतम आवश्यकताहरू समेत उल्लेख गरेर यसको पुष्टि गरेका छन् । ८१ बुँदाको सङ्कल्पहरूमा उल्लेख भएका बुँदाहरूले प्रदेश १ (क) को मात्र होइन समग्र क्षेत्रकै विकासमा नयाँ फड्को मार्न सक्छ । तर ती कुराहरू सङ्कल्पहरू हुन । पाँच वर्षकै कार्यकालमा सबै पुरा हुने भने होइन ।
उम्मेदवार थापाले भने ‘जनताको प्रतिनिधित्व गर्न अग्रसर हुनेलाई यहाँका आवश्यकता, जनताको भावना के के छन् भन्ने बुझ्न र थाहा हुन जरुरी हुन्छ ।’ संकल्पपत्र त्यसको एउटा दस्ताबेज हो । प्राथमिकताको आधारमा काम गर्ने पूर्व योजनाको सूचि हो । समयकाल क्रममा सोही कामहरू पुरा गर्दै समृद्धिको चरणमा पुग्ने संकल्प-पत्र भोलि जनताले जनप्रतिनिधिलाई प्रश्न गर्ने आधारको रूपमा रहने उनको भनाई छ ।
धरान नक्सामा उपमहानगर त बन्यो तर यसमा गाभिएका गाउँहरूमा सडक सम्पर्क, आधारभूत सहरी आवश्यकता भने बन्न सकेको छैन । यसको पूर्तिका लागि संकल्पपत्रमा दर्जन जाति सडक, पुल, ग्राभेलका योजनाहरू औँल्याइएका छन् । पछिल्लो समय कृषि क्षेत्रमा स्थानिय समुदायका सक्रियता बढेको छ । उपमहानगरको कृषि क्षेत्रको व्यवस्थित विकास र बजारीकरणमा योजनाहरू औँल्याइएका छन् ।
बिपी अस्पताल भए पनि धरानका बिरामीहरूले भेण्टीलेटर नपाउँदा समेत बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न पुरानो धरान अस्पतालको खाली जग्गामा १०० बेडको सुविधा सम्पन्न सिटी हस्पिटल निर्माणको योजनालाई संकल्पपत्रमा औँल्याइएको छ । बिपी अस्पताल बनेपछि स्वास्थ्य मन्त्रालयको उक्त जग्गा लामो समयदेखि उपयोग विहीन छ । बेलाबेलामा बिपीले क्लिनिक सञ्चालन गरे पनि जनतालाई परिणाममुखी सेवा दिन सकेको छैन ।
धरानमा पाँचकन्या र विष्णुपादुका गाविस गाभिएपछि खानेपानीको ठुलो दिर्घकालिन योजना चाहिएको छ । यसलाई प्राथमिकता राखेर संकल्पपत्रमा वृहत् खानेपानी योजनाका लागि सङ्घीय र सकारबाट बजेट ल्याउने पहलको प्रस्ताव गरिएको छ । सप्तकोशी नदीबाट खानेपानी ल्याउने सम्भाव्यताको अध्ययन र धरान-लेउती सुरुङ मार्गसँग धरानलाई जोडेर तमरबाट पानी ल्याउने सम्भाव्यताका संकत पनि सङ्कल्प पत्रमा गरिएको छ ।
प्रत्याशी थापा भन्छन् ‘संकल्पपत्रका बुँदाहरूमा ठुला दिर्घकालिन योजनाका कुराहरू पनि छन्, त्यसका लागि सङ्घीय र प्रदेश सरकारमा गठबन्धनकै पहुँच हुने मतदाताहरूलाई बुझिदिन आग्रह गर्दछु ।’ संकल्पपत्रमा यहाँको आर्थिक, सामाजिक, विविध भाषिक, सांस्कृतिक, धार्मिक क्षेत्रका विकास, निर्माण संम्बर्धन सहित पर्यटनमा फड्को मार्न केबुलकार र धरान-विराटनगर रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गराउने प्रस्तावमा समेत ध्यानाकर्षण गराइएको छ ।