- डा.किशोर गुरुङ
वि.सं.२०४५ भदौ महिनाको ५ गते लगभग बिहान ४ बजेर ४५ मिनेटमा नेपालमा भूकम्प गएको थियो । पूर्वी नेपालको उदयपुर जिल्ला स्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको झड्का पुरै नेपालभर महसुस गरिए तापनि त्यसको सबैभन्दा ठुलो धनजनको क्षति धरानले भोग्नु परेको थियो।
सरकारी तथ्याङ्क अनुसार ६.६ रेक्टर स्केलको त्यो भूकम्पमा परी करिब ७२१ भन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए भने ६ हजार ५०० भन्दा बढी घर ध्वस्त भएका थिए।
बिहान बिहानै धरानमा मान्छेको चित्कार र एम्बुलेन्सको साइरन मात्र सुनिन्थ्यो ।
धरान पुरै ध्वस्त भएको थियो।
छाता चौक स्थित धरान अस्पतालको प्राङ्गणमा लासको थुप्रो, त्यसमाथि परेको सिमसिम पानीले लडाइएका लासहरू फुलिँदै र ढाडिँदै गइरहेको दृश्य अझ मर्माहत थियो ।
धरानको पुरानो बजारमा रुक्सना खातुनको चुरा, सिन्दूर पोते बेच्ने दोकान थियो ।
पसल भएको घर माटोको भएकोले गर्दा पूर्व पटिको भित्ता भत्किएर पसल भग्नावशेष भएको थियो ।
उनिलाई पनि धेरै चोटपटक लागेकोले गर्दा तत्कालीन घोपा क्याप (हालको कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा उपचार गर्न लगियो साथै पूर्वी नेपालको विभिन्न ठाउँहरूबाट बिरामीहरू ल्याएर उपचार गर्ने कार्यहरू भई रहेको थियो ।
रुक्सना जस्ता धेरै घाइतेहरूले अस्पताल भरिएको थियो ।
उपचारको क्रममा धेरै भन्दा धेरै रगतको आवश्यक परेकोले गर्दा जनसहभागिताबाट स्वैच्छिक रक्तदानको आव्हान गर्दै धरान भरि माइक बजाएर गाडीहरू दौडिरहेको थिए।
अस्पतालमा उपचारकै क्रममा मृत्यु भएकाहरूलाई चारकोसे झाडीमा दाहसंस्कार गरिरहेका थिए भने सामान्य चोटपटक लागेकाहरूलाई औषधि उपचार गरेर घर पठाउने कामको साथै बढी चोटपटक लागेकाहरूलाई सघन कक्षमा उपचार गर्ने क्रम चलिरहेको थियो ।
रुक्सनालाई पनि सघन कक्षमा राखेर औषधि उपचारको साथै रगत चढाउन थाल्यो ।
लगभग ५ दिनको हस्पिटल बसाई पछि उनी सन्चो भएर घर तिर गइन्।
आफू सन्चो भएर करिब १ महिना पछि रुक्सनाको मनमा आफूलाई कसको रगत चढाइएको थियो "?" र उनी सन्चो भइन भन्ने कुरा मनमा खेल्न थाल्यो ।
रुक्सनालाई रक्तदान गरेर जीवन बचाई दिने मान्छे भेट्न मन लाग्यो । उनी अस्पताल परिसरमा रहेको ब्लड बैङ्कमा रेकर्ड खोज्न गइन ।
धेरैबेर पछि उसलाई विधान राई 'पाण्डे' भन्ने मान्छेको रगत चढाई दिएको रहेछ भन्ने थाहा भयो ।
त्यो बेला अहिलेको जस्तो प्रत्येकको हातमा मोबाइल अनि सामाजिक सञ्जालहरू थिएन, टोलको ठेगानाबाट व्यक्तिको पहिचान गर्नुपर्ने, तैपनि धेरै जनालाई सोधपुछ गरेर अन्ततः रुक्सनाले पाण्डेलाई भेटिन ।
पाण्डेको चतरा लाइनको स्वस्तिका चौकमा गाडी बनाउने ग्यारेज थियो ।
रुक्सनाले पाण्डेको चतरा लाइनको स्वस्तिका चौकमा गाडी बनाउने ग्यारेज छ भन्ने थाहा पाए पछि पाण्डेलाई भेट्न सिधै ग्यारेज गइन्।
त्यहाँ पाण्डे को हो "?" भनेर सोधिन । पाण्डे त्यही ग्यारेजमा नै काम गर्दै थियो त्यसैले रुक्सनालाई पाण्डे भेट्न खासै असहज भएन ।
उनले पाण्डेलाई भेट्दा दोस्रो जीवन दिने भगवान् भेटे जस्तो गरिन ।
रुक्सनाले आफ्नू शिर झुकाएर अदाफ गर्दै एक हातले सलाम गरिन ।
रुक्सनाको अदाफ सलामलाई नमस्कार गर्दै स्विकारे ।
पाण्डेलाई अदाफ गर्ने को हुन् "?" के को लागि आएको "?" भन्ने बारे केही भेउ पाई रहेको थिएन ।
रुक्सनाले पाण्डेलाई सबै बेलिबिस्तारमा सुनाए । उसैले दान गरेको रगतले आज रुक्सनाले नयाँ जीवन पाएको थाहा पाउँदा, पाण्डे पनि निकै खुसी थियो ।
रुक्सनाले पाण्डेलाई 'दाइ तपाईँको रगतले नयाँ जीवन पाए । एउटै कोखको नभए पनि तपाईँको रगत मेरो शरीर भित्र छ । तपाई र म बिच रगतको साइनो, दाजु र बहिनीको सम्बन्ध आज देखि स्विकारी दिनु होला ।' भन्दै अनुनय विनय गर्दा, पाण्डे भावविभोर भएर उसको आँखामा आँसु छल्किएको प्रष्टै देखिन्थ्यो ।
धेरै कुराकानी पछि रुक्सनाले भेट्दै गर्ने वाचा सहित उनी पुरानो बजार घर तिर गइन् ।
बिस्तारै दिनहरू बित्दै गए, दाजु बहिनी आ-आफू मात्र नभएर पारिवारिक रूपमा नै नजिक हुँदै गए ।
भदौ, असोज हुँदै कार्तिक आयो, रुक्सना मुस्लिम भए पनि दाजुलाई तिहारमा भाइटिका लगाइ दिने निधो गरिन र छिमेकी हिन्दु साथीलाई सोधेर भाइटिका मनाउने तरिका सिकेर, त्यही वर्ष देखिको तिहारमा भाइटिका लगाई दिन सुरु गरिन ।
पाण्डेले पनि रुक्सनालाई नै सोधेर रमजानको ईफ्तार खोली दिने चलन बसाए।
३४ वर्ष देखि दाजु बहिनीको सम्बन्ध न त जात न त धर्मले केवल रगतले बनाई दिएको रगतको साइनो अझै पनि सुमधुर छ, आत्मीय छ अनि आदरणीय छ ।
विराट मेडिकल कलेज टिचिङ अस्पताल


_1749430366.gif)






































































