धरानको विष्णुपादुका स्थित सेछ एडभेञ्चर पार्कले माघको अन्तिम साता एडभेञ्चर फेस्टिभल आयोजना गर्ने तयारी गरेको छ । पछिल्लो समय नेपालीहरूमा आन्तरिक पर्यटनको रुचि बढेको पाइन्छ । नेपालमा प्रायः धार्मिक पर्यटनले प्राथमिकता पाउँदै आएको छ । विष्णुपादुका धार्मिक तीर्थस्थलको रूपमा प्रसिद्ध छ । यो फेस्टिभलमा युवा, किशोर किशोरीका फरक आकर्षणको कुरा पनि भएकाले समग्रमा यसले विष्णुपादुकामा सबैको ध्यानाकर्षण गराउने देखिन्छ ।

विष्णुपादुका ओझेलमा परेको प्रागैतिहासिक ठाउँ हो । कुनै समय धनकुटा पूर्वोत्तर भूगोलबाट भालु ढुङ्गा सूर्य कुण्ड हुँदै वराहक्षेत्र मार्गको रूपमा पनि प्रचलित थियो । सहरमुखी विकासको कारण धरान नजिकैको यो पहाडी गाउँ अहिले सहरमा गाभिए पनि पछाडि परेको छ । पर्यटनको सरकारी प्रचारमा हिन्दु धर्मको महान् तीर्थस्थल भनिए पनि राज्यले यहाँको पूर्वाधार निर्माणमा आवश्यक लगानी गरेको छैन।

धार्मिक हिसाबले मात्र नभएर प्राकृतिक रूपमा विष्णुपादुका पर्यटकीय क्षेत्र हो । यहाँ पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रबाट ठुलो लगानी भइरहेको छ । त्यस मध्ये पछिल्लो समय सेछ एडभेञ्चरले ठुलो लगानी गरेर प्रदेश १ कै पहिलो साहसिक खेलहरूको पार्क सञ्चालनमा ल्याएको हो । यस्का सञ्चालकहरू अनुसार पूर्वाधार निर्माणमा मात्र अहिले सम्म ३ करोड रुपया लगानी भएको छ ।

यसअघि विष्णुपादुकामा पूर्व गोरखा सैनिकहरूले गोर्खा सैनिक स्मृति पार्कमा दसौँ करोड रुपया लगानी गरिसकेका छन् । उपेक्षित रहेको माछामारा डाँडा गोर्खा पार्कको निर्माणले अहिले पूर्व गोर्खा सैनिकका पुर्खालाई सम्झने नेपालकै पर्यटकीय गन्तव्य बनेको छ । यसमा प्रत्येक भूतिपूर्व सैनिकको व्यक्तिगत लगानी छ । विष्णुपादुकालाई पूर्व गोर्खा सैनिकहरूको स्मृति केन्द्रको रूपमा विकास गर्ने जमर्को गरेर पूर्व गोरखा सैनिकहरूले ऐतिहासिक काम गरेको छ।

विष्णुपादुकाका समुदाय कृषिमा निर्भर छन् । अदुवा, बेसार यहाँको मुख्य कृषि उत्पादन हो । यसलाई ग्रामीण कृषि पर्यटनमा आधारित बनाउन होम स्टेको अभियानमा पनि चल्यो । होम स्टेका लागि स्थानीय समुदायले आआफ्ना घरहरूमा ऋण खोजेर पर्यटकीय सुविधाका पूर्वाधार स्थापना गरेका छन् । विष्णुपादुका मन्दिरमा धर्मशालाहरू सबै निजी क्षेत्रको ठुलो आर्थिक सहयोगमा बनेका छन् ।

चिण्डे डाँडा भनेर प्रसिद्ध बाबु डाँडालाई प्याराग्लाइडिङको तालिम केन्द्र समेत बनाउने योजनामा निजी लगानीकर्ताहरूले ठुलो लगानी गरे । पूर्वमा पोखराको विकल्प बन्न सक्ने  सम्भावना भएको बाबु डाँडा विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनको टावरका कारण जोखिमपूर्ण बन्यो । त्यसले विद्युत् प्रसारणको सुविधा पुग्यो होला तर यहाँको साहसिक खेल पर्यटनको सम्भावना लाई प्रायः समाप्त ग¥यो ।

त्यसले भविष्यमा विष्णुपादुकाको विकासमा पुर्‍याउने योगदानको क्षतिपूर्ति राज्यले नदिएको मात्र होइन । निजी क्षेत्रले त्यहाँ लगानी गरेको योगदानको आधारमा राज्यले गर्नुपर्ने लगानी अहिले सम्म गरेको छैन । निजी क्षेत्रबाट पर्यटनका पूर्वाधारहरू पर्याप्त निर्माण भए पनि सडक निर्माण भएका छैनन् । खानेपानीको कुनै दीर्घकालीन योजना त्यहाँ पुगेको देखिन्न ।

विष्णुपादुका प्रवेश गर्ने धरानबाट ३ वटा नाका छन् । सर्दु जलाधार तामाखाम हुँदै, जानकी चौक नाका र पकुवा खोल तल्तीरका नाकामा पुल बनेका छन् । तर सडक ट्र्याक खुलेको अवस्थाको मात्र छन् । विष्णुपादुकाका सडकहरूमा राज्यले लगानी गरे त्यसले विष्णुपादुकाको मात्र नभएर धनकुटा पश्चिम-दक्षिणका ग्रामीण क्षेत्रलाई पनि सडक सञ्जाले जोड्ने निश्चित छ । 

यो कुरालाई राज्य सम्म पुर्‍याउने पहुँच धरान सँग नभएर हो या राज्यले जानी जानी उपेक्षा गरेको हो अब चासोको विषय हुनपर्दछ । सेछ  एडभेञ्चरले आयोजना गर्न लागेको फेस्टिभलले यसलाई उजागर गर्न सघाउ पुर्‍याउने छ । यो फेस्टिभलले विष्णुपादुकाको अवस्था मात्र नभएर धार्मिक पर्यटन बाहेकका विषयमा थप कुरालाई पनि ध्यानाकर्षण गराउने छ ।  

पछिल्लो समय नेपालीहरूमा पर्यटनमा खर्च गर्ने प्रवृत्तिको विकास भएको छ । खानपिन बाहेक युवा, किशोर वयका पुस्तालाई फरक पर्यटकीय आकर्षणका विषयमा खासै लगानी भएको पाइन्न । फरक अनुभव, आधुनिकता र रोमाञ्चकारीताका लागि नेपालीहरू विदेश घुम्न जान समेत थालेका छन् । यसले आन्तरिक पर्यटनलाई सघाउ पुग्दैन । तसर्थ सेछले सम्भावना अनुसार जुन लगानी गरेको छ, त्यसमा सबैको ध्यानाकर्षण हुने आशा गर्न सकिन्छ ।