धरान : प्रदेश १ को पहिलो साहसिक खेलको पर्यटकीयस्थल सेछ एडभेञ्चर पार्कमा एडभेञ्चर फेस्टिभल आयोजना गर्ने तयारी थालिएको छ । धरान-२० विष्णुपादुका स्थित पार्कमा फेस्टिभल हुन लागेको हो । गत वर्ष देखी सञ्चालनमा आएको पार्कमा साहसिक खेलका आधा दर्जन स्थलहरू छन् । बालबालिकाका लागि उद्यान पनि सञ्चालनमा छ ।

सेछ एडभेञ्चर पार्क धरानबाट ३ किलोमिटर पश्चिमोत्तर डाँडामा सञ्चालित छ । ४ बिघा क्षेत्रफलमा फैलिएको पार्कमा हाल २०० मिटरको जिप फ्लायरमा आगन्तुकहरूले झुन्डिएर भन्ज्याङ पार गर्ने साहसिक खेलको रोमाञ्चकारी अनुभव लिने गरेका छन् ।

सर्कसमा देखिने भन्दा रोमाञ्चक १५० मिटर दुरीको स्काई साईकलीङमा सोही भन्ज्याङ पारी जाने खेल लोकप्रिय रहँदै आएको छ । सेछ एडभेञ्चर पार्कमा नेपालमा पहिलो पटक रसियन सर्कलको खेल सुरु गरेको छ । एकसाथ दुई जना रहने उक्त खेलमा अन्तरिक्ष यानमा मानवको स्थिति अनुभव गराउने बताइएको छ ।

साहसिक खेलकै रूपमा ३६० डी साईकलीङ पनि सञ्चालनमा छ । गोलाकार वृत्तमा साइकल चढेर फन्को लगाउने साइक्लिङ सेछ एडभेञ्चरको अर्को रोमाञ्चक खेल हो । ह्याङगीङ ब्रिजमा हिडने थप रोमाञ्चक खेल पनि सञ्चालनमा छ । विकट ठाउँमा भत्किएको झुलुङगे पुल पार गर्ने अनुभव हुने यो आत्मविश्वासले सन्तुलन बनाउने खेल हो ।

लुडो प्रेमीहरूका लागि मानिस आफै उभिएर खेल्न सकिने ठुलो ‘साँप र सिडी’ यहाँ खेल्न सकिन्छ । बालबालिकाका लागि पार्कमा पिङ, माउन्टेन मङकि जम्पीङ लगायत खेलहरू छन् । पार्क परिसरमा वनभोज स्थलको सुविधा पनि उपलब्ध छ । 

पार्कमा एक सय जना क्षमता रहेको रेस्टुरेन्ट, सेमिनार हलको सुविधा छ । प्राकृतिक दृश्यावलोकनको हिसाबले रमाइले पार्कस्थलमा सेल्फी, टिकटक, फोटो, भिडियोग्राफीका लागि आगन्तुकहरू आकर्षित हुने गरेका छन् । प्रारम्भिक पूर्वाधार निर्माण सम्पन्न भएपछि पार्क २०७८ साल देखी खुला गरिएका हो ।

फेस्टिभल आउँदो माघ २४ गते देखी फागुन ९ गते सम्म सञ्चालन हुने पार्कस्थलमा आयोजित पत्रकार सम्मेलन सञ्चालक वासुदेव बरालले बताए । उनका अनुसार फेस्टिभल अवधिमा साहसिक खेलहरूको प्याकेजमा लक्की ड्र कुपन पनि वितरण हुनेछ । कुपनमा १० प्रतिशत देखि १०० प्रतिशत छुटको सुविधा हुनेछ । पार्कमा प्रवेश शुल्क  ५० रुपैयाँ निर्धारण गरिएको छ ।

पार्कको पूर्वाधार निर्माणमा साढे ६ करोड लगानी भैसकेको अर्का सञ्चालक एलिना मगरले बताइन् । उनका अनुसार पूर्वाधार विकासका साथै थप सुविधा बढाउने तयारीको योजनामा ४ करोड रुपया लागत अनुमान गरिएको छ । आगामी योजना अनुसार पार्कमा रिसोर्ट, आर्चरी र गेमीङ जोनको निर्माण गरिने छ ।

रिसोर्टको रेस्टुरेन्टमा कफीका विविधता, खाजा सेट, तौलिएर किलोको हिसाबले सेकुवाका परिकार, चटपटे उपलब्ध हुने बताइएको छ । स्थानिय स्तरमा उत्पादन गरिने तरल पदार्थहरू सिस्नो, स्याल, कोदोको तिन पाने पेय उपलब्ध गराइने छ । आगन्तुकहरूका लागि फोटो, भिडिओ टिकटक सेसनका लागि थारु जातिको पहिरन, राजा रानीको ऐतिहासिक राजकीय भेसभुसा शुल्क लिएर उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

Sechhasechha-park-2sechha-prak-5sechha-prak-3