नेकपा एमाले पार्टीले ‘मिसन ग्रास रुट’ अभियान देश भरि अगाडि बढाइरहेको छ । यसै सिलसिलामा म वराहक्षेत्र नगरपालिका वडा नं २ मा खटिनु पर्ने पार्टीले जिम्मेवारी तोकेको छ । केही समयदेखि म घरायसी कामले निक्कै व्यस्त रहे । अब एक , दुई दिन देखि कामको मेसो मिलाएर मिसनमा निस्कने चाँजो मिलाउन लागिरहेको छु ।
यो मिसन ग्रास रुटको कामका बारे योजना बनाइरहँदा धरानको एमाले नेता, कार्यकर्ता सबै बारे सररर सम्झिन मन भयो । सबै आदरणीय कमरेडहरूबारे झलझली सम्झिएँ । सम्झिदा सम्झिँदै झसङ्ग पनि भएँ । मन खल्लो, खल्लो भयो । डर डर पनि लागेर आयो । के कति कारणले यस्तो हुन्छ ? प्रश्नहरू थपिए ।
धरानका एमालेका शीर्ष नेता राम प्रसाद खनाल एक समयमा हुनुहुन्थ्यो । उहाँ पछिल्ला दिनहरूमा एमालेमा हुनुहुन्न । एमाले बनाउनेहरू मध्य कमरेड राजेश बान्तवा, कमरेड पारस सुब्बा, कृष्ण नारायण पलिखे पनि हुन भन्ने मेरो बुझाई छ ।
कृष्ण नारायण पालिखेलाई संघाइको कम्युनिस्ट पार्टी सचिव भनेर सम्बोधन हुने गर्दथ्यो । उहाँ केही वर्ष अगाडि नै स्वर्गीय हुनुभयो । मर्नु भन्दा अगाडि नै एमालेबाट अल्गिनु भयो । कमरेड राजेश बान्तवा अनि कमरेड पारस सुब्बा पनि एमालेबाट बाहिरिनु भएको निक्कै बर्सहरू भए ।
म २०३७ सालमा महेन्द्र क्याम्पसमा अध्ययनरत थिए । त्यो समयमा हालको एमाले अनि त्यो समयको माले पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियुको संगठकका रूपमा ईश्वरीप्रसाद अधिकारी, यमनाथ बराल, भवानी बराल, किरण शर्मा, प्रकाश मुखिया चिनिनु हुन्थ्यो । अनेरास्ववियुको दुई कार्यकाल अध्यक्ष भवानी बराल हुनु भएको जस्तो लाग्छ । यो समयमा प्रकाश मुखिया बाहेक सबै मित्रहरू एमालेमा छैनन् ।
ती दिनहरू थिए । माले पार्टीको नामबाट सधैँ प्रहरी कष्टडीमा बस्नु पर्ने, विभिन्न खाले मुद्दामा परि प्रहरीबाट भागिरहनु पर्ने । मण्डलेहरूको निशानीमा परिरहने । बजारमा पर्चा छरिन्थ्यो, पम्लेट टाँसिन्थ्यो कमरेड राजकुमार कार्की तथा मनोज कुमार मेन्याङ्बोले माथिको हर्कत ब्यहोरीरहनु पर्दथ्यो ।
कमरेड राजकुमार कार्की एकाएक एमालेबाट हराउनु भयो । एमाले पार्टीको परिचयसित उहाँको परिचय जोडिन छोड्यो । एमाले पार्टीको कामको जस दिलाउनेहरू मध्यका एक हुन मनोज कुमार मेन्याङ्बो । उहाँ उपमेयर र मेयर बन्नु भयो ।
पर अनि धरानका नागरिकले पनि । धरानको विकाश गर्ने मनोज कुमार भनेर चिने । निर्णय दिन सक्ने व्यक्ति हुन भनेर बुझे । भिजन भएका नेताका रूपमा परिचय बनाए । अफसोस यत्ति वेला उहाँ पनि एमालेबाट हटिसके भन्ने सबैले बुझ्न गइरहेका छन् ।
एमालेमा बुद्धिजीवी क्रिम लिडरका रूपमा हरि प्रसाद दाहाल, राजेन्द्र पोख्रेल, हरि बहादुर दाहाल रहनु भएको समयमा गर्व लाग्दथ्यो । उहाँहरू पनि एमालेबाट अलग्गिनु भएको धेरै वर्ष बित्यो ।
धरानका बच्चा देखि बुढा पाकाले मन पराएका नेता ध्यान बहादुर राई थिए । उहाँलाई नराम्रो भन्ने मानिस धरानमा भेटिँदैन । मिलनसार, मिजासिला, समस्याको समाधान दिने व्यक्ति, कसैको कुभलो नचिताउने परिचय भएका ध्यान सर हुनुहुन्थ्यो । आधुनिक धरानको स्केच गर्ने व्यक्तिका रूपमा पनि धेरैले नाम लिन्छन् ।
उहाँको स्वर्गवास हुनअगाडि नै उहाँ पनि एमालेबाट अलग्गिनु भयो । भूमिगत नेता , पत्रकारको खर्च सबै बोकिदिने व्यक्तिका रूपमा अकल बहादुर मेन्याङ्बोको परिचय थियो । धरान आदिवासी जनजातिको सहरका रूपमा ती दिनमा लिइन्थ्यो । ती समुदायलाई सङ्गठन गर्न अग्रपङ्क्तिमा मिलनसार, भद्र, सज्जन, भलाद्मी परिचय भएका अकलबहादुर मेन्याङ्बो उभिनु पर्दथ्यो ।
यत्ति वेला उहाँ ९० वर्षको हाराहारीमा जीवन व्यतीत गरिरहनु भएको छ । म उहाँको दीर्घायुको कामना गर्दछु । उहाँले पनि एमाले छोडेको थुप्रै बर्सहरू भए छन् । एमालेका क्रिम अनि सिनियर लिडरका रूपमा गजेन्द्र इस्बो पनि हुनुहुन्थ्यो एक समयमा । उहाँको स्वर्गवास भएको दुई चार वर्ष भयो । उहाँले पनि मर्न अगाडि नै एमाले छोडी सक्नु भएको थियो ।
आज भोलि निक्कै व्यस्त रहेको ब्यहोरा यहाँ उल्लेख गर्दै आइरहेको छु । म सुन्दै छु । दिल कुमार गिरी, घनश्याम तिमल्सिनाहरु पनि एमाले होइनन् । यस्तै यस्तै स्थिति एमालेमा आउन नदिन, एमाले पार्टीमा लागेकाहरूले जीवन यही पार्टी भित्र नै व्यतीत गर्ने, यहाँ नै भविष्य रहेको देख्न सक्ने बनाउने के गर्नु पर्ला ?
लिडर बन्दा अनि कार्यकर्ता रहँदा एमाले भएकोमा गर्व महसुस हुने स्थिति कसरी सृजना गर्ने ? उल्लेखित स्थितिहरूले उल्लेखित प्रश्नहरू म मा उब्जिरहेका छन् । मिसन ग्रास रुटको काममा लागिरहँदा यस्ता सवालहरूमा पनि गम्भीर बन्दै समीक्षा गर्न जरुरी छ भन्ने मलाई लागिरहेको छ । गर्ने कसरी ? यहाँहरूको सुझाव चाहन्छु । सबैमा नमस्कार । अभिवादन ।
(लेखक नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य हुन्)