धरान : नेपाली साहित्यका राष्ट्रिय विभूति युवक कवि मोतिराम भट्टको १५८ औँ जयन्ती कुशेऔँसीका दिन मनाइएको छ । मोती संस्मरण समितिको आयोजनामा धरानमा पनि मोती जयन्ती मनाइयो ।

युवक कविको स्मृतिमा नेपालमा चार दशक अघि साहित्यकार गोपाल पाण्डे असीमको प्रयासमा धरानमा मोती स्मृति भवन निर्माण भएको थियो । तत्कालीन धरान नगर पञ्चायतले संरक्षण गर्ने गरी नगरपालिका परिसरमा निर्मित मोती भवनको अहिले भने पालिकाको स्टोर रूपमा परिणत भएको छ ।

मोती भवनको उद्घाटन तत्कालीन राजा वीरेन्द्रले गरेका थिए । मोती संस्मरण समितिले सञ्चालन गर्दै आएको भवन बहुदलीय व्यवस्थाका मेयर ध्यानबहादुर राई सम्मले संरक्षित रूपमा राखेका थिए । परिसरमा भित्रै भएकाले कुनै पनि बेला नगरपालिकाले प्रयोग गर्ने भएकाले पछिल्लो समय ‘मोती भवन’ धरानकै साहित्यकारहरूले बिर्सिएको अवस्थामा पुगेको छ ।

यसपालि दुःख,सुख गरेर मोती भवनमा मोती जयन्ती मनाइएको हो । उपमहानगरपालिकाको पुराना कार्यालय सामग्रीका राखिएका कारण सहज रूपमा साहित्यिक कार्यक्रम गर्न मोती भवनमा कठिनाइ छ । तथापि मोतीरामको शालिक सुरक्षित रहेकाले साहित्यकारहरू भवनमा भेला हुन्छन् ।

यसपालि पनि भेला भएका लेखक, साहित्यकारहरूले सालिकका माल्यार्पण गरी मोती जयन्ती मनाएका छन् । नेपाली शिक्षा परिषद्ले यस वर्ष समस्यापूर्ति कविताको शीर्षक ‘लाज आफैँ लजायो’ दिएको थियो ।

मोती संस्मरण समितिकी उपाध्यक्ष अम्बिका शाक्यको सभापतित्वमा भएको कार्यक्रममा कविहरू भीष्म काफ्ले, डा.गोपाल भण्डारी, डा.राजेन्द्र शर्मा, हरिप्रसाद दाहाल, नारायणप्रसाद भण्डारीद्वारा समस्यापूर्ति शीर्षकमा कविता वाचन गरेका थिए ।

प्राडा. गोपाल भण्डारीले नेपाली साहित्यको माध्यमिक कालका कवि मोतीराम भट्ट (१९२३/१९५३) ले तीस वर्षको छोटो उमेरमै आदिकवि भानुभक्त आचार्यको जीवनी र उनका कृतिहरू खोजी गरी जनसमक्ष ल्याएको बताउँदै भने ‘त्यसैले उनलाई युवक कवि भनिएको हो ।’

डा. महानन्द तिम्सिनाले नेपाली साहित्यमा गजल विधा सुरु गर्ने श्रेय कवि भट्टलाई भएको बताउँदै कवि मोतीरामको साहित्यिक योगदानको संक्षिप्त चर्चा गरे ।

कार्यक्रममा सहभागी साहित्यकारले मोती स्मृति भवनमा रहेका धरान उपमहानगरपालिकाका पुराना कागजात अन्तै थन्क्याई कार्यकक्ष साहित्यिक गतिविधिका लागि हस्तान्तरण गर्न आग्रह गरेका छन् । कार्यक्रममा मिठु खत्री, मञ्जुला विक लगायतको उपस्थिति थियो ।